विचार/ब्लग

चितवनमा गणेशधाम निर्माण अभियान : राजादेखि रंकसम्मको साझा सपना

Banner

मधुसूदन दवाडी

नेपालको राजनीतिक र सामाजिक आन्दोलनमा सामाजिक परिवर्तनको मुद्दामा सक्रिए सहभागिता जनाउँदै आएको चितवनका नागरिक र अहिले आर्थिक समृद्धि र विकासको अभियानमा होमिएका छन् । चितवनको माटोमा भाषण धेरै भयो, राजनीतिक दर्शन र सिद्धान्तका फोस्रा नाराहरु पनि नागरिकले धेरै पढे र सुने तर नागरिकको जीवनस्तरमा ठूलो रुपान्तरण आएन । नागरिकको सक्रिय सहभागिता बिना सरकारको एक्लो प्रयासले मात्र कुनै पनि विकासको काम सम्पन्न हुन सक्दैन । त्यसैले नागरिकहरुको सहभागितामा अहिले चितवनका नागरिकहरु भरतपुर नगरपालिका—११ मा रहेको गणेशस्थान मन्दिरलाई गणेशधामको रुपमा विकास गर्नको लागि जुटिरहेका छन् । दैनिक हजारौं नागरिकको सहभागितामा बैँठक, भेला र अन्तरक्रियाले जंगलको किनारमा रहेको गणेशस्थान क्षेत्रको मुहार नै फेरिँदै गएको छ । अहिले गणेशस्थान क्षेत्रको विकासमा यो पार्टी, त्यो पार्टी, यो क्षेत्र र त्यो क्षेत्र नभनी समग्र नागरिकहरु जुटिरहेका छन् । चितवनमा गणेशधामको विकासले जिल्लाको राजनीतिक, सामाजिक र आर्थिक विकासमा के कस्तो असर पर्दछ भन्ने विषयलाई यस अध्ययनले आफ्नो प्रमुख विश्लेषणको विषय बनाएको छ ।

गणेशधामको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व :

भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको गणेशधामले काठमाडौँको बसन्तपुर र भक्तपुरको स्मारकहरुको झझल्को दिन्छ । एउटै क्षेत्रमा यति धेरै मन्दिरहरु रहेको र ऐतिहासिक महत्व बोकेको सम्पदा यति कुनै छ भने त्यो गणेशस्थान मन्दिर नै हो । इतिहासकार बाबुराम आचार्यले लेखेको ऐतिहासिक पुस्तक ‘सेनकालिन नेपाल’ नेपाल नामको पुस्तकमा उल्लेख भए अनुसार पृथ्वीनारायण शाहाको शासनकाल भन्दा झण्डै ३०० वर्ष अगाडि पाल्पा राज्य निकै शक्तिशाली राज्यको रुपमा चिनिन्थ्यो । त्यही राज्यको खम्बाको रुपमा मानिएका राजा मणिमुकुन्द सेन जीवनको उत्तरार्धमा पवित्र धार्मिकस्थल देवघाट धाममा तपस्या गरेर बसेका थिए । उनी देवघाटमा रहँदा उनले यसको नजिकै रहेको क्षेत्रमा गणेशस्थानको निर्माण गरे । त्यसक्षेत्रका जखडीमाई, वागिश्वरी, गणेशस्थान र मौलाकालिका मन्दिर उनले नै निर्माण गरेका हुन् भन्ने मानिसहरुको भनाइ र ऐतिहासिक सन्दर्भ भेटिन्छ ।

गणेशस्थान मन्दिरमा भेटिएको पुरानो इट्टाको अन्वेषणबाट पनि त्यो तथ्य स्पष्ट भएको थियो । जुन इट्टा ५०० सय वर्ष अगाडिको भनेर पुरातत्वविद्धहरुले पुष्टि गरेका थिए । गणेशस्थान मन्दिरको पाउबाट बग्ने पुण्यवती खोला जसलाई स्थानीयले पुङ्गी खोला भन्छन् त्यस खोलाको बयान गणेश पुराण र पदमपुराणमा गरिएको धार्मिक पुरोहितहरु बताउँछन् । विसं २०१४ सालमा रुखको फेदमा भेटिएको गणेशको मूर्तिलाई स्थानीयले पूजाअर्चना गर्दै आएपछि यसस्थानलाई गणेशस्थानको रुपमा चियिो । अहिले पनि यस स्थानमा रहेको गणेशको अर्धकद भएको पञ्चमुखको मूर्ति ऐतिहासिक प्राचित मूर्तिको रुपमा रहेको छ ।

के के छ गणेशस्थानमा ?

