जोडिनुहोस

Banner

स्वामी पद्मनाभाचार्य

जन्म परिवेश :

माता धनलक्ष्मी अधिकारीको जन्म धादिङ जिल्लाको साविक ढोला गाउँ पञ्चायत हाल ज्वालामुखी गाउँपालिका वडा नं ४ डाँडा पुर्सूमा विसं १९९५ साल माघ १७ गतेका दिन पिता लोकनाथ अर्याल र माता पद्मकुमारी अर्यालकी माहिली छोरीका रुपमा भएको हो । उनको विवाह धादिङको तत्कालीन किराञ्चोक बेलटार हाल गल्छी गाउँपालिका निवासी लोकनाथ अधिकारीसँग १२ वर्षको उमेरमा २००६ सालमा भएको थियो । वैवाहिक जीवनमा बाँधिएको दुई वर्षमै श्रीमान्को निधन भएपछि उनी बाल विधवा भइन् ।

वैष्णव सम्प्रदायमा प्रवेश :

केही वर्ष माइती घरमा खेतीपाती कार्यमा सहयोगी भूमिकामा रहेर बिताएपछि आफ्नो जीवनलाई कसरी सार्थक बनाउन सकिन्छ भनेर उनी काठमाडौं आइन् । काठमाडौँमा वैष्णव सम्प्रदायमा दीक्षित रहेकी आफ्नी फूपूको सम्पर्कमा पुगिन् । त्यसपछि धनलक्ष्मी माताको मन पनि यसतर्फ आकर्षित भयो र त्यस बमोजिम ३२ वर्षको उमेरमा दक्षिण भारतको श्रीरङ्गम्मा बसेका सन्यास ग्रहण गरेका नेपालीसँग पनि राम्रो सम्बन्धमा रहेका श्री मत्परमहंस परिब्राजकाचार्य अन्नन्त विभूषित लक्षमणाचार्य त्रिदण्डी स्वामी महाराजबाट पञ्च संस्कारयुक्त बनी विशिष्टाद्वैत दर्शन सम्प्रदायमा दीक्षित बनी धनलक्ष्मी रामानुजदासीको रुपमा परिचित भइन् । केही समय त्यहाँ बसी उनले आफूलाई आचार्य सेवामा समर्पित गराइन् ।

वैष्णव सम्प्रदायमा रहेर सेवाः

काठमाडौं फर्केपछि उनी फूपूकै सम्पर्कमा रहिन् र उनकै सेवामा आफूलाई समर्पित गराइन् । काठमाडौँको गौशालास्थित एक वैष्णवको घरमा उनीहरु फूपू भदै लामो समय बसे । त्यो उनको फूपूको गुरुपुत्रको घर थियो । त्यही एक तले घरमा उनीहरुले खर्च गरेर तला थपे । पछि गुरुपुत्र नारायणसँग कुरा नमिलेपछि धनलक्ष्मी माता फूपू दिदीसहित २०३७ सालदेखि चितवनको नारायणघाट स्थित क्षेत्रपुरमा रहेको हालको श्री शेषलक्ष्मी नारायण मन्दिरमा कुटी बनाइ बस्न थालिन् । यस मन्दिर क्षेत्रमा कुटी निर्माण कार्यमा केशवी आमाजीको ठूलो योगदान रहेको थियो । केशवी आमा यस मन्दिरको प्रमुख संरक्षक थिइन् । उनै केशवी आमाजीसँग सहकार्य गर्दै मन्दिर निमार्ण कार्यमा धनलक्ष्मीमाताले महत्वपूर्ण सहयोग गरिन् । यस मन्दिरको संस्थापक सदस्य तथा हालको सञ्चालक समितिका सदस्यका रुपमा उनले निर्वाह गरेको भूमिका अविस्मरणीय र अतुलनीय रहेको छ । यसै कारण वैष्णवीय सदाचारलाई अन्तिम समयसम्म पालना गर्न सक्षम भएकै कारण उनको वैकुण्ठबास प्रवेश पनि अत्यन्त सहजताका साथ भएको छ । यस प्रकारको वैष्णव धनलक्ष्मी अधिकारी आमाजी सबैको लोकप्रिय, अतिथि सेवाद्वारा प्रसिद्ध बन्दै आफ्ना परिवार, बन्धुवान्धव जनको पनि उत्तिकै प्रिय र प्रेरणादायी व्यक्तित्व थिइन् ।

वैकुण्ठवास :

यसै क्रममा वैशाखको दोस्रो साता केही समय विश्राम तथा आराम गर्न भनी धादिङकोे गल्छी गाउँपालिकास्थित आफ्नो कर्म घर बेलटार गई करिब एक महिनाको बसाइपछि जेठ १४ गते काठमाडौंमा आँखाको उपचार गराउन भनेर उनी पुगिन् । उनी गाडीबाट ओर्लिएपछि यस धर्तीलाई त्याग गरेर सदाको लागि भगवानको नित्य सेवार्थ बैकुण्ठबास भइन् । जीवनको सम्पूर्ण समय वैष्णव सम्प्रदायमा रहेर भक्तिका कारण त्यस दिन बिहान आफैले बनाएको प्रसाद खाएर बाटामा झर्नाको पानी आफैले थापेर खादैँ गाडीबाट ओर्लेर अस्पताल प्रवेश गरेकी थिइन् । सोही क्रममा एक्कासी बेहोस भई यही अवस्थामा सिनामंगलस्थित केएमसी अस्पताल लैजादा उनको अचानक बैकुण्ठबास भयो ।

वैकुण्ठपछिको संस्कार :

