चितवन विशेष

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई चितवनबाट किन उठेन पर्याप्त सहयोग ?

Banner

मधुसूदन दवाडी-

धुर्मुस–सुन्तली फाउण्डेसको अग्रसरतामा चितवनको रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलको जस्ताको बारलाई डोजर लगाएर भत्काएपछि फेरि चितवन जिल्ला चर्चामा छ । कहिले राजनीतिकरुपमा त कहिले कुनै विषयमा चितवन राष्ट्रिय तथा स्थानीय मिडियाको लागि हटकेक बनिरहेको छ । रंगशाला बनाउने निर्णय चितवनमा भएदेखि नै यो विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा अनलाइन तथा सामाजिक सञ्जालहरुमा विभिन्न चर्चापरिचर्चा पाएको थियो ।

गौंतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका हरेक विषय र गतिविधि मानिसको चासो र चर्चाको विषय बन्यो । एकाथरीले यस्तो रंगशाला पनि सरकारले बनाउन नसकी धुर्मुस–सुन्तली फाउण्डेसनलाई दिनु लाजमर्दाे विषय हो भन्ने आरोप लगाए । त्यस्तै कसैले सरकारले गर्न नसकेको काम तिमीले गर्न लाग्यौं भनेर धुर्मुस र सुन्तलीलाई बधाई दिए । चितवनको भूमिमा यसरी अन्तर्राष्ट्रिय तहको रंगशाला बन्नु सबैको लागि गौरबको विषय थियो । रंगशाला बन्ने हल्लाले पश्चिम चितवन क्षेत्रमा चहलपहल बढ्यो, जग्गाको मूल्य त्यस क्षेत्रमा आकाशियो । चितवन आसपासका सबै जना खुसी भए । विश्वभरका खेलाडीहरु चितवन आउने खेल्ने चहलपहल बढ्ने आशाले चितवनका सबै नागरिकहरु उत्साहित भए । तर बिडम्बना रंगशाला निर्माणस्थलको बार डोजरले भत्काइदिँदा चितवनको फेरि प्रतिष्ठामा दाग लाग्यो । रंगशाला बनाउँछु भनेर आएका धुर्मुस मिडियाको अगाडि सारै नरमाइलोसँग रोए भने सुन्तलीले पनि आक्रोशपूर्ण अभिव्यक्ति दिइन् । पक्ष र बिपक्षमा फेरि सामाजिक सञ्जालमा बहस हुन थाल्यो । यस घटनामा स्थानीय प्रशासनले सुरक्षा दिन नसकेको भन्ने आरोप पनि लाग्यो । महानगरले पनि स्थानीय बाटोको समस्या समाधानमा पहल नगरेको विषय पनि उठ्यो । यो विषय सामाजिक सञ्जालमा भाइरल बन्यो ।

धुर्मुसले चितवनबाट गएका आम नागरिकहरुको सभालाई सम्बोधन गर्दै चितवनका नागरिकलाई सहयोगको लागि अपिल गरे । उनले सोचेअनुसार चितवनबाट आर्थिक सहयोग नआएको संकेत पनि गरे । उनले भने, ‘ चितवनबाट दुई करोड ५० लाख बढी सहयोगको आश्वासन पाए पनि जम्मा १६ लाख रुपैयाँ मात्र पैसा उठेको छ । ’ उनले बाँकी रकम प्राप्त नभएको बताए । उनले आफू र कामदारको सुरक्षाको प्रत्याभूति बारम्बार हुनुपर्ने कुरा पनि सभामा राखे । अन्य ठाउँबाट अपेक्षित सहयोग नउठे पनि चितवनबासीले नै रंगशाला बनाउँछौं भन्ने हिम्मत गर्न सबैमा आव्हान पनि गरेका थिए ।
के होलान् तर चितवनबाट अपेक्षित रकम उठ्न नसक्नुका कारणहरु भन्ने बारेमा यस लेखमा केही विश्लेषण गर्ने प्रयास गरिएको छ । यस्ता हुन सक्छन् प्रमुख पाँच कारण ः

