इच्छकामना

चितवनमा तार टाँगेको पाँच वर्षमा पनि बत्ती बलेन

Banner

चितवन, जेठ २०–

चितवन सुगम जिल्लाको रुपमा परिचित छ । तर यही सुगम जिल्लाका बासिन्दा अझै पनि उज्योलामा बस्न पाएका छैनन् । धादिङको जोगिमारा हुँदै चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीबाङ पुग्नु पर्छ ।

यही ठाउँमा बिजुलीको पोल गाडेर तार टाँगिएको पाँच वर्ष बितिसक्दा पनि स्थानीयले बत्तीको उज्योलो देख्न पाएका छैनन् । हात्तीबाङ काउलेमा बिजुली बाल्नका लागि पोल गाडिएको छ । पोलमा तार समेत टाँगिएको छ । तर बत्ती भने बलेको छैन ।

बत्ती बाल्न ल्याइएको ट्रान्समिटर बाटो छेउमा थन्काइएको छ । कतिपय पोल ढलेका छन् भने तार चुडिएको छ । यही पोल र तार हेरेर बिजुलीको आशमा बसिरहेका छन् हात्तीबाङका बासिन्दा ।

स्थानीय मानबहादुर मगर भन्छन्, –“बिजुली आउँछ आउँछ मात्रै भन्छन्, अहिलेसम्म बत्तीको उज्यालो देख्न पाएका छैनौँ ।” उनले अगाडि थपे, –“झिनो आश बाँकी छ, अब हेरौँ के गर्छन् ।” सानो पसल राखेर व्यापार गर्दै आइरहेका मानबहादुरको घर अगाडि बाटोको छेउमै ट्रान्समिटर फालिएको छ । सो बाटो भएर हिँड्ने जोकोहीले सोही ट्रान्समिटर हेर्दै बिजुलीको आश गरिरहेका छन् ।

विसं. २०७० सालमा विद्युत विस्तार समिति बनेर यहाँ बिजुली बाल्नका लागि कामको सुरुआत भयो । त्यस लगत्तै प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले संसद विकास कोषबाट प्रदान गरेको १५ लाख रुपैयाँमा पोल गाडिएको थियो । त्यसको एकवर्ष पछि सांसद विकास कोष मार्फत नै थप २० लाख रुपैयाँ बजेट मार्फत विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रबाट तार समेत जोडियो ।

तार र पोल राख्ने सबै काम टाँडीले नै ग¥यो तर बिजुली बाल्ने काम भने गरेन । भौगोलिक हिसाबले धादिङसँग जोडिएको यस क्षेत्रमा रत्ननगरले प्राविधिक कारण देखाउँदै विद्युत् जोड्न इच्छा देखाएन । धादिङ कार्यालयबाट बत्ती जोड्न माग गर्दा उसले पनि विभिन्न कारण देखाउँदै अल्झाएपछि बत्ती बाल्न समस्या भएको हो ।

इच्छाकामना गाउँपालिका वडा नं.१ का अध्यक्ष नन्दलाल गिरीले धेरै प्रयास गर्दा पनि विभिन्न कारणले बत्ती बाल्न नसकिएको स्वीकार गरे । उनले भने, –‘हामी अझै पनि बत्ती बाल्न प्रयास गरिरहेका छौँ, धादिङ र टाँडीको खिचातानीले समस्या भयो ।’ वि.सं. २०७० सालमा विद्युत विस्तार समिति बन्दा गिरी नै यसको अगुवा थिए ।

त्यसले पनि उनलाई बढी पिरोलेको छ । अध्यक्ष गिरीले भने, –‘विद्युत बाल्नुपर्छ भनेर मै लागेको हुँ, तर भौगोलिक समस्याले धादिङ र टाँडीको चेपुवामा परेका छौँ ।” उनले यो समस्या समाधान गर्न मन्त्रालयसम्म पुग्दा पनि समाधान गर्न नसकिएको बताए । यस गाउँमा अहिले बाटोघाटो निर्माणले तीव्रता पाइरहको छ ।

बत्तीको समस्या अझै समाधान नहुँदा स्थानीले विकासको महसुस गर्न सकेका छैनन् । बत्ती नहुँदा उनीहरु सौर्य बत्ती र टुकीको भरमा बसिरहेका छन् । बत्ती नहुँदा बालबच्चालाई पढाउनदेखि विभिन्न समस्याहरु रहेको स्थानीय बताउँछन् ।

स्थानीय भीमबहादुर चेपाङले बत्ती नहुँदा बच्चाहरुला पढाउन समस्या भइरहेको बताए । उनले भने, –“बल्ल बल्ल छोराछोरी पढ्न जान थालेका छन्, बत्ती नहुँदा बेलुका घरमा पढाउनै समस्या छ ।” उनलाई अझै पनि बत्ती आउनेमा आशंका नै छ । चेपाङ भने, –“बत्तीको कुरा चुनावमा मात्रै आउँछ, अरु बेला कसैलाई मतलब छैन ।”

धादिङको रोराङ गाउँपालिका–१० कालपान भन्ने ठाउँबाट हात्तीबाङमा बिजुली बाल्न सकिने अवस्था छ । तर ठोस पहल हुनु जरुरी छ । सहज रुपमा बत्ती पु¥याउन सकेमा हात्तीबाङ र मेर्ताङका तीन सय घरधुरी उज्यालोमा बस्न पाउने थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>