खैरहनी

खैरहनी नगरपालिकाको गाडी दुर्घटना, सात कर्मचारी घाइते

Banner

चितवन, असार ४

खैरहनी नगरपालिकाको गाडी चितवनको रत्ननगरमा बुधबार दुर्घटनामा परेको छ ।

दुर्घटनामा नगर शिक्षा अधिकारी महेन्द्र पौडेलसहित ७ जना कर्मचारी घाइते भएका छन् । भरतपुरबाट कार्यालय तर्फ आउँदै गरेको बा १७ च ६७९७ नम्बरको नगरपालिकाको गाडीले स्कुटरलाई बचाउने क्रममा विपरित दिशाबाट जाँदै गरेको ना ३ ख १८६३ नम्वरको मिनीबसले नगरपालिकाको गाडीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा नगर शिक्षा अधिकारी पौडेल, कृषि शाखा प्रमुख श्रीकान्त घिमिरे, स्वास्थ्य शाखा संयोजक माया पाण्डे, लेखापाल केशव बराल, महिला तथा बालबालिका शाखाकी विमला रानाभाट, अनिता पन्त र चालक सुदामा चौधरी सवार थिए । घाइतेहरुको मेडिकल कलेज चितवनमा उपचार भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए ।

घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ । खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीसहितको टोलीले दुर्घटनामा घाइते भएकालाई अस्पतालमा भेट गरी स्वास्थ्य अवस्था बुझि स्वास्थ्य लाभको कामना गरेका छन् । दुर्घटनामा नगरपालिकाको गाडीमा पूर्ण क्षति भएको छ । यसअघि पनि खैरहनी नगरपालिकाको गाडी रत्ननगरकै शान्तिचोक नजिकै दुर्घटना हुँदा २ जना वडाध्यक्षहरुको ज्यान गएको थियो । २०७४ साल माघ ६ गते भएको सो दुर्घटनामा खैरहनी ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र वडा नम्बर ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको ज्यान गएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>