विचार/ब्लग

गुरु पूर्णिमा विशेष: निम सरको त्यो झापड……..

Banner

रमेश बस्ताकोटी

सिकेर कहिल्यै पनि नसकिँदो रहेछ, मान्छेले जतिनैं आफूलाई पूर्ण ठाने पनि उ सधै सिकिरहेको हुन्छ । म सबै भन्दा जान्ने वा म भन्दा जान्ने कोही छैंन भनेर घमण्ड गर्ने केहीँ मैं हूँ भन्नेहरु भन्दा बाहेक यो यथार्थलाई सबैंले स्विकार गर्छन् होला पक्कैं पनि । त्यसैले एउटा मान्छेको जीवनलाई सार्थक बनाउन धेरैं गुरुहरुको योगदान हुन्छ । गुरुहरु निस्वार्थी हुन्छन्, तिनीहरुले आफूलाई रित्याएर भए पनि अरुलाई सिकाउँछन् । तर, तिनले बुझेका हुन्छन् ज्ञान जति बाढ्यो त्यती बढ्छ । जानेका कुरा अरुलाई सिकाउन नखोज्ने अनि ज्ञान अरुलाई बाड्नको लागि मोलमोलाई गर्नेहरु गुरु हुन सक्दैंनन् भन्ने मेरो ठम्मयाइ हो । हुन त जमाना व्यवसायिक छ, व्यवसायिकतालाई बिर्सेर कतिपय कुरा गर्न अलिक असहज पनि होला तर पनि मेरो ज्ञान बाढे सकिन्छ भनेर भ्रम पाल्नेहरु गुरु बन्न सक्दैंनन् भन्ने मात्र कुरा हो मेरो ।

प्रसंग गुरुपूर्णिमाको हो । बिहानैंदेखि फेसबुकका भित्ताहरुमा गुरुपूर्णिमाको महिमा र गुरु प्रतिको श्रद्धाभावहरु प्रकट भए । मैंले पनि आफ्ना मूर्तअमूर्त गुरुहरुलाई फेसबुकको वालबाटनैं श्रद्धाभाव प्रकट गरे । तर त्यतीले मात्र मेरो मन मानेन, गुरुहरुप्रति श्रद्धाभाव प्रकट गर्ने सबैंको आआफ्नैं तरिका हुन्छ , मैंले दुईचार शब्द कोर्न जानेको छु अझ भनौं मेरा गुरुहरुले कोर्न सिकाएका छन् । त्यसैंले उहाँहरुको सम्झनामा दुई चार शब्द कोर्ने प्रयास गरेको मात्र हुँ । हुन त समय मान्छेको सबैंभन्दा ठूलो गुरु हो, समयले मान्छेलाई धेरैं कुरा सिकाउँछ, समयको गतिसँगैं मान्छेले आफूलाई निखार्दै लैजाने पनि गर्छ । तर, यो अमुर्त हो , समयको गतिसँगैं आफूलाई अगाडि बढाउन पनि केही मुर्त गुरुहरुको आवश्यकता पर्छ । त्यसैंले केही त्यस्ता मेरा गुरुहरु जसले मेरो जीवनमा केही न केही परिवर्तन ल्याउन धेरैं कुरा सिकाएका छन् एकैं छिन उनीहरुलाई सम्झन चाहान्छु ।

गोर्खा जिल्लाको उत्तरी गाउँ तत्कालीन मसेल गाविसको वाड नम्बर ६ मा म जन्मिएको हँु । हाम्रो गाउँमा त्यतिबेला एउटा विन्द्रावती माध्यमिक विद्यालय भन्ने थियो र अहिले पनि छ । त्यती बेला हाम्रो गाउँमा बोर्डिङ स्कुलहरु थिएनन् । धेरैं टाढा घ्याम्पेसाल भन्ने ठाउँमा एउटा बोडिङ स्कुल थियो कि भन्ने लाग्छ तर बिर्सिसके । विन्द्रावतीमा म कक्षा चारसम्म पढेको हँु । त्यती बेला हामीलाई कखरा सिकाउने गुरुहरु मध्ये केहीको नाम मात्र सम्झन्छु धेरै भुलिँसके, निमप्रसाद सर, महेन्द्र सर, रञ्जना म्याडम, अमृता म्याडम, नारायण सर आदि मात्रैं । ती मध्ये निम सरलाई विशेष सम्झन्छु । बुढा दुव्ला थिए तर अग्ला ठ्याक्कै अहिले म जस्तैं । हामीलाई गणित पढाउँथे , म पढ्नमा अव्वल नैं थिए , कि पहिलो कि दोस्रो हुन्थे कक्षामा , एउटैं कक्षामा हामी ६० जना पढ्थ्यौं । निम सर मलाई विशेष ध्यान दिन्थे किन हो थाहा छैंन । एउटा हिसाब बिग्रियो भने बुढाले ठटाइ हाल्थे , त्यतीबेला खुबैं रिस उठ्थ्यो तर अहिले निम सरको त्यो झापड मेरा लागि बरदान सरह भएको छ । उनको त्यो झापड मेरा लागि मार्गदर्शक थियो । उनलाई कसैंले ठग्न सक्दैंनथ्यो , ठग्योकि थाहा पाइहाल्थे , धेरै मिहिनेत गरेर पढाउथे निम सर । निम सरसँग भेट नभएको वर्षाे भईसक्यो अझ भन्ने हो भने मैले सरलाई नचिन्ने र सरले मलाई नचिन्ने स्थितिमा छौं हामी । मसेल पुग्दा निम सरलाई खोज्छु तर भेट्न सकेको छैन । उहाँको बारेमा अरु जानकारी पनि छैन । तर, मेरो मानसपटलमा सधै निम सर एक श्रद्धेय गुरुका रुपमा पुजनीय हुनुहुन्छ ।