भरतपुरको नवजागृति सामुदायिक वन जलदेवी सामुदायिक वन क्षेत्रमा अवस्थित गणेशस्थान क्षेत्र झण्डै चार बिघा क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रमा ऐतिहासिक गणेश मन्दिर, सरस्वती मन्दिर, कमलेश्वर महादेव मन्दिर, सन्तोषीमाता मन्दिर, मनकामना मन्दिर, चण्डेश्वर मामिन्दिर, विश्वेकर्मा मन्दिर, सिद्धाश्रम भवन, प्राचिन वरपिपलका चौताराहरु रहेका छन् । हिन्दू धर्म परम्पराअनुसार मानिसले जीवनमा चाएका सबै प्रकारका मनोकांक्षाहरु यहाँ प्राप्त गर्दछ । सरस्वतीको मन्दिरले मानिसको ज्ञान र विद्याको चाहनालाई पूरा गर्छिन् । कमलेश्वर महादेवको नाम हो । कमलेश्वर मन्दिरमा सोमबार दर्शनार्थीहरुको भीड लाग्छ । त्यसैगरी मन्दिरपरिसरमा रहेको सन्तोषीमाताको मन्दिरमा शुक्रबारको दिन पूजा हुन्छ । सन्तोषीमाताको पूजाअर्चना गर्नाले विद्या, बुद्धि र पुत्रलाभ हुने धार्मिक विश्वास रहेको छ । मनोकामना मन्दिरले मानिसको मनोकांक्षालाई पूरा गर्नेछ । त्यसैगरी गणेशस्थानपरिसरमा रहेको चण्डेश्वरी मन्दिरलाई शक्तिको देवीकोरुपमा पूजा गरिन्छ । विशेष त दसैँको बेलामा र नवरात्रीमा चण्डेश्वरीदेवीको पूजाअर्चना धेरै गरिन्छ । गण्ोशस्थान क्षेत्रमा रहेको अर्काे महत्वपूर्ण मन्दिर भनेको विश्वकर्माको मन्दिर हो । सबै वस्तु र विकास निर्माणको मुख्य आधार नै विश्वकर्मालाई मानिन्छ । बाहै्र महिना पूजा हुने विश्वकर्मा बाबाको पूजालाई फलामको पूजाको रुपमा पनि लिइन्छ । यस क्षेत्रको सबै भन्दा महत्वपूर्ण त प्राचिन गणेश मन्दिर भइहाल्यो गणेशको पूजाअर्चना बिना कुनै पनि यज्ञ वा शुभ कार्यको थालनी नै हुँदैन । विशेषत मंगलबार र जुनकुनै दिन र समयमा मानिसहरु यहाँ गणेशको पूजाको लागि आउने गर्छन् । नयाँ सवारी किन्दादेखि नयाँ व्यवसाय गर्दा चितवन,नवलपरासीलगायत अन्य छिमेकी जिल्लादेखि मानिसहरु गणेशको पूजाको लागि यहाँ आइपुग्छन् । गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्वद्र्धन समितिका महासचिव रविन्द्र बरालले जनाए अनुसार विसं २०३६ सालमा यस मन्दिर परिसरमा एकैपटक १३९ वटा विवाह भएका थिए । अहिले पनि विवाह र व्रतवन्धको लागि यस क्षेत्रमा भीड नै हुने गरेको छ ।

राजादेखि रंकसम्मको सम्बन्ध :

