नवलपरासी

स्वर्ण जित्ने सागका लागि छनोटः अवाले

Banner

बैशाख २२, २०७६

सन् १९८४ मा नेपालमा सम्पन्न प्रथम दक्षिण एसियाली खेलकुद अन्तर्गत बक्सिङमार्फत् नेपाललाई रजत दिलाउन सफल नाम हो राम अवाले ।

खेलाडी जीवनदेखि ब्यवस्थापकको भूमिका सम्मको जिम्मेवारी सम्हाल्दै नेपाल बक्सिङ संघको अध्यक्षका रुपमा स्थापित राम अवालेसंग नेपाल समाचारपत्रका खेल सम्वाददाता कविरस शर्मा ले आठौं राष्ट्रिय खेलकुदका दौरान नेपालगञ्जमा लिइएको अन्र्तवार्ताको सारांश :

आठौं राष्ट्रियको लागि जिल्ला र प्रदेश छनौटमा बक्सिङको ब्यवस्थापन कस्तो रह्यो ?
जिल्ला र प्रदेश छनोट राम्ररी नै सम्पन्न भएको थियो । आठौं राष्ट्रियमा पनि सम्पूर्ण प्रदेश, बिभागीय र एनआरएन टोलीहरुलाई राष्ट्रिय खेलकूद परिषद राम्ररी नै ब्यवस्थापन गरेकाले र प्रतियोगिता पनि भब्यताका सम्पन्न भएकोले ब्यवस्थापनलाई सन्तुष्ट मान्न सकिन्छ ।

राष्ट्रिय खेलकूद परिषदको सहयोग कस्तो रह्यो ?
आठौको लागि २ वटा नयां बक्सिंङ रिङ प्रदान गरिएको थियो । प्रतियोगिता सफलतापूर्वक सञ्चालनका लागि अन्य कुराहरु भने राखेपको निति नियम अनुसार उपलब्ध गराईएका थिए ।

प्रदेश ५ को खजुरा गाउं पालिकामा आयोजना भएको बक्सिङ प्रतियोगिताको क्रेज कस्तो देखियो ?
बक्सिङको कुनैपनि ठूलो प्रतियोगिता यो ठाउँमा पहिलो पटक भएको हो । तर, स्थानीयहरुको उपस्थितिले बक्सिङको क्रेजमा भने कुनै कमी नभएको देखे ।

उच्च तापक्रममा खेलाडीको प्रदर्शन कस्तो देख्नुभयो ?
नेपालगञ्जको तापक्रम वास्तवमै उच्च हो । दिनको तापक्रममा खेलाइएको भए यसले खेलाडीमात्र होइन, खेल पदाधिकारी, प्रशिक्षक, रेफ्रिजज लगायत दर्शकहरुलाई समेत प्रतिकूल असर पथ्र्यो । त्यसैले बिहान र साँझको तापक्रम खेल्नका लागि उपयुक्त रहेको पाएं । त्यसै अनुरूप खेलाउने निर्णय गरियो । यसपटक हरेक दिनको खेल साँझमा खेलाइएकोले खेलाडी र अन्य सम्पूर्णलाई राहत मिलेको थियो । त्यसैले खेलाडीको प्रदर्शनमा तापक्रम वृद्धिले खासै असर परेको जस्तो लागेन ।

के आठौका स्वर्ण विजेता आसन्न १३औं दक्षिण एसियाली खेलकूदका लागि छनोट भएका हुन् ?
आठौँमा स्वर्ण जित्नेहरु अहिले नै सागका लागि छनोट भएको भन्न मिल्दैन । आठौंपछि अब दक्षिण एसियाली खेलकूद (साग) को मिति अब धेरै टाढा छैन । त्यसैले आठौंका स्वर्ण र रजत पदक विजेतालाई हामीले प्राथमिकतामा राखेका छौं । जसले स्वर्ण जितेका छन्, उनीहरु प्रारम्भिक रुपमा सागका लागि छनोट भएको मान्नुपर्छ । तर रजत जित्नेको क्षमतालाई पनि नजरअन्दाज गर्न मिल्दैन । सागको लागि पुन छनोट गरिनेछ । तर खेलाडीको वरियताका लागि भने आठौलाई नै आधार मानिनेछ ।

