विचार/ब्लग

विश्व वातावरण दिवसः मेरो भरतपुर,मेरो बगैँचा

Banner

विजय सुवेदी

२१ औ शताब्दीमा विश्व प्रविधिको विकास मार्फत् साँघुरो घेरामा छ । दिन प्रतिदिन बढ्दो विकास र प्रविधिले मानविय जीवनयापनको शैलीलाई परिवर्तन गर्दै गइरहेको छ । विकासले प्राकृतिक भन्दा अप्राकृतिक जीपनयापन गर्नेको जमात बढ्दो छ । यसले मानिसको जीवन प्रकृतिदेखि प्रतिकुल बन्दै गइरहेको देखिन्छ । यसले पृथ्वीको तापक्रम वृद्धि, वायु प्रदूषण, रोगव्यादी एवम् प्राकृतिक विपत्तिका घटनाहरु बढ्दै गइरहेका छन् । यसबाट मानिसको स्वास्थ्य एवम् जीवनमा नकारात्मक प्रभाव परिरहेको छ । यो क्रम बढ्दै जाँदा कुनै समय मानिस एवम् जीवजन्तुको अस्तित्व नै संकटमा पर्ने खतरा छ ।

अहिलेदखि नै सोचेर प्रकृति अनुकुलको वातावरण र मानिसको जीवनयापनलाई प्रकृति अनुकुल ढाल्न आवश्यक छ । प्रकृति, जीवन र संस्कति एक अर्कामा अनोन्याश्रित छन् । मानिसको सुखी जीवनका लागि यी तीन कुराको समन्वय अपरिहार्य छ । मानिसले आफ्नो भौतिक अविलाशाहरु पूरा गर्नका लागि जंगल फडानी, नदीजन्य वस्तुको दोहन, प्राकृतिक स्रोतलाई ख्याल नगरी डोजर लगाउने प्रवृत्ति व्यप्त छ । वायु एवम् खोला नाला प्रदूषित छन् भने जंगलहरु विनाश हुने क्रम रोकिएको छैन । रासायनिक विषादीको प्रयोगले जलचर, थलचर प्राणीको बासस्थान संकटमा परिरहेको छ । यसले मानिसको स्वास्थ्यमा थप प्रतिकुल प्रभाव पारिरहेको छ । समग्रमा जमिन मानिस र प्राणी बसोबासका लागि अस्वस्थकर बन्दै गइरहेको छ । गाँउमा खेतीयोग्य जमिन बाँझो छ भने शहर कंक्रिटका घरहरुले भरिएका छन् । यकातर्फ वातावरण बिग्रिएको छ भने अर्कातर्फ खाद्यान्न अभाव हुँदै गइरहेको छ । जसका कारण कृषिप्रधान देश खाद्यान्नमा अन्य देशमा पूर्ण निर्भर बन्नुपर्ने अवस्था छ ।

वातावरणलाई अनुकुल बनाई प्राकृतिक जीवनयापनका लागि व्यक्ति स्वयम् एवम् घरबाट नै पहल थाल्न आवश्यक छ । प्रत्येक मानिसको जीवनयापनको शैलीमा परिवर्तन नल्याई मानिसले उपयोग गर्ने खालको वतावरण बनाउन सकिँदैन । यसको सुरुवात हामीले आफैबाट घर, टोल एवम् आफू बसेको बस्तीबाट अभियान सञ्चालन गर्नुपर्छ । यसैका लागि ‘मेरो घर मेरो बगैँचा, मेरो भरतपुर, मेरो बगैचा’ को अभियानलाई अघि सारिएको छ । यो अभियान मार्फत् घरघरमा फोहोरमैला ब्यवस्थापन गरी कुहिने फोहोरबाट बोट बिरुवाका लागि मल र खाना पकाउनका ग्याँस, नकुहिने ठोस फोहोरको प्रत्येक टोलमा स्रोत केन्द्र बनाई व्यवस्थित संकलन र पुनः प्रयोग, घरबाट निस्कने अशुद्ध पानी पोखरीमा जम्मा गरी सुद्धिकरण गर्ने र यसलाई करेसाबारी तथा कौसीखेतीमा प्रयोग गर्न सकिन्छ । घरघरमा, सडकका दुवै क्षेत्र तथा खाली सार्वजनिक जमिनमा फलफूलका विरुवाहरु हुर्काएर दश वर्षभित्र भरतपुरलाई सफा, हरियाली र जताततै मौंसम अनुसारका फलफूलरु लटरम्म फलिरहेको बगैचाका रुपमा रुपान्तरण गर्न सकिन्छ ।
फोहोर मैला व्यवस्थापन पछिल्लो समय चुनौतीको रुपमा खडा भएको छ । शहरी क्षेत्रमा जताततै फोहोर, खोलानालाहरु सबै प्रदूषित तथा वातावरण अस्वस्थकर छ । भरतपुर घना शहरी क्षेत्रको रुपमा विकास हुँदैछ । भविष्यमा भरतपुरलाई स्वस्थ्य राख्न अहिलेदेखि सरसफाइका योजना ल्याएर काम गर्नुपर्ने आवश्यकता छ ।

