चितवन विशेष

अब भरतपुरमा विजुलीको ‘स्मार्ट मिटर’, घरमै बसेर रिचार्ज गर्न सकिने

Banner

भरतपुर,असार १३-

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले ग्राहकलाई स्मार्ट विद्युत् मिटर वितरण शुरु गरेको छ । भरतपुर महागरपालिकाको विद्युत् वितरण र व्यवस्थापनलाई चुस्त बनाउन विद्युत् प्राधिकरणले स्मार्ट मिटर वितरण शुरु गरेको हो ।

शुरुमा थ्री फेज लिएका ठूला ग्राहकलाई परम्परागत मिटर प्रतिस्थापन गरेर स्मार्ट मिटर वितरण गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले जानकारी दिनुभयो । उहाँले नयाँ सबै थ्री फेज प्रयोग गर्ने ग्राहकलाई स्मार्ट मिटर दिइने बताउनुभयो । सिङ्गल फेज प्रयोगकर्तालाई पनि भविष्यमा स्मार्ट मिटर दिने योजना अघि बढेको उहाँको भनाइ छ । थ्री फेज उद्योग कलकारखाना, सिँचाइ र ठूला–ठूला घरमा प्रयोग गर्ने गरिएको छ ।

भरतपुर वितरण केन्द्रअन्तर्गत थ्री फेज प्रायोगकर्ता करीब २० हजार रहेका छन् । परम्परागत मिटरको रु पाँचदेखि छ हजारसम्म पर्छ भने स्मार्ट मिटरको करीब रु १७ हजार मूल्य रहेको छ । विद्युत् वितरण र भुक्तानीलाई स्वचालन प्रणाली (अटोमेशन) मा लाने अभियान स्मार्ट मिटरमार्फत शुरु भएको प्रमुख महतोले बताउनुभयो ।

“वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै स्मार्ट मिटरमा गएका छौँ, स्मार्ट ग्रिडको अवधारणाअनुसार आधुनिक प्रणाली विकास भइसकेकाले अब त्यसलाई कार्यान्वयनको चरणमा छौँ”, उहाँले भन्नुभयो । महतोका अनुसार स्मार्ट मिटर जडानसँगै मिटर रिडिङ, चुहावट र सही तथ्याङ्क नआउने अहिलेको समस्या समाधान भई प्रत्येक ग्राहकको माग, खपत र आपूर्ति, यसको बिलिङ, मिटर बिगार्ने, चुहावट गर्नेलगायतका समस्याबारे सहजरुपमा प्राधिकरणले जानकारी पाउने र यसको समाधान गर्न सक्नेछ । हाल भने मिटर रिडर तथा विद्युत् प्राधिकरणका कर्मचारीको मिलेमतोमा सहीरुपमा मिटर रिडिङ नहुने, अन्दाजमा युनिट गणना गर्ने, स्टक युनिट राख्नेलगायतका समस्या हाल देखिएकोमा स्मार्ट मिटरमा गएसँगै त्यो अन्त्य हुनेछ ।

स्मार्ट मिटर एक प्रकारको विद्युतीय डिभाइस हो । यो डिभाइसमा दोहोर सञ्चार प्रणाली जडान गरिएको छ । जुन सञ्चार प्रणालीका कारण प्राधिकरणको सिस्टमले पलपलमा त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ । उपभोक्ताले बिल तिरेको र नतिरेको पनि छिनभरमै प्राधिकरणलाई थाहा हुन्छ ।

डिभाइसमा जडान गरिएको सिस्टममै उपभोक्ताले रिचार्ज कार्डमार्फत रिचार्ज गरेर बिजुलीको खपत गर्न सक्ने हुन्छ । विकसित मुलुकमा पछिल्ला वर्षमा स्मार्ट मिटरको प्रयोग बढिरहेको छ । स्मार्ट मिटर जडान गरेपछि उपभोक्ता र विद्युत् बिक्रेता प्राधिकरण दुवैलाई सजिलो हुनेछ । स्मार्ट मिटर जोडेपछि प्राधिकरणका कर्मचार घरघरमा आएर मिटर हेरेर बिल काट्नुपर्ने बाध्यता पनि हट्ने छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>