चितवन विशेष

चितवनमा तीन बर्षमा ४ सय ३० जनाले अकालमा ज्यान गुमाए

Banner

चितवन,असार १५-

चितवनमा तीन वर्षको अवधिमा ४ सय ३० जनाले अकालमा ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकमा झुण्डिएर आत्महत्या गर्नेको संख्या अधिक रहेको छ । विष सेवन गर्नेको संख्या पनि प्रहरी तथ्यांकमा अत्याधिक नै रहेको छ ।

भुण्डिएर, विष सेवन गरेर, हाम फालेर आत्महत्या हुने गरेकोमा प्रहरीले सबै घटनाहरुलाई फरक–फरक कोणबाट अनुसन्धान तथा विश्लेषण गर्दा उक्त घटना तनाबका कारण हुने गरेको पाइएको छ । आर्थिक, सामाजिक र पारिवारीक तनाबका कारण मनमा आउने नाकारात्मक विचार आत्महत्याका लागि प्रेरित हुने गरेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुको भनाइ छ ।

‘आत्महत्याको प्रमुख कारण तनाब र उच्च रक्तचाप नै रहेको हामीले पाएका छौं’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवंम प्रवक्ता एकनारायण कोइरालाले भने । ‘कतिपय आत्महत्या व्यक्तिको अनावश्यक दवाबले हुने गरेको छ, तर प्रमाण अभावमा उनीहरुलाई कारवाहीको दायरामा ल्याउन ग्राहो हुने गरेको छ’–प्रवक्ता कोइरालाले थपे ।

प्रहरी अनुसन्धान रिपोर्टका अनुसार, आत्महत्या गर्नेमा २० वर्षदेखि माथिका युवा युवतीहरु धेरै रहेको पाइएको छ । ‘आफ्ना इच्छा आकांक्षा पूर्ति नहुँदा, असफलता, सामाजिक र पारिवारीक रुपमा रहने प्रेसरले आत्महत्या गर्न प्रेरित गर्छ’, कोइराला भन्छन्, ‘त्यसैले परिवार र समाजले व्यक्तिमा आएको नकारात्मक परिवर्तनको थाहा पाएर परिस्थितिलाई अनुकल बनाउने हो भने आत्महत्याका घटना न्यूनीकरण गर्न सकिन्छ ।’ उनी युवा, युवती लागूऔषधको कुलतका कारण पनि तनाबमा पर्ने गरेको बताउँछन् ।

चितवनमा आ.व. २०७३/०७४ मा एक सय ४६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरीको तथ्यांक रहेको प्रवक्ता कोइरालाले जानकारी दिए । उक्त आ.व.मा सबैभन्दा बढी झुण्डिएर एक सय ११, विष सेवन गरी ३० जनाले र पाँच जनाले आफैले आगो लगाएर ज्यान गुमाएका थिए । बजारमा बिक्री हुने विषादी प्राप्त गरेर आफ्नो ज्यान गुमाउनेको संख्या ठूलै रहेको छ । ‘विभिन्न कार्यका लागि प्रयोग हुने विषादी हात पारेर सेवन गरेको पाइन्छ’,– कोइरालाले भने ।

आ.व. ०७४/०७५ मा चितवनमा एक सय ३९ जनाले आत्महत्या गरेका छन् । जसमा विष सेवन गरी ३६, झण्डिएर एक सय र हाम फालेर तीन जनाले ज्यान गुमाएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व. ०७५/०७६ मा आत्महत्या गर्नेको संख्या झन् बढेको छ । चालु आ.व.मा झुण्डिएर आत्महत्या गर्नेको संख्या अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म झुण्डिएर आत्महत्या गर्नेको संख्या एक सय २५ रहेको छ । विष सेवन गरी आत्महत्या गर्नेको संख्या १९ रहेको छ । चालु आ.व.को जेठसम्म एक जनाले मात्र हाम फालेर आत्महत्या गरेको प्रहरी तथ्याङ्क छ । तर यो आर्थिक वर्षको असार महिनाको पहिलो सातामै नारायणी र दासढुङ्गा पुलबाट हाम फालेर तीन जनाले आत्महत्या गरेका थिए ।

चिकित्सकहरु विभिन्न बादविवाद, तनाव, संयमताको अभाव, मनोबल खस्नु, धोकालगायत कारणलाई आत्महत्याको कारण रहेको बताउँछन् ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्नेको भन्दा आत्महत्याको कोसिस गर्नेको सङख्या २० प्रतिशतले बढी हुन्छ । भरतपुर अस्पतालका मानसिक रोग विशेषज्ञ डा सुनिल कुमार शाह भरतपुर अस्पतालमा आत्महत्याको कोसिस गरेर दैनिक रुपमा दुई जनादेखि तीनजनासम्म बिरामी आउने गरेको बताए । युवाहरुले आवेगमा आफ्नो संयमता गुमाउँदा आत्महत्या सम्मको निर्णयमा पुग्ने गरेको उनको भनाई छ । उनले आत्महत्या मानसिक रोगको नतिजाको रुपमा चित्रण गर्दछन् । मानसिक रोगबारे समाजमा चेतनामूलक कार्यक्रम गर्न जरुरी रहेको उनले बताए । व्यक्तिले मनभित्र भएको तनाब व्यक्त गर्न नसक्दा पनि आत्महत्याको निर्णयमा पुग्ने गरेको उनको भनाइ छ ।

आत्महत्या एकैचोटी हुने घटना नभएको प्रहरी अधिकारी बताउँछन् । ‘समस्या भन्ने अवस्था नहुनु वा त्यसको बेलैमा समाधान नहुनु पनि आत्महत्याको प्रमुख कारण मध्ये हो,’ प्रहरी अधिकारी भन्छन्, ‘यो अहिलेको समयमा ठूलो समस्याको रुपमा देखा परेको छ ।’ ‘निरन्तर तनाब र आफुले त्यसलाई थेग्न नसक्ने निर्णयमा पुगेपछि आत्महत्या रोजेको हुनसक्छ’, प्रवक्ता कोइराला भन्छन् ।

कतिपय आत्महत्याका घटनामा सुसाइड नोटहरु पनि फेला पर्छन् । जसमा आत्महत्याको निर्णयमा पुग्नुको कारण समेत उल्लेख गरिएको पाइन्छ । कहिलेकाहीँ ‘रिसको झोंक’मा एक्कासी आत्महत्या गरेको घटना समेत फेला पर्ने गरेको छ । ‘स–साना कारणमा पनि आत्महत्या गरेको पाइएको छ’, प्रवक्ता कोइराला भन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area