फोहोरको पहिलो स्रोत ब्यक्ति एवम् घर हो । तरल फोहोर निस्किएर ढल हुँदै खोलानालामा पुग्ने गर्दछ । ठोस फोहोरको रुपमा प्रत्यक घरबाट निस्कने कुहिने फोहोरलाई कम्पोष्ट मल बनाइ तरकारी फलाउन सकिन्छ भने नकुहिने फोहोरहरु विभिन्न सामान बनाउने कच्चा पदार्थका रुपमा प्रयोगमा ल्याउन सकिन्छ । घरबाट निस्कने तरल फोहोरलाई जलकुम्भी झार, बालुबालगायतको च्याम्बर बनाएर शुद्धिकरण गर्न सकिन्छ र यसरी शुद्धिकरण भएको पानी बोट विरुवामा राख्न सकिन्छ । यसरी प्रयोगभै बढी भएको सफा पानी ढलमा जाने ब्यवस्था गरेमा खोला नालाहरु प्रदूषित हुनबाट रोक्न सकिन्छ । स्वच्छ भरतपुरको परिकल्पनालाई वृहत् दृष्टिले मात्र होइन व्यक्ति,घर र टोललाई जिम्मेबार बनाउनेगरी योजना बनाएर मात्र पूरा गर्न सकिन्छ ।

शहरी क्षेत्रमा आफूसँग भएको जमिनमा करेसाबारी र जमिन नभए छत अथवा कौसीमा तरकारी खेती गरी आफ्नो घरलाई चाहिने अर्गानिक सफा, स्वस्थ्यकर तरकारी उत्पादन गर्न सकिन्छ । तरकारी उत्पादनमा आफ्नो घरको खाली जमिन, घरमै निस्कने कुहिने फोहोर पदार्थबाट मल र खेरा गइरहेको पानीलाई प्रयोग गरि तरकारी उत्पादन गर्न सकिन्छ । तरकारी उत्पादनमा प्लाष्टिकको ब्याग, नरिवलको जटा र प्राङगारिक मल तथा थोपा सिंचाई प्रयोग गरेर उत्पादनलाई सहज बनाउन सकिन्छ ।

भरतपुर शहरी विकासको प्रारम्भिक चरणमा छ । शहरी क्षेत्रमा ठूला÷ठूला घरहरु बन्दैजाँदा शहर कंक्रिटको जंगल जस्तै बन्ने खतरा छ । शहरलाई बसोबास योग्य बनाउन आवश्यक पूर्वाधारहरु बनाउन मिल्नेगरी भू–उपयोगको आधारमा जमिनको व्यवस्थापन गर्नुपर्दछ । प्रत्येक घरघरमा सडकका दुवैतिर, सार्वजनिक सबै जमिनमा फलफूलका विरुवाहरु लगाएर भरतपुरलाई मौसम अनुसारका फलफूलहरु लटरम्म फलिरहने मनमोहक शहरको रुपमा विकास गर्न सकिन्छ ।
भरतपुरका शहरी क्षेत्रका घरहरुमा रहेका थोरै÷थोरै जमिनको क्षेत्रफल अनुसारका फलफूलका विरुवाहरु लगाई घरमा आवश्यक फलफूलको आवश्यकतालाई पूर्ति गर्न सकिन्छ । फलफूलका विरुवाहरु लगाउँदा घरमा सम्बन्धित घर परिवार तथा सडक र सार्वजनिक जमिनमा एक ब्यक्ति एक विरुवाका दरले लगाउने र हुर्काउने जिम्मेवारी बाँडफाँड गर्नुपर्छ । यी विरुवाहरुलाई थोपा सिंचाइका माध्यमबाट हुर्काउन सकिन्छ ।

