नवलपुर

नवलपुरका किसानलाई प्राङ्गारिक मल, किलोको पाँच रुपैयाँमा मल पाउँदा किसान हर्षित

Banner

ज्ञानु पंगेनी

नवलपुर, असार १४-

नवलपुरको मध्यबिन्दु नगरपालिका–६ मा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको नव क्षितिज विकास परिषद्ले शनिबार १०० किसानलाई सहुलियत दरमा प्राङ्गारिक मल वितरण गरेको छ । मध्यबिन्दु नगरपालिका–६ हर्दिया र बरुवाका किसानलाई प्रति व्यक्ति २५ किलोग्रामका दरले प्रतिकिलो पाँच रुपैयाँमा प्राङ्गारिक मल वितरण गरिएको नव क्षितिज विकास परिषद्का अध्यक्ष धर्मराज लुइँटेलले जानकारी दिए ।

असारको समय धान खेती गर्ने समय भएकाले किसानलाई मलको बढी आवश्यकता पर्छ । किसानलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले संस्थाले मल वितरण गरेको लुइँटेलले बताए । लुइँटेलका अनुसार वितरण गरिएको प्राङ्गारिक मल बाहिर खरिद गर्दा ३२ रुपैयाँ प्रतिकिलो पर्ने र ८० प्रतिशत सरकारी अनुदानमा लिनेले प्रतिकिलो आठ रुपैयाँमा खरिद गर्नुपर्छ ।

प्राङ्गारिक मल सबै प्रकारका बोट विरुवामा राख्न मिल्ने लुइँटेलले जानकारी दिए । हर्दिया र बरुवामा अधिकांशले कृषि पेसा गर्दै आएका छन् । यहाँ विषेश गरेर अर्गानिक तरकारी खेती समेत गरिन्छ । अर्गानिक खेती गर्ने किसानलाई सहुलियत दरको मल पाउदा निक्कै खुसी समेत भएका छन् । सहुलियत दरमा मल पाउदा किसानलाई राहत मिलेको एक जना किसान तारा प्रसाद भट्टराईले बताए ।  ‘आफ्नै गाउँठाउँमा पाँच रुपैयाँ किलोमा मात्रै मल पाउनु भनेको धेरै खुसीको कुरा हो । त्यो पनि गाउँको एउटा संस्थाबाट, हामीजस्ता किसानलाई स्थानीय सरकारले पनि यस्ता कार्यक्रम ल्याउनुपर्छ । ’ भट्टराईले भने । संस्थाका अध्यक्ष धर्मराज लुइँटेलको अध्यक्षतामा भएको मल वितरण कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ मध्यबिन्दुका अध्यक्ष दुर्गाप्रसाद भुर्तेल प्रमुख अतिथि रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>