नेपालको हरेक क्षेत्रको इतिहास राजतन्त्रसँग जोडिन्छ । पाल्पाका राजा मणि मकुन्दसेनले स्थापना गरेको गणेशस्थान क्षेत्रमा पछि कयौँ शाहावंशिय राजाहरु पनि दर्शनको लागि आउने गर्दथे । कुन राजा कतिबेला आए भन्ने स्पष्ट अभिलेख नभए पनि राजा महेन्द्र र राजा वीरेन्द्र चितवन बसाइमा गणेशस्थानको दर्शनमा निरन्तर आइरहन्थे । बसेनीका स्थानीयले बताएअनुसार राजा वीरेन्द्र मन्दिरमा आउँदा बाटो नै बास्ना आउँथ्यो । उनले प्रयोग गरेको बास्नादार अत्तरले गर्दा यस्तो अनुभव भएको उनीहरुले बताए । राजा आउँदा यस क्षेत्रको चहलपहल नै अर्कै थियो भने स्थानीयका पीरमर्काका बारेमा पनि राजाले कुराकानी गर्ने गर्दथे ।
राजामात्र नभएर नेपालका विभिन्न पहाडी क्षेत्रबाट चितवन झरेका मानिसहरु गणेशस्थान मन्दिरको प्रताप र प्रचारसँग प्रभावित बने । देवघाट आउने प्राय भक्तजनहरु गणेशस्थानको पनि दर्शन गरेर फर्कन्थे । नारायणगढ क्षेत्रको विकास र विस्तारसँग गणेशस्थानको ओज र गरिमा अझ बढ्न गयो । समयक्रमसँगै यस क्षेत्रमा नयाँ मन्दिरहरु थपिन थाले । गणेशस्थान कुनै जात, धर्म वा सम्प्रदायको क्षेत्र मात्र नभएर सबैको समग्र आस्थाको धरोहरको रुपमा स्थापित भएको छ । गणेशस्थान क्षेत्रमा मानिसहरुको बाक्लो बस्ती रहनुमा पनि मन्दिरको प्रचारप्रसारले नै भएको स्थानीयले बताए । जंगली क्षेत्रमा भएकोले पनि विगतको द्वन्द्वकालिन समयमा भने यस क्षेत्र केही छायामा परेको स्थानीयले गुनासो गरे । यदि १० वर्षसम्म देशमा असहज अवस्था नआएको भए यो क्षेत्र धामको रुपमा आजभन्दा १० वर्षअघिनै भइसक्ने स्थानीयले दाबी गरे ।

प्रस्तावित गणेशधामको रुपरेखा :

नेपाल र भारत क्षेत्रमा सबै देवताको नामका धामहरु स्थापित भइसकेको तर गणेशको नाममा विशेष धाम नभएकोले पनि यो धाम नेपालकै पहिलो गणेशधाम हुने मन्दिर क्षेत्र सम्वद्र्धन समितिले आशा लिएको छ । नेपालमा आउने अधिकांश पर्यटकहरु धार्मिक पर्यटक पनि हुने भएकोले यस धामको विकास चितवन र यस आसपासको क्षेत्रको स्वर्णिम भविष्य तथा समृद्धिसँग जोडिएको छ । सोही विषयलाई दृष्टिगत गरी यस धामको गुरुयोजना निर्माण गरिएको छ ।

अहिले चार बिघा क्षेत्रमा फैलिएको गणेशस्थान क्षेत्रलाई धामको रुपमा विकास गर्न झण्डै ४४ बिघा क्षेत्रफल आवश्यक पर्छ । जलदेवी र नवजागृति समुदायिक वन क्षेत्रसँग सो जग्गा लिने मन्दिर संरक्षण सम्वद्र्धन समितिको आशा र विश्वास छ । नेपालका अधिकांश धामहरु यस्तै सामुदायिक वन र नदीको किनारमा अवस्थित रहेका छन् । यस धाममा २५ बिघा क्षेत्रफलको तलाउ, पार्क र पिकनिक स्पोर्ट रहनेछन् । जंगली जीवजन्तुहरु सहितको उद्यान, राष्ट्रका चर्चित व्यक्तित्वहरुको शालिकसहितको पार्क, आकर्षक फुटपाथ र साइकल लेन, पुरानो मन्दिरको पुर्ननिर्माण, प्यागोडा शैलीको छानाहरु, कुण्ड, पारीपट्टिको डाँडामा कैलास पर्वतलगायत निर्माण गर्ने योजना रहेको छ । यस धाममा कुनै पनि व्यक्ति पुग्दा जीवनका सारा, दुःख पीडा बिर्सिएर पुण्यप्राप्तिको अनुभव गर्ने गरेर गणेशधाम निर्माणको तयारी गरिएको छ ।