हामी सबैलाई इच्छा छ कि आफ्नो घर, आफ्नो बसोबास स्थल, आफ्नो टोल, आफ्नो बस्ती सफा हरियाली, मनमोहक, सुरक्षित, जीवनयापनका लागि आवश्यक सबै पूर्वाधारहरु भएको, छिमेकीहरु बीच एकआपसमा आत्मिय सम्बन्ध भएको खुसियाली स्थान होस् । के हामी सबैको इच्छाशक्ति भयो भने यस्तै घर, टोल र समाज बनाउन सक्दैनौं र ? अवश्य सकिन्छ, तर यसका लागि हामी प्रत्यक स्वयम् प्रयत्नशील हुनुपर्छ । पानीको डुबान नभएको, जंगली जनावरको प्रभाव नपर्ने, भूकम्प प्रतिरोधी घर, फराकिलो ढल निकाससहितको सडक, विद्युत्, खानेपानी, टेलिफोनलगायत पूर्वाधार , विद्यालय, खेलमैदान, सामुदायिक सभाहल, पानीका तलाउहरु एवम् पार्कहरु तथा जताततै हरियाली फूलहरु ढकमक्क फुलिरहेका रमणीय बस्ती बसोबासका लागि आवश्यक छ । हामी सबैले सामूहिक प्रयत्न गर्ने हो भने हाम्रो क्षेत्रलाई बसोबास योग्य बनाउन सक्दछौं । यसका लागि प्रथमत प्रत्येक घर र टोलको म्यापिङ हुनु आवश्यक छ । आफ्नो घरमा कति जमिन छ ? उक्त जमिनमा करेसाबारी कहाँ कति जग्गामा र फलफूल कुनकुन ठाउँमा के जातका लगाउन सकिन्छ । घरको छत कौसीलगायतमा कति गमला राख्ने र कुनकुन तरकारी लगाउने र घरमा तरकारी एवंम फलफूलको नर्सरी कहाँ राख्ने ? घरबाट निस्कने सड्ने फोहोरलाई कम्पोष्ट मल र फोहोर पानीको सुद्धिकरणको च्याम्बर कहाँ बनाउने ? घरपरिवारका सदस्यबीच बोटविरुवा लगाउने र हुर्काउने विषयमा एकआपसमा कामको बाँडफाँड गर्नुपर्छ ।
व्यक्तिको घर र घर परिसर कुनै पनि खाली नराखी बोट बिरुवा भरिभराउ बनाउनुपर्छ । प्रत्येक टोलमा टोलबासीहरुको सहमतिबाट सडकको दुवैतिर फलफूलका रुखहरु हुर्काउन सकिने सडकहरु निर्धारण गरी सम्बन्धित मार्गमा एकै जातको फलफूलका रुखहरु हुर्काउने जसबाट उक्त मार्गको परिचय बन्न सकोस् । उक्त मार्गमा कति बिरुवा क–कस्ले जिम्मेवारी लिएर लगाउने कार्य विभाजन गरी जिम्मेबारी दिने र तोकिएको समयमा तोकिएको प्रविधिबाट बिरुवा लगाउने ब्यवस्था टोलले मिलाउनु पर्दछ । प्रत्यक टोलमा सार्वजनिक जमिनको खोजीगरि वा सबै टोलबासी मिलेर लिजमा लिएर सार्वजनिक पार्कको निर्माण गर्न सके टोलबासीहरु सबै एकै स्थानमा जम्मा हुन सकिन्छ । उक्त सार्वजनिक ठाँउमा मनमोहक पार्क, बहुमूल्य जातका बोटबिरुवाहरु तथा भविष्यमा पौडी पोेखरीहरुको व्यवस्था गर्न सके बस्ती अझै सुन्दर र मनमोहक हुनेछ ।

जहाँ शहरिकरणले खेतीयोग्य जमीनको क्षेत्रफल बढाउन सम्भव छैन, त्यहाँ यस्ता प्रविधिहरुको विकास गर्न जरुरी छ । उक्त प्रविधिको सहायता लिई सिमित जमिनबाट बढीभन्दा बढी उत्पादन लिँदै बढ्दो जनसंख्याको खाद्यान्न आवश्यकताको पूर्ति गर्न र जनताको पोषणको अवस्थामा सुधार ल्याउन सकियोस् । सामान्यतया कृषिको प्रसंग आउँदा ग्रामीण क्षेत्रतर्फ मात्र ध्यान दिने गरिन्छ । तर, वास्तविकता के छ भने मुलुकका ठूला साना सबै खाले शहरहरुमा निर्मित घरहरुमा उपलब्ध खाली जमिनको उपयोग गरेर तथा घरको छत र कौसीहरु समेतको उपयोग गरेर परिवारलाई आवश्यक तरकारी तथा फलफूलको उत्पादन गर्न सकिन्छ । यससँगै शुद्ध र सुरक्षित फलफूल तरकारीको उपभोग गरी पोषणको अवस्थामा सुधार गर्न सकिनुका साथै दिनहुँ महंगो फलफूल र तरकारी बजारबाट खरिद गर्दा हुने खर्च बचत गरी आम्दानीमा समेत वृद्धि गर्न सकिन्छ ।

