Uncategorized

देशभर असारे विकासको चटारो: एक सातामा २८ अर्ब बजेट खर्च

Banner

काठमाडौ, जेठ ९

आर्थिक वर्षको अन्त्य लागेपछि हतारमा काम गर्ने प्रवृत्तिले एक सातामा २८ अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च भएको छ । असार महिना लागेपछि २८ अर्ब ८९ करोड ४१ लाख रुपैयाँ बजेट खर्च भएको हो । यो असार १ गतेदेखि ८ गतेसम्मको बजेट खर्चको विवरण हो । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकलाई आधार मान्ने हो भने चालु आर्थिक वर्षको असार ८ गतेसम्म ६४.९० प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्ष सकिन २३ दिन बाँकी रहँदा बजेट खर्च ६४.९० प्रतिशत मात्र भएको हो । हालसम्म ८ खर्ब ५७ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ । १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट पेस गरेको सरकारले यसपटक पनि बजेट खर्च समयमै गर्न सकेन । यद्यपि, पछिल्लो चौमासिकमा बजेट खर्च तीव्र हुने प्रवृत्तिले यसपटक पनि निरन्तरता भने पायो ।

हरेक वर्षजस्तै यसपटक पनि पँँुँजीगत खर्चको अवस्था निराशाजनक देखिएको छ । हालसम्म पुँजीगत खर्च ४९.९४ प्रतिशत भएको छ । सरकारले चालु वर्षका लागि पुँजीगत तर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ छुट्याएको थियो । यसमा एक खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ । अब एक खर्ब ५६ लाख २६ हजार रुपैयाँ खर्च गर्न बाँकी छ । यदि सरकारले यो खर्च गर्ने हो भने दैनिक ६ अर्ब ७९ करोड ३९ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । पुँजीगत खर्च (विकास खर्च) समयमै प्रभावकारी गर्न नसक्दा विकासका मामलामा देश पछि परेको विज्ञहरु बताउँछन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि विकास खर्च हुन नसक्ने परम्पराले यस पटक पनि निरन्तरता पाएको स्वीकार्छन् । उनले पटक पटक सार्वजनिक फोरममै पनि पुँजीगत खर्च गर्न चुकेको भन्दै आएका छन् । भरतपुरलगायत काठमाडौँका कतिपय ठाउँमा असारको वर्षात्मा पनि धमाधम सडक पिचको कामहरु भइरहेको देखिन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>