२०५१ सालमा मेरो परिवार चितवन आएपछि विन्द्रावती मावि मैले छाडेँ  । तर, त्यस स्कुलले म प्रति पु¥याएको योगदान र त्यहाँका गुरुहरुको म प्रतिको योगदान कहिल्यैं भुल्ने छैंन । चितवन आएपछि पञ्चकन्या मावि जयमंगलामा मेरो पठनपाठन सुरु भयो । त्यहाँका गुरुहरुको पनि सबैको नाम सम्झन सक्दिन, यसका लागि क्षमा चाहन्छु तर बालकृष्ण सर , कौशिला म्याडम, ईश्वरी सरलगायतलाई भुल्दिनँ । बालकृष्ण सर हामीलाई अग्रेजी पढाउँथे । बुढा कडा स्वभावका थिए र अहिले पनि छन् । बुढाले मलाई अग्रेजीको ग्रामर यसरी घोकाएकी म अहिले पनि ग्रामरका नियमहरु सम्झदा बालकृष्ण सरकैं शैली फलो गर्छु । कक्षा सात सकेपछि म चितवन हाइस्कुल भरतपुरमा पढ्न आए । चितवन हाइस्कुलमा मलाई पढाउने सबैं गुरुहरुको नाम कण्ठ पनि छ र सबैंलाई चिन्छु पनि । उहाँहरु सँग अझै पनि नियमित भेटघाट र सम्पर्क भइराख्छ । अझै पनि भेट भएका बेला उहाँहरुसँग जीवन सञ्चालनका कुशल तौरतरिका सिकिरहेकै हुन्छु , उहाँहरु पनि आफ्नो चेलालाई यो उमेर सम्म कुनै न कुनै तरिकाले सिकाउन पाउँदा खुशी नै देख्छु । बास्तोला सर , अच्युत सर , चिरञ्जीवी सर , दिलिप सर , रेशम सर, ध्रुव सर, रामप्यारी म्याडम, हरिराज सर आदि सबैं जसले मलाई पढाए । आफ्नो अमूल्य ज्ञानको भण्डार बाडे र मलाई यहासम्म ल्याइपु¥याउन अमूल्य योगदान दिए । यो गुरु पूर्णिमाको अवसरमा उहाहरु प्रति नमन गर्दे शीर झुकाएर श्रद्धाभाव अर्पण गर्न चाहान्छु ।

म अहिले जुन क्षेत्रमा काम गर्छु यहाँसम्म आइपुग्न पनि मलाई थुप्रै अग्रज, सहकर्मी र अनुजहरुले साथ दिनुभएको छ । नजानेका कुराहरु सिकाउनुभएको छ । यो बखत उहाँहरुलाई बिर्सिए भने म स्वार्थी कहलिन्छु । आज २ र ४ पैसा यही पेसामा रहेर कमाउन सकेको छु त्यो उहाँहरुकै देन हो ।  खास गरी रेडियोको कुरा गर्दा हेटौंडामा काम गर्ने सिलसिलामा त्यहाँका अग्रज , सहकर्मी र अनुजबाट धेरैं सिक्ने मौंका पाए । दिपक अधिकारी, कुमार अधिकारी, नरेन्द्र सापकोटा, नवराज खनाल, दर्शन क्षेत्री, जितेन्द्र पौंडेल, बिमल, गोकुल, सरस्वती, सरला, ध्रुव, धिरज, मुस्कान आदि । मैंले त्यहाँ रहँदा धेरै कुरा सिके, कति सिकाए तर सिक्दैं र सिकाउदैं गर्दा पनि आफूले आफूलाई यो क्षेत्रमा अब्वल बनाउने र तिखार्ने मौका मैले हेटौंडामा नैं पाएको हुँ । मैले ती सबै सहकर्मीहरुलाई कुनै न कुनै रुपमा गुरु मानेको छु ! आज म जहाँ छु त्यहा हेटौंडाको योगदान छ , यी साथीहरुको अहम् भूमिका छ । अझ विशेष गरी जितेन्द्र पौडेल दाइ जसले मलाई यो क्षेत्रमा ल्याय उनको गुण कहिले भुल्ने छैन । उनी नभएको भए सायद म अर्कै पेसामा पो हुन्थेकी !

मैंले केही समय शिक्षक भएर काम गरे , अहिले पनि दर्जनौं स्थानमा तालिम दिँदै हिड्छु । खासगरी रेडियो रिलेटेड तालिम, भाषणकला , उद्घोषण , लिडरसिप ट्रेनिङ र युवा सशक्तिकरण तालिमको क्षेत्रमा म काम गर्छु । तर, यसो भनिरहँदा मैंले कहिल्यैं पनि आफूलाई पूर्ण ठानेको छैंन र अहिलेसम्म सिकिरहेको छु । म कुनैं तालिमको कोठामा प्रशिक्षण दिन छिर्दा म सिकाउन होइन सिक्न आएको हुँ भनेर आफ्नो सेसन सुुरु गर्छु अझैं पनि । त्यसैंले मान्छेको जीवनमा गुरुको रुप अनेक हुँदा रहेछन् । मान्छेले सिकेर कहिल्यैं सकिदो रहेनछ । फेरि एकपट सम्पूर्ण मूर्त र अमूर्त गुरुहरु प्रति नमन गर्न चाहे । जसले कुनै न कुनै रुपमा गुरु बनेर मेरो मार्ग कोरिदिनु भयो उहाँहरु प्रति एक पटक फेरि श्रद्धाले शीर निहुँराउँदै नमन गर्दछु । अस्तु !!

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area