बढ्दो शहरीकरणले भित्राउने अर्को समस्या भनेको वायु प्रदूषण र शहरी फोहोरमैलाको उत्सर्जन र त्यसको जटील ब्यवस्थापनको पक्ष हो । शहरकेन्द्रित खेती विशेषगरी बागबानीजन्य फलफूल र तरकारीको खेती विस्तार गरी घर–घरबाट उत्सर्जन हुने फोहोरलाई घरभित्रै ब्यवस्थापन गरी पुर्नउपयोग गर्न सकेमा शहरी प्रदुषणलाई कम गर्न र फोहोरमैला व्यवस्थापनलाई समेत सहयोग गर्न सकिन्छ । शहरकेन्द्रित खेती खाद्य सुरक्षाको दृष्टिले मात्र नभई आयआर्जन, सामाजिक र वातावरणीय स्वच्छताको दृष्टिले समेत महत्वपूर्ण छ । साथै यो शहरी क्षेत्रको तापक्रम र कार्बन उत्सर्जनलाई समेत घटाउने सन्दर्भमा जलवायु परिवर्तनको अनुकूलनको दृष्टिले समेत महत्वपूर्ण छ ।

बढ्दो जनसंख्या र शहरीकरणसँगै भरतपुर महानगरपालिकाको खेतीयोग्य जमीन र हरिया फाँटहरु घर र अन्य भौतिक संरचनाले विस्थापित हुँदैछन् । शहरी क्षेत्रहरुमा खेतीयोग्य जमिनको कमी हुँदै गइरहेको अवस्थामा घरको कौसी, बरण्डा, छत तथा घर पछाडिको खाली जमिनमा गरिने खेती हिजोआज निकै लोकप्रिय हुँदै गएको छ । शहरी जनजीवन निक्कै नैराश्यताले भरिने, मानिसहरुको कार्यव्यस्तताका कारण प्रकृतिबाट टाढिँदै गइरहेको अहिलेको अवस्थामा कौशीको खेती वा करेसाबारीले घरमा हरियाली थप्ने काम गर्दछ भने गर्मीको बेलामा घरको तापक्रमलाई कम अनि जाडोका बेलामा न्यानो बनाइराख्ने विश्वास गरिएको छ । यससम्बन्धी भएका अध्ययनहरुले कौशी तथा करेसाबारी खेतीले जलवायु परिवर्तनबाट पार्ने नकारात्मक असरसँग जुध्न समेत मद्दत गर्ने देखाएको छ । भान्छाबाट दिनहुँ धेरै किसिमका फोहोर निस्कन्छ । ठूलो मात्रामा दैनिक निस्किने फोहोर आफ्नो घरमै कुहाएर त्यसको मल बनाउने हो भने फोहोर व्यवस्थापनका लागि महानगरले ठूलो रकम खर्च गर्नु पर्दैन । अर्कोतर्फ घरबाहिर छताछुल्ल रुपमा फोहर फाल्नु नपर्ने भएपछि रोगब्याध फैलने डरबाट पनि मुक्त हुन सकिन्छ । शहरमा घरका छत तथा वरण्डाहरुमा हरीयाली हुँदा वातावरणको सँरक्षणका साथै शहरी सुन्दरतामा स्वतह वृद्धि हुनेछ ।

अन्त्यमा, भरतपुर महानगरपालिकामा पर्ने चितवन निर्वाचन क्षेत्र नंं २ (२) का वडाहरुका मुख्य शहरी इलाकालाई उत्पादनमा जोड्दै बसोबास योग्य बनाउने योजना बमोजिम ‘मेरो घर मेरो बगैँचा’ कार्यक्रमको परिकल्पना गरिएको छ । यसबाट सफा, हरियाली र स्वच्छ वातावरण निर्माण गर्दै भरतपुरलाई बसोबास योग्य मनोरम सुन्दर सहरको रुपमा विकास गर्न सकिन्छ ।

(सुवेदी चितवनबाट निर्वाचित प्रदेश सांसद तथा सामाजिक अभियन्ता हुन् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>