गणेशधाम निर्माणको लागि वरिष्ठ इन्जिनियर डा राजन सुवालले गुरुयोजना निर्माण गरेका छन् । उनले निर्माण गरेको गुरुयोजनालाई इन्जिनियर सुवालसहितको समूहले महायज्ञ मूल आयोजक समिति र मंन्दिर संरक्षण तथा सम्वद्र्धन समितिमा दृश्यसहित प्रस्तुत गरेको थियो । समितिको केही सुझावसहित गुरुयोजनाले अन्तिमरुप प्राप्त गरेको छ । समितिले दिएका सुझावहरुमा पहिले बनाइएको कैलाश पर्वतको मोडल र शिव पार्वतीको पहिरनमा परिवर्तन गरेर नेपाली शैलीको बनाउने भनेर थप गरिएको छ । अब लगभग सबै काम सकिएर गणेशस्थान क्षेत्रलाई गणेशधाम बनाउने कार्य सम्पूर्णरुपमा बजेटमा नै गएर केन्द्रित भएको छ । मन्दिरपरिसरमा यज्ञ लगाउन अहिले जमिन सम्याउने र यज्ञस्थल तयार गर्ने कार्य चलिरहेको छ ।

बजेटको व्यवस्थापन :

नेपाललगायत विश्वका कतिपय ठाउँमा एक जना व्यक्तिले पनि कयौं ठूलाठूला धामहरु निर्माण गरेर देखाएकोले चितवनलगायत छिमेकी जिल्लाका सबै नागरिकको सहयोग रहेमा धाम निर्माण कार्य त्यति कठिन देखिँदैन । झण्डै एक अर्ब बजेट लाग्ने यो धाम निर्माणको लागि २० करोड रुपैयाँ यही मंसिर २२ गतेबाट सुरु हुने महायज्ञबाट उठाउने योजना छ । अहिले नै झण्डै चार करोडजति सहयोगको प्रतिबद्धता आइसकेकोले महायज्ञबाट सो रकम उठाउँन खासै कठिन देखिँदैन । चितवन सेरोफेरोका सबै जिल्लाका नागरिकले यस धामको विकासमा चासो राखेकोले पनि गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्वद्र्धन समिति उत्साहित देखिएको छ । सामाजिक सञ्जालदेखि फोन, एसएमएसबाट पनि नेपाललगायत विश्वका विभिन्न देशमा रहेका नागरिकहरुले धामको निर्माणमा चासो राखिसेका छन् ।
धाम निर्माणको लागि प्रदेश सरकार, केन्द्रीय सरकार, भरतपुर महानगरपालिका र चितवनका पत्येक स्थानीय तहबाट पनि सम्वद्र्धन समितिले सहयोगको प्रतिबद्धता पाइसकेको छ । जसको लागि सबै दलका सबै पार्टीका सबै तहका नेताहरुले सहयोगको प्रतिबद्धता दिइसकेका छन् ।

गणेशधामले बोकेको सम्भावना :

गणेशधाम विश्वकै हिन्दू भक्तजनको लागि बिल्कुलै नौंलो र नयाँ हुने भएकोले यसप्रति हरेक मानिसको चासो रहने देखिन्छ । अर्काेतर्फ नेपालकै मध्यभागमा महेन्द्रराजमार्गको छेउमा नै रहेकोले पनि राजमार्ग भएर पूर्वपश्चि भएर यात्रा गर्ने जोकोही पनि यस धाममा सजिलै पुग्न सक्नेछन् । भरतपुर एयरपोर्टबाट पनि यो धाम नजिकै रहेको छ । अर्काेतर्फ देवघाटधाममा आउने प्रत्येक धर्मावलम्बी यस धाममा आउन सक्नेछन् । यो क्षेत्र धार्मिक र पर्यटकीय हब बन्नेमा कसैको दुई मत रहँदैन ।

पर्यटकीय हब बनेपछि यस क्षेत्रको व्यापार र व्यवसायले पनि छलाङ मार्नेछ । धामको छेउमा फूल माला र अबिर मात्र पनि लाखौंको कारोबार हुनेछ । चितवनका हरेक होटल व्यवसायदेखि पर्यटकिय व्यवसाय फस्टाउने छ । आजको युगमा मानिस प्रशस्त धनसम्पत्ति र बैभव भएको मानिसमा पनि आत्मसन्तुष्टि र खुसीको खोजीमा रहने गरेकोले पनि यो धामको प्रभाव र महत्व भविष्यमा निश्चितरुपमा बढ्ने छ । छिमेकी जिल्लामा रहेको शास्वत धामले मात्र एक वर्षमा १० लाख पर्यटक भित्र्यायो भने गणेशधामको प्रभाव पनि त्यो धाम भन्दा कम हुने छैन । विश्वमा पछिल्लो समयमा धर्म, संस्कृतिको पुर्नजागरण हुँदै गएकोले पनि गणेशधामको पुर्नर्निर्माणको चितवनको सांस्कृतिक क्षेत्रमा नयाँ रक्तसञ्चार गराउने छ । मानिसहरुले नयाँ रोजगारीका अवसरहरु पाउँनेछन् । विश्वका ठूला शहरहरु घुमेर आएका मानिसहरुले अब चितवनको गणेशधामबाटै त्यो खालको सन्तुष्टि र अनुभव हाँसिल गर्नेछन् । अहिले गणेशस्थान परिसरमा प्राकृतिक पानीको स्रोत, जंगल र नदी रहेकोले यथेष्ट स्रोतसाधन रहेको छ । नयाँ कृतिम केही पनि बनाउन नपर्ने भएकोले पनि गुरुयोजन अनुसार धामको निर्माण कार्य त्यति जटिल देखिँदैन ।