उनको वैकुण्ठपछि उनको भौतिक शरीरलाई माताजीकै इच्छाअनुसार पुनः परिवारजन, सुपुत्रहरुका साथमा सम्पूर्ण आचार्य वैष्णव जनको सल्लाहमा श्री शेषलक्ष्मी नारायण मन्दिर क्षेत्रपुरको प्राङ्गणमा ल्याई वैष्णवीय परम्परा एवम् सिद्धान्तअनुसार १६ वटा कलश एवम् पञ्चगव्यद्वारा स्नान गराई ब्रम्ह्मेध विधिद्वारा नयाँ वस्त्र पहि¥याई तिलक, तुलसीमाला धारण गराई शुद्ध पाँच श्रीवैष्णव ब्राम्ह्ण, नाति अच्चुत प्रपन्न अर्याल एवम् सुपुत्रहरुद्वारा सोही ब्रम्ह्मेध यज्ञको अग्निलाई देवघाटधामको घाटसम्म पु¥याएर त्यसै यज्ञीय अग्निद्वरा पञ्चक विधिका साथमा दाहसंस्कार गरी गण्डकी नारायणी नदीमा अस्तु बिसर्जन गरी अन्तिम बिदाइ गरियो । लगभग ६० जना मलामीको उपस्थितिमा शेष लक्ष्मीनारायण मन्दिर समिति परिवारको तर्फबाट समेत हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको थियो । सुपुत्रहरुका साथै वैष्णव ब्राम्ह्ण नवलपुर निवासी चक्रधर तिमल्सिनाद्वारा क्रियाकर्म तथा पवित्र नारायणीको तटमा विधिवत गर्दै पाँचौ दिन १८ गतेदेखि गरुडपुराण तथा अर्चिरादी मार्ग वैकुण्ठमार्गको व्याख्या प्रवचन स्वयं मठाधीशद्वारा भयो । १३ दिनको कार्य पश्चात वर्ष दिनभित्र गरिने स्मात विधिभन्दाअतिरिक्त विशिष्ट विधि वैकुण्ठयात्रोत्सव पनि पछि यथा समयमा गरिने छ ।

शेषनारायण मन्दिर र धन लक्ष्मी आमा :

नेपालको मध्यभाग देवघाटधामको निकट विश्वकै एक मात्र शालीग्राम जन्मदायिनी गण्डकी नारायणी नदीको पूर्वीतटमा अवस्थित भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरको शेषनारायण मन्दिरमा २०५१ सालमा तिरुपति बालाजी वेङ्कटेश्वर भगवानको प्राण प्रतिष्ठा भएको थियो । उक्त मन्दिरमा श्रीवरदराज भगवान, श्रीदेवीभूदेवि सहित उत्सव विग्रह वेङ्कटेश भगवान एवम् संस्थापक माधवा चार्य स्वामीजीद्वारा स्थापित सीता, राम, लक्षणहनुमानका मूर्तिहरु विराजमान छन् । सो मन्दिरमा नेपालका विभिन्न भाग तथा भारतलगायतका देशबाट मुक्तिनाथ, दामोदर कुण्ड, पशुपतिनाथ, जनकपुर वराह क्षेत्र, देवघाटधाम तीर्थ दर्शनार्थ आवतजावत गर्ने तीर्थयात्रीहरुका लागि निःशूल्क भोजन र आवासको सोवा हँुदै आएको छ । वर्तमान परिवर्तित समय सन्दर्भमा सुविधा सम्पन्नस्तरीय सेवा, वृद्धवृद्धाहरुको उचित सम्भार एवम् गुरुकुल पाठशाला स्थापना गर्ने उद्देश्यले निर्माण कार्य भइरहेको धार्मिक पर्यटकीय शिस महल, सत्सङ्ग भवन, धर्मशाला वृद्धाश्रम छात्रावाससहितको १० करोडको योजनामा बहुआयामिक श्रीवेङ्कटेश भवन तीन तलासम्म निर्माण गर्दै गर्दा निर्माण समिति र पूर्व मेचीदेखि महाकालीसम्मका सम्पूर्ण श्रद्धालू भक्त हानुभावहरुको सहयोग एवम् नगरवासीहरुको विशेष सद्भावका साथै धेरै भक्त महानुभावले कोठा निर्माणार्थ सहयोग गर्ने क्रममा पटक पटक कोठा निर्माण गर्दै त्यस नव निर्माणमा ज्यान दिलका साथ समर्पित भइ कोठा निर्माणको सहयोग गर्ने धनलक्ष्मी आमाजी पनि एक विशेष पात्र हुन् । उनको अप्रत्यासित वैकुण्ठवासले सबै मन्दिर परिवारलाई अत्यन्त दुःखी तुल्याउनुका साथै एक सच्चा अभिभावक गुमाएको अनुभव भएको छ ।

वैदिक धर्म अन्तर्गत वैष्णव :

वैदिक सनातन धर्मअन्तर्गत वैष्णव सिद्धान्त सर्वश्रेष्ठ अनुपम् शरणागति भक्तिमार्ग हो भन्ने कुरा सम्पूर्ण वेद, पुराण, उपनिषद्ले प्रमाणित गरेको विषय हो । ‘सर्वेषामेव धर्माणामुक्तमो वैष्णवो मतः’ भन्ने भनाइले पनि स्पष्ट हुन्छ । आचार प्रवभो धर्मः भन्ने अनुसार सदाचारलाई र भगवत भक्तिलाई प्रदानता दिने भएकै कारणले यसलाई आचारिय परम्परा एवम् यस सम्प्रदायका गुरु जनहरुलाई आचार्य भनिने पनि भारतदेखि नेपालसम्म प्रसिद्ध छ । यसलाई निवृत्ति मार्ग या मोक्षमार्ग पनि भन्न सकिन्छ ।

(लेखक चितवनको क्षेत्रपुर स्थित शेषनारायण मन्दिरका मठाधीश हुन् । )

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.