चितवन विशेष

नारायणी किनारको महाआरतीस्थलको कुर्ची तोडफोड

Banner

चितवन, असार १९–

चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा हुने नारायणी गण्डकी महाआरती स्थलमा राखिएको सिमेन्टका कुर्चीहरुमा तोडफोड गरिएको छ ।

बुधबारराती अज्ञात समूहले महाआरती स्थलमा राखिएका २२ वटा कुर्चीहरुमा तोडफोड गरेको हो । तोडफोडबाट दुई वटा कुर्ची पूर्णरुपमा क्षति भएको छ भने अन्य कुर्ची चौरमा लडाइएको थियो ।

वैशाख १ गतेदेखी श्री गण्डकी नारायणी संरक्षण महाआरती परिषद्को आयोजनामा वैदिक विधि अनुरुप गण्डकी नारायणी महाआरती हुँदै आएको थियो । सोही स्थानमा बुधबार साँझ नेपाली काँग्रेसले पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तिको अवसरमा लाखबत्ती समेत बालेको थियो ।

राती १० बजेसम्म आरतीको टोली सोही स्थानमा रहेको थियो । तर बिहीबार विहान आरती स्थल भताभुंग पारिएको परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजले जानकारी दिए । उनले भने–‘रातीसम्म हामी हुँदा केही भएको थिए, विहान सबै भताभुंग बनाएछन् ।’ उनले यस घटनामा राजनीतिको आधारमा नभएको भन्दै नियोजित रुपमा केही समूहबाट भएको हुन सक्ने बताए ।

महाआरती स्थलमा विभिन्न व्यक्तिहरुले कुर्चीहरु दान गरेका हुन् । महाआरतीमा सबैको सहयोग र साथ रहँदै आएको थियो । तर एक्कासी यस्तो घटनाले उनीहरुलाई झस्काएको छ । अध्यक्ष भारद्धाजले भने–‘महाआरतीको सबैले मुक्तकण्ठाले प्रशंसा गरेका छन्, यसमा अराजक व्यक्तिहरुको संलग्ना हुन सक्छ ।’

परिषद्का सल्लाहकार टंकनाथ पौडेलले घटनाबारे वडा र जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिइ सकिएको बताए । उनले यस घटनाले हिन्दुधर्म माथि प्रहार भएको बताए ।

यस्तै अर्का सल्लाहकार उमाशंकर अग्रवालले दाताको सहयोगबाट राखिएको कुर्चीमा तोडफोड हुनु दुःखद रहेको बताए । उनले दुई वटा कुर्ची पूर्ण रुपमा क्षति पुगेको भन्दै एउटा कुर्चीको मूल्य ७ हजार पाँच सय रुपैयाँ पर्ने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>