क्रिकेट खेलबारे नागरिकको बुझाइ कम ः

विश्वप्रसिद्ध चिन्तक जर्ज बनार्ड शाहाले भनेका थिए, ‘क्रिकेट मुर्खहरु खेल्छन् र मुर्खहरु हेर्छन् ।’ उनले यो भनाइमा क्रिकेटका लामा श्रृखंला र खेलहरुमा समयको खासै महत्व नै नहुने भन्दै यसो भनेका थिए । कयौं वर्ष अगाडि यसो भने पनि अहिले क्रिकेट नेपाललगायत विश्वभरनै युवाहरुको माझमा लोकप्रिय भइसकेको छ । तर, अझै चितवनका आमसर्वसाधारणे यसलाई बुझ्न सकेका छैनन् । चितवनमा अझै क्रिकेट खेललाई नबुझ्ने ठूलो जमात छ ।

यद्यपि चितवनबाटै क्रिकेट खेल सिकेका सन्दिप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा आफ्नो छवी बलियो बनाइसकेका छन् । खेल धेरै अघिदेखि खेलिए पनि स्थानीयस्तरमा खेल्न थालिएको धेरै वर्ष भएको छैन । जति चितवनमा फुटबल प्रत्येक बालकदेखि वृद्धसम्म लोकप्रिय छ त्यती क्रिकेट सबै उमेर समूहलाई छैन । जसरी विश्वकप फुटबलमा चितवनमा क्रेज देखिन्छ त्यति क्रिकेटको विश्वस्तरीय खेलहरुमा देखिँदैन । बुझ्दै नबुझेको खेलको लागि सर्वसाधारण पैसा दिन लालायित भएनन् । यो कुराप्रति कसैले बिमती राख्छ भने घरमा बुबा, आमा, हजुरबुबालाई सोधे हुन्छ धेरैलाई क्रिकेटको बारेमा थाहा नै छैन ।

क्रिकेटको क्रेज काठमाडौँमा जति छ त्यती चितवनमा छैन । त्यसैले ईश्वरको नाममा पुराण, धार्मिक अनुष्ठानमा जति दिल खोलेर पैसा दिइरहेका छन् त्यती क्रिकेट रंगशालालाई दिएका छैनन् । चितवनकै तथ्यांक हेर्दा गणेश धाम निर्माणमा १० करोड बढी संकलन भयो तर रंगशालामा दुई करोड ७५ लाख जति बोलियो मात्र तर १६ लाख मात्र उठ्यो । धर्मप्रतिको आस्था बढी र खेलप्रतिको आकर्षण कम भएकोले यस्तो भएको बुझ्न सकिन्छ । यसबारे बुझाउनेको पनि कमी देखिन्छ ।

अन्तर्राष्ट्रिय रंगशालाको महत्व नबुझ्नु

चितवनमा भैसी चर्ने मैदानमा विभिन्न खेल र महोत्सवहरु हुने गर्छन् । अहिलेसम्म चितवनमा कुनै रंगशाला छैन । रंगशालामा काठमाडौँ वा विदेशमा खेल हेरेका र खेल खेलेका चितवनका युवाहरु देखि बाहेक अन्य सर्वसाधारणलाई रंगशालाको महत्वबारे खासै थाह छैन । रामपुर वरिपरीकै कयौं सर्वसाधारणलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला आफ्नो क्षेत्रमा बन्दा के हुन्छ भन्ने अझै थाहा रहेनछ । डोजर प्रकरणपछि स्थानीयले दिएका अभिव्यक्तिबाट पनि त्यो स्पष्ट हुन्छ । भविष्यको पुस्ताको लागि के कस्ता सम्भावनाहरु हुन्छन् भन्ने भन्दा पनि सबैले क्षणिक फाइदा खोजिरहेका छन् । कोही जग्गाको मूल्य बढ्यो भनेर मख्ख छन् भने कोही भोलि आफ्नो घरघडेरी उठ्ने हो कि भन्ने चिन्तामा छन् । तर, यसको निर्माणपछि चितवनको पर्यटन, मानिसहरुको चहलपहल र आर्थिक गतिविधिमा कस्तो असर पर्छ भन्ने धेरैको स्पष्ट बुझाइ पुग्न सकेको छैन । पढेका, बुझेका र खेलप्रेमीका लागि यो जिल्लाको लागि एउटा अवसर बनेको छ भने निरक्षर नागरिकको लागि यो एउटा हाउगुजी बनिरहेको छ । जसकै लागि पनि खुलेर आर्थिक सहयोग गर्नमा अलमल देखिन्छ ।

