अन्तर्राष्ट्रिय

घरभित्र मृत भेटिए एकै परिवारका पाचँ जना, सबैको अनुहारमा कालो टेप बेरिएको

Banner

काठमाडौं असार २०

भारतको गजियाबादस्थित न्यू शताब्दीपुरमा एउटा घरबाट श्रीमान्, श्रीमती र उनका तीन सन्तानको शव भेटिएको छ । पाँचैजनाको मुखमा कालो टेप बेरिएको थियो । पुलिसले यसलाई हत्या र आत्महत्याको कोणबाट हेरिरहेको छ ।
भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार श्रीमानको नाम प्रदिप हो, उनकी श्रीमती एम्समा स्टाफ नर्स थिइन् । बच्चाहरुको उमेर ८, ५ र ३ बताइएको छ । श्रीमानलाई रक्सीको लत थियो । घटनाको कारण स्पष्ट छैन । शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

प्राप्त जानकारी अनुसार ४२ वर्षका प्रदीप नामका व्यक्ति आफ्ना आमा–बुवा, बहिनी र तीन सन्तानसहित बसिरहेका थिए । प्रदीप र उनकी श्रीमती र तीन सन्तान एउटा कोठामा सुतिरहेका थिए । शुक्रबार बिहान जब उनीहरुको कोठाको ढोका खोलिएन र कुनै गतिविधी पनि देखिएन तब ढोका ढक्ढकाइयो । तरपनि भित्रबाट कोही बोलेनन् । परिवारलाई शंका लागेपछि झ्यालबाट भित्र हेरियो । खाटमाथि प्रदीप र उनका तीन सन्तानको शव देखियो । प्रदीप र उनका बच्चाहरुको मुखमा करिब चार इन्च चौडा कालो रङको टेप नराम्रोसँग बेरिएको थियो जबकी ४० वर्षीया श्रीमती संगिता खाटमुनी अचेत अवस्थामा थिइन् । उनको टाउकोमा गम्भीर चोट थियो र उनी तड्पिरहेकी थिइन् । नजिकै रगत लत्पित्तिएको हथौडा थियो ।

भारतीय मिडिया आजतकका अनुसार उनलाई तत्काल अस्पताल पुर्याइयो । पछि उनको मृत्यु भयो । पुलिसले प्रदीप र उनका तीन सन्तानको शव पोष्टमार्टमका लागि पठाएको छ । सुरुवाती अनुसन्धानमा कोठाभित्र कुनै सुसाइड नोट पनि नभेटिएको पाइएको छ ।

पुलिसले सुरुवाती अनुसन्धानपछि प्रदीपले आफ्नी श्रीमतीको टाउकोमा हथौडाले हमला गरेको र त्यसपछि तीन सन्तानको मुखमा कालो टेप लगाएर हत्या गरेको हुनसक्ने अनुमान गरेको छ । त्यसपछि आफूले पनि मुखमा टेप बेरेर आत्महत्या गरेको अनुमान गरिएको छ ।

अर्को कोठामा सुतिरहेका आमा–बुवाले आफूले कुनै पनि आवाज नसुनेको बताए ।एजेन्सी / रातोपाटी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>