चितवन विशेष

माडीको बाँदरमुढे खेलामा झण्डै सात किलोमिटर तटबन्धन, बाढीको डर टर्दै

Banner

चितवन, असार १९–

माडीको बाँदरमुडे खोला सशस्त्र संघर्षका बेला भएको दुःखदायी विस्फोटका घटनाले देशविदेशमा चर्चामा पायो । यही खोलाका कारण माडीवासीले वर्षायाममा हरेक वर्ष पीडा भोग्ने गरेका थिए । अरू बेला सुक्खा हुने यो खेलामा असारदेखि भदौसम्म पटकपटक बाढी आउने, बाढीले खेत कटान गर्ने, घर बगाउने र मान्छेको ज्यानसमेत लिने गरेको थियो ।

डुबान र कटानको दुःख त छँदै थियो बाँदरमुढे खोलाले २०७१ सालमा एकजना महिलालाई बगायो । त्यसपछि बाढीको दुःख हटाउने स्थायी खोजीमा स्थानीय जुट्न थाले । ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले प्रकोप नियन्त्रणका लागि योजना अगाडि ल्यायो । विसं. २०७३ देखि काम सुरु गरेर अहिले खोलाको लगभग सबै क्षेत्रमा तटबन्धनको काम पूरा भएको छ । ‘झन्डै सात किलो मिटर दूरीमा हामीले विभिन्न कामहरू गरेका छौं,’ आरआरएनका परियोजना संयोजक रवीन्द्रसिंह ठकुरीले भने, ‘तटबन्धन बनायौं, साँघुरो खोलालाई चौडा बनायौं । चेकड्याम बनायौं ।’ खोलाले छोएका आठ गाउँ जोगाउन संस्थाले तीन वर्षमा आठ करोड रुपैयाँ खर्च गरेको उनले जानकारी दिए । माडी–६ माथिल्लो रामराज्यपुरका नारायण अधिकारीको घर अरूको भन्दा केही अग्लो ठाउँमा छ । ‘हामी यो ठाउँमा ४२ सालदेखि बस्दै आएका हौं ।’ यो समाचार कान्तिपुर दैनिकमा रमेश कुमार पौडेलले लेखेका हुन् ।

असार साउनमा पानी दर्केपछि खोला आडमा घर भएका मान्छेले हाम्रो घरमा समान ल्याएर राख्थे,’ अधिकारीले भने । सुरक्षित ठाउँमा समानहरू राख्न दौडेने व्यक्ति रुद्र सुनार पनि हुन् । बाँदरमुढेको बाढीले धेरैको होसहवास उडाउँथ्यो । माडी दक्षिणमा रहेको सोमेश्वर पहाडको जंगलमा बाँदरमुढे खोलाको मुहान छ । जंगलबाट सुरु भएको यो खोलाले माडी–६ का आठवटा गाउँ रामराज्यपुर, मझुवा, बाँसतले टोल, ब्रहृमपुरी, शिवराजपुर, वसन्तपुर, कल्याणपुर र रेवा टोललाई छोएर मगुई खोलामा मिसिन्छ । सोमेश्वरबाट उत्पत्ति भएका माडीका सबै खोला अन्तिममा रेवा खेलामा मिसिन्छन् । बाँदरमुढे खोलाले छोएका सबै आठ गाउँका बासिन्दा वर्षायाममा बाढीको त्रासमा हुन्थे । ‘म यो ठाउँमा बिहे गरेर ४१ सालमा बस्न आएकी हुँ । पहिला खोलो निकै पर थियो । तर पछि अलि वरवर हुँदै आयो,’ माडी–६ शिवराजपुरीकी तारा पौडेलले भनिन्, ‘४६ सालपछि बाढी हरेक वर्षजस्तो घरमा पस्न थाल्यो ।’

बाँदरमुढेको बाढीले हरेक वर्ष कल्याणपुर बजार डुबाउने गर्दथ्यो । ‘हाम्रो बुबाहरू ३१ सालदेखि नै यहाँ बस्न थाल्नुभएको हो, ’ गणेशकुमार माकाजुले भने, ‘उहाँका अनुसार बाँदरमुढेको बाढी ऊ बेलामा पनि बजारमा पस्थ्यो ।’

पहिला खोलो चार मिटरसम्म चौडा थियो । अहिले ३० मिटर फराकिलो बनाएर तटबन्धन लगाइएको छ । खोला फराकिलो बनाउँदा आडका जग्गाधनीले समेत जग्गा दिएका छन् । ‘मेरो तीन बिघा एक कठ्ठा जग्गा थियो । अहिले दुई बिघा १३ कठ्ठा छ,’ कल्याणपुरका नारायणप्रसाद पौडेलले भने, ‘आठ कठ्ठा जग्गा खोला चौडा बनाउँदा खोलातर्फ मिसियो ।’ वर्षायाममा बाढी आउँदा पूरै तीन बिघा जमिन बगरमा परिणत हुने गर्दथ्यो । खोला फराकिलो बनाउन र ड्याम बनाउन आठ कठ्ठा जग्गा माया मार्दा अरू सबै जग्गा जोगिएको उनले बताए । खोलाले वर्षामा धेरै जोड गर्ने ठाउँमा तार जालीको बलियो तटबन्धन छ । अरू ठाउँमा माटो थुपारेर बोट बिरुवा रोपेर हुर्काइएको छ । तटबन्धन जोगाउन र बिग्रेमा मर्मत गर्न आफूहरूले तालिम पाएको गणेशकुमार माकाजु बताउँछन् ।

तटबन्धन र बाढी नियन्त्रणको कामले गर्दा माडी–६ का आठ गाउँका ५ सय १ घरधुरीमा बस्ने २ हजार ७ सय ७२ जनसंख्या लाभान्वित भएको परियोजना संयोजक ठकुरीले बताए । ४ सय ३० हेक्टर खेतीयोग्य जमिन जोगिएको छ । वर्षायाममा खोलाको बाढीले गर्ने अन्दाजी ३० लाख रुपैयाँसम्मको नोक्सानी जोगिएको ठकुरीले जानकारी गराए । रामराज्यपुरका नारायण अधिकारी अहिले खोला आडको खेतमा पनि धान रोप्न सुरु भएको बताउँछन् । ‘जन्मेदखि नै बाढीको त्रास भोगेका यहाँ छन् । तटबन्ध लगाएपछि खोलो गाउँ छिर्दैन भन्ने लागेर ढुक्कसँग निदाउने अवस्था भने अहिले आएको छ,’ अधिकारीले भने, ‘ तर ठूलै बाढी आए के हि हुन्छ कि भन्ने त्रास त छ नै । हामी सावधानी पनि अपनाउँछौं ।’

रामराज्यपुरका पोस्टराज गुरुङको घरमा पानी कति पर्‍यो भनेर नाप्ने गेज मिटर पनि छ । १५० मिलि लिटरभन्दा धेरै पानी परे उनी फोन गरेर सतर्क रहन भन्छन् । माडीमा बाँदरमुढेजस्ता वर्षायाममा दुःख दिने अनेकौं खहरेहरू छन् ।

आरआरएनका परियोजना संयोजक रवीन्द्रसिंह ठकुरी यस्ता १८ खोलाले माडीमा बर्सेनि नोक्सान गर्दै आएको बताउँछन् । माडी नगरपालिकाले खोला नियन्त्रणका कार्यक्रमलाई जोड दिँदै आएको छ । हालै सम्पन्न तेस्रो नगरसभाले खोलाको बाढी नियन्त्रणलाई विषेश ध्यान दिने र बस्ती संरक्षणका कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area