सरकारको मुख ताक्ने प्रवृत्ति र सहयोग अभियान कमजोर

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको आफ्नै निर्वाचन क्षेत्र पनि हो । अहिले उनको पार्टी दुई तिहाई बहुमतसहित सरकारमा छ । रंगशाला चितवनमा बनाउने निर्णय गराउने र जग्गाको व्यवस्था गर्ने विषयमा ठूलो योगदान प्रचण्डको नै छ । अहिले देशको राजनीतिको शक्ति र सत्ताको केन्द्रमा प्रचण्ड छन् । उनकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छन् । देशमा विकास र समृद्धिको नारा लगातार घन्किएकै छ जसले गर्दा पनि अझै चितवनका अधिकांश नागरिकहरु रंगशाला बन्नु सरकार र महानगरका लागि पनि प्रतिष्ठाको विषय भएकोले यसमा सरकारले नै सहयोग गर्नुपर्छ र सरकारले नै आर्थिक सहयोग गर्नुपर्छ भन्ने पक्षमा देखिन्छन् । नागरिकका सामाजिक सञ्जालमा उठेका प्रश्न र प्रतिक्रियाले पनि त्यस विषयलाई पुष्टि गर्छ । ठूला आयोजना बनाउने काम सरकारको नै हो भन्ने मनोभावना कयौं नागरिकमा देखिन्छ । प्रत्येक वडावडामा गठन हुनुपर्ने सहयोग अभियानहरु यहाँ सञ्चालन भएको पाइएन । केही विद्यालयमा अभियान चले पनि अन्य क्षेत्रमा त्यस्तो विशेष अभियान सञ्चालन हुन सकेको छैन ।

लोकप्रियता र स्वामित्वको प्रश्न

नेपालका धेरै सामाजिक तथा धार्मिक कार्यक्रमहरुमा सहयोगका आश्वासनको ओइरो नै लाग्छ तर पैसा उठ्न नसकेका कयौं गुनासाहरु छन् । लोकप्रियताको नाममा वा भावनामा बहकिएर मानिसहरु सहयोगको आश्वासन दिन्छन् । तर तिर्न भने निकै समय लगाउने गरेको वा कयौंले दिने नगरेको धेरै तथ्यांकहरु भेटिन्छ । अर्काेतर्फ रंगशालालाई धेरै सहयोग गर्ने दाताहरुको कुनै पहिचान रंगशालामा रहन्छ कि रहँदैन भन्ने पनि प्रश्न छ ।

आज कसैले दुई करोड रंगशालालाई सहयोग ग¥यो भने उसको आज मिडियामा नाम आयो सकियो । आज भन्दा १०० वर्ष पछाडिको पुस्ताले के उसलाई सम्झन्छन् त के उसको नाम रंगशालाको कुनै शीलालेखमा वा कतै रहन्छ ? यो मूल प्रश्न वा चासो हो । ठूला चन्दादाताले आफ्नो, परिवारको नाम पछिसम्म अजरअमर बनाउन नै सहयोग गर्छन् । धुर्मुस–सुन्तली फाउण्डेसनले उनीहरुको नामलाई रंगशाला प्राङ्गणमा जिवित राख्न के गर्छ त ? यो पनि सबैले जान्न चाहन्छन् । कयौं मन्दिरमा शीलामा वा ताम्रपत्रमा नाम लेखाउनकै लागि हाम्रो समजमा कतिपय आर्थिक सहयोगको ओइरो लाग्ने प्रवृत्ति देखिन्छ ।

