चितवन विशेष

माडीमा सामूहिक खेतीका लागि चक्लाबन्दी तीब्र, मन्त्री लामाद्धारा निरिक्षण

Banner

चितवन,जेठ २०-

चितवनको माडीमा सुरु गर्न लागिएको सामूहिक खेतीका लागि चक्लाबन्दीको काम तीब्र पारिएको छ । चितवनमा पहिलोपटक शुरु गर्न लागिएको उक्त खेतीका लागि माडी नगरपालिका–८ कान्तिपुरमा सूर्याेदय सहकारी संस्था मार्फत किसानको लालपुर्जा सङ्कलन गरी चक्लाबन्दी गरिएको हो ।

एकसय नब्बे बिघा जग्गामध्ये पहिलो चरणमा १०० बिघामा सामूहिक खेती शुरु गर्न लागिएको हो । जमीनलाई चक्लाबन्दी गरी आवश्यक सिँचाइ, मल तथा बीउ व्यवस्थापन गरी कम्तीमा पनि तीन बाली उत्पादन गर्ने योजना प्रादेशिक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ल्याएको हो ।

आज (सोमबार) चक्लाबन्दीको प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले निरिक्षण गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री लामाले माडीलाई कृषिमा अव्बल बनाउन सामूहिक खेती शुरु गरिएको जानकारी दिए । उनले कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमीनलाई एकीकृत गरी सामूहिक खेती गर्न लागिएको बताए । घटदो कृषियोग्य जमीन बढ्दो जनसंङख्या र एकल परिवारको प्रचलनले जमीन खण्डित भएर खेती गर्न कठिन भएकाले छरिएर रहेका जमीनलाई एकीकृत गरी उत्पादन वृद्धि गर्ने योजना रहेको मन्त्री लामाको भनाइ थियो ।

“बाँझो जग्गामा सहकारीको माध्यमबाट सामूहिक खेती गर्दै किसानको आर्थिक अवस्था उकास्ने योजना हो”, उनले भने, “यसले जग्गा बाँझो रहने परम्परा अन्त्य हुने र माडीको कार्यक्रम सफल बनाएर अन्य क्षेत्रमा पनि यसलाई विस्तार गरिने योजना छ ।”

नगरपालिकासँग सहकार्य गरेर सामूहिक खेतीका लागि आवश्यक बजेट र उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै मन्त्री लामाले भने,“सामूहिक खेतीका लागि आवश्यक बिजुली, कृषि सडक र सिँचाइको समेत व्यवस्था गर्छौँ ।” सामूहिक खेतीसँगै माडीमा गाई, बाख्रा पालेर प्राङ्गारिक खेती गर्न सकिने जनाइएको छ । मन्त्री लामा सुरुवातमा उत्पादन कम भयो भनेर हतोस्साही नहुन पनि किसानलाई मन्त्री लामाले आग्रह गरे । उनले सामूहिक खेती मार्फत माडीको कान्तिपुरले सबैलाई उदाहरण प्रस्तुत गर्नुपर्ने बताए ।

परिणाम देखिने काममा मात्र प्रदेश सरकारले सहयोग गर्ने र अनुदान खाने नाममा माछापोखरी खन्ने प्रवृत्ति अन्त्य हुने भएकाले सामूहिक खेतीमार्फत माडीलाई कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताइएको छ ।

कान्तिपुरमा सामूहिक कृषिखेती र अन्य क्षेत्रमा सामूहिक माछाखेतीका लागि तयारी गरिएको छ । पाँचसय साठी बिघा जमीनमा माछाखेती हुँदै आएको माडीमा ७०० बिघा जमीनमा समूहिक माछाखेतीका लागि तयारी गरिएको छ ।
माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले जमीनको खण्डिकरणले किसानको जोश र जाँगर हराउँदै गइरहेको अवस्थामा सामूहिक खतीले उत्साह जगाउने बताइन् । बाँझो जमीनलाई खेतीयोग्य जमीनको रुपमा परिणत गर्न यो अभियान प्रभावकारी हुने जानकारी दिँदै उनले राम्रो कामको विरोध हुने भए पनि सामूहिक खेती गर्न खोज्ने किसानलाई ढुक्कसँग लाग्न आग्रह गरिन् ।

सूर्याेदय सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलले सामूहिक खेतीका लागि शुरुमा किसानलाई मनाउन धौधौ भए पनि विस्तारै उनीहरूले बुझ्दै गएका र सबैको सहयोगबाट सामूहिक खेती अभियान सफल हुने बताए । चारवटा डोजरको माध्यमबाट जमिन सम्याएरे यसवर्ष धान रोप्न मिल्नेगरी काम भइरहेको उनले जानकारी दिए ।

सामूहिक खेतीका लागि उक्त मन्त्रालयले तत्कालका लागि रु २५ लाख उपलब्ध गराएको छ भने आवश्यक उपकरण खरीदका लागि पनि सहयोग गरेको छ । छयासी घरधुरी रहेको कान्तिपुरमा अधिकांश दलित र त्यसमा पनि गन्दर्भ समुदायको बसोबास छ । करीब ४० हजार जनसङ्ख्या बसोबास गर्दै आएको माडीको विकासको आधार कृषि र पर्यटन हो । चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न खहरे खोलाबाट पीडित माडीवासीले दीर्घकालीन रुपमा यसको समाधान खोजेर कृषि उत्पादन बढाउन सकिने बताउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>