धाम निर्माणमा देखिएका चुनौतीहरु :

श्री गणेशधाम मन्दिर क्षेत्र संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष दिनेश चुके र महायज्ञ मूल आयोजक समितिका महासचिव रविन्द्र बराललगायत समितिका सम्पूर्ण सदस्यहरु भविष्यमा आउनसक्ने चुनौतीप्रति निकै सचेत रहेका छन् । ठूलो र महत्वकांक्षी बजेट जुटाउने कार्य आफैंमा चुनौतीपूर्ण कार्य हो । अध्यक्ष चुकेलगायत समितिका सम्पूर्ण सदस्यहरु बिहानको झिसमिसे उज्यालोदेखि मध्यरातसम्म यसै क्षेत्रको विकासको लागि निरन्तर खटिरहेका छन् । समितिलाई सम्पूर्ण समिति र उपसमितिका प्रत्येक सदस्यलाई चलायमान र स्फूर्ती दिने कार्य आफैमा चुनौतीपूर्ण कार्य हो । ठूलो आर्थिक कारोबारको विषय भएकोले आर्थिक पारदर्शिता र जिम्मेबारीका विषयहरु पनि चुनौतीको रुपमा अगाडि आउँनेछ । कुनै एक सदस्यले गरेको सामान्य गल्तीले पनि यस्तो पवित्र र महान कार्यलाई पक्कै पनि कालो धब्बा लगाउँने छ ।

भोलि धाम निर्माण कार्य अगाडि बढेपछि धामलाई आवश्यक जग्गा उपभोगका लागि आवश्यक कानुनी र कागजी जटिलताहरु त्यत्तिकै चुनौतीपूर्ण विषयहरु हुन् । अर्काेतर्फ यस क्षेत्रमा रहेको अव्यवस्थित बसोबासलाई झनै व्यवस्थित गरेर धामको सुन्दरता र लोकप्रियतासँग जोड्न सक्नुपनि कठिन विषय नै हो । यस्ता विषयमा संरक्षण समिति सुरु देखिनै सचेत रहेकोले पनि धाम निर्माणमा आउने प्रत्येक समस्याले सँगै एउटा नयाँ समाधान र अवसर पनि लिएर आउने छ । यसमा गणेशधान मन्दिर क्षेत्र सम्वद्र्धन समिति पक्कै पनि सफल हुनेछ । अहिले चितवनलगायत देशभर राजनीतिक र सामाजिकरुपमा उठिरहेको समृद्धि भन्ने विषय केबल आर्थिक विकाससँग मात्र सम्बद्ध छैन । यो विषयले मानिसको आर्थिक र आध्यात्मिक विकाससँग पनि सम्बन्ध राख्छ । चितवनमा आफ्नै शैलीको देशकै पहिलो गणेशधामको निर्माण गर्दा निर्माण कार्यमा खटिने कार्यसमितिका हरेक प्रतिनिधिदेखि धाममा पुग्ने हरेक नागरिकलाई पक्कै पनि खुसी, शन्ति र आत्मसन्तुष्टि दिनेछ । अबको युगमा समृद्धिको विषय व्यक्तिको खुसी, सन्तुष्टि र मानसिक शान्तिसँग पनि प्रत्यक्षरुपले सम्बन्धित हुन आउँछ । पक्कै पनि गणेशधामको मुख्य उद्देश्य आमनागरिकलाई खुसी समृद्ध र सन्तुष्ट बनाउनु नै हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>