काम थाल्ने चटारो

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले चितवनमा निर्माणको काम सुरु गरेको पाँच महिना भइसक्यो । यसले डीपीआरलाई पूरा नगरीकन नै तारबारको काम सुरु गरिहाल्यो । भर्खरैमात्र चितवनमा विभिन्न पेसा र व्यवसायीको तर्फबाट सहयोग जुटाउन विभिन्न समिति र उपसमिति गठन भएको छ । रंगशाला निर्माणको लागि स्थानीय समिति र संयन्त्रहरु काम सुरु गर्नु अगाडि नै गठन गरिनुपर्दथ्यो । स्थानीयसँगको बहस र छलफलमा धुर्मुस र सुन्तली सिधै अगाडि बढ्ने भन्दा पनि स्थानीय उच्चस्तरीय समितिले त्यस्ता समस्याहरु सल्टाउन जरुरी थियो । यस्ता समितिमा धेरै आर्थिक सहयोग जुटाउन सक्ने प्रशिद्ध व्यापारी र समाजसेवीहरुलाई पनि राख्न जरुरी थियो । हास्य कलाकारलाई अभिनय गर्न सजिलो छ तीन अर्बको परियोजनाको सञ्चालन र व्यवस्थापन गर्न त्यत्तिकै गाहे विषय हो । कयौं सरकारले सुरु गरेका परियोजनाहरु त सुरु गर्न वर्षाे लाग्छन् । पैसा उठाएरै गरिने काम सुरु गर्न विशेष योजना र रणनीतिहरु आवश्यक पर्दथ्यो । अर्काेतर्फ फाउण्डेसनले रंगशाला बनेपछि स्थानीयलाई हुने फाइदा र रोजगारीका अवसरबारे पनि जानकारी गराउन जरुरी थियो ।

राजनीतिले जरा गाडेको हाम्रो समाजमा पूरै स्वतन्त्र नागरिक नै भएर काम गर्न निकै गाहे छ अहिले धुर्मुस–सुन्तलीलाई त्यस्तै गाहे परेको हो । कुनै एउटा दलको पक्षमा नलागे पनि सबै राजनीतिक दललाई भने पक्कै साथ लिन जरुरी छ । जसबाट पनि आर्थिक सहयोग जुटाउन सहयोग पुग्ने देखिन्छ । अर्काेतर्फ स्थानीय दलका नेताहरु रंगशालाको बारेमा भाषण त गर्ने तर निरन्तर निर्माण र सहयोग उठाउने कार्यमा भने खटिएको देखिँदैन ।

निष्कर्ष

रंगशालालाई आर्थिक सहयोग गर्ने विषय मानिसको मनोविज्ञानसँग जोडिएको विषय हो । अहिले चितवनमा विभिन्न दलका भातृसंगठनहरुलाई चन्दा दिने प्रकरणदेखि दलाली र कमिसनका खेलहरु पनि त्यत्तिकै फस्टाएका छन् । एक सामान्य सोझो नागरिक धेरै समूह र संस्थालाई चन्दा दिँदादिँदै वाक्क बनिसकेको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले यो मनोविज्ञालाई बुझेर पनि सहयोग उठाउने रणनीति बनाउनु पर्छ । छिटोभन्दा छिटो प्रत्येक नागरिकलाई, सरकारलाई वा विदेशी दातृ निकायलाई गुहारेर भए पनि रंगशालाको निर्माण सम्पन्न भएमा नै चितवनबासीको उचाइ र इज्जत बढ्ने देखिन्छ । सधै नकारात्मक र अपराधिक समाचारमा मात्र चर्चामा आइरहने चितवनलाई रंगशालाको निर्माणले देशभर एउटा सकारात्मक सन्देश प्रवाह गर्नेछ । आशा गरौं, फाउयडेसका आगामी अभियानहरुले धुर्मुसले अपैक्षा गरे बमोजिम नै चितवनबासीबाट सहयोग र सद्भाव पाउँनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.