खेलाडीको प्रदर्शनलाई तिखार्न धेरै भन्दा धेरै प्रतियोगिताहरु गर्नेतर्फ नेपाल बक्सिङ संघको कस्तो योजना छ ?
प्रतियोगिताहरु हुनुपर्छ, आठौंपछि लामो समयसम्म प्रतियोगिता गरिएन भने खेलाडीको प्रदर्शनमा ह्रास आउने सम्भावना रहन्छ । साथै खेलाडीमा नैराश्यता पनि छाउँछ । त्यसैले खेलाडीको प्रदर्शनलाई उच्च बनाउन सकेसम्म हामीले स्वदेशमा पनि मैत्रीपूर्ण खेलहरु खेलाउने सोच बनाएका छौं । यदि स्वदेशमा सम्भव भएन भने विदेशमा आयोजना हुने प्रतियोगितामा खेलाडीलाई खेल्न पठाउने सोच बनाएका छौं ।

तपाईले भर्खरै मात्र एसियन बक्सिङ कन्फेडरेसन कार्यसमितिको निर्वाचनमा सदस्य पदका लागि सहभागी हुनुभयो, चयन हुन नसके पनि यसले नेपाली बक्सिङ विकासमा कस्तो आशा गर्न सकिन्छ ?
अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो नतिजाका लागि कुनै पनि सहभागी मुलुकका रेफ्रि र जज (आरजे) को उपस्थिति महत्वपूर्ण हुने गर्छ । तर नेपालमा स्टार लाइसेन्स प्राप्त आरजे एकजना पनि छैन । जसका कारण अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको नतिजामा असर पर्ने गरेको छ । त्यसैले हामी अहिले स्टार आरजे बनाउनेतर्फ अग्रसर छौं । जसका लागि एसियन बक्सिङ कन्फेडेरेसनबाट सहयोगको आशा गर्न सकिन्छ ।

कुनै समय भारत र नेपाली बक्सिंगको स्तरमा खासै भिन्नता थिएन, तर अहिले भारतको स्तर निक्कै माथि पुगेको छ । के नेपाली बक्सिङ विकासमा भारत सहयोगी बन्न सक्छ ?
पक्कै सकिन्छ । यो सत्य हो, म खेलाडी छँदा भारत र नेपालको स्तरमा खासै भिन्नता थिएन । हाम्रो समयमा यदि १० जना नेपाली खेलाडीले भारतीय शीर्ष वरियताका मुक्केबाजसँग खेल्दा करिब ५ जनाले जित्ने गथ्र्यौ । म आफैले पनि जमशेदपुर र चण्डीगढमा गरी दुई पटक भारतका शीर्ष वरियताका खेलाडीसँग मैत्रीपूर्ण फाइट खेलेको छु । चण्डीगढमा भएको मैत्रीपूर्ण खेलमा म लगायत मेरा समकालीन मित्रहरु स्व. दलबहादुर राणा मगर, स्व. पुष्करध्वज शाहीले भारतका शीर्ष वरियता प्राप्त बक्सरहरुलाई पराजित गरेका थियौं ।

अहिले हाम्रो स्तर खस्केको हो की भारतको स्तर बढेको हो ?
पक्कै पनि तुलनात्कमक रुपमा पहिले भन्दा अहिले भारतको स्तर बढेको हो ।

हाम्रो स्तर जहाँको त्यही नै हो ?
विभिन्न कारणले पहिले भन्दा अहिले हाम्रो स्तर अलि बढ़्न नसकेको हो । यो समस्याको समाधानका लागि सबैको साथ चाहिन्छ । यो जरुरी पनि छ । ताली एउटा हातले बज्दैन । धेरैले साथ दिनु र नदिनुमा फरक पर्छ । सबैजना मिलेर होइस्टेमा हाइस्टे गरेको खण्डमा पक्कै पनि हामी धेरै अगाडी बढ़्न सक्छौ । तर दुःख लाग्दो छ, सबैको सोच त्यस्तो नहुंदो रहेछ ।

विगतमा पनि बक्सिङ संघमा असन्तुष्ट ब्यक्तिहरु थिए, अहिले पनि छन्, सबैलाई समेटेर समस्या समाधान कसरी गर्न सकिन्छ ?
संसारमा सबै समस्याको समाधान हुन्छ । यसका लागि सबै पक्ष इच्छुक हुनुपर्छ । नेपाली बक्सिङ विकास नै सबैको साझा सोच बन्नुपर्छ । बक्सिङमा नै लामो समय ब्यतित गरेका कतिपय साथीहरु बक्सिङ विकासका लागि अनवरत लागि परेका पनि छन् । तर केही साथीहरुले मन अलि चिस्याएका छन् ।

म त सबै जनासंग मिल्न चाहन्छु , तर केही साथीहरुले अलि गा¥हो बनाएको भन्न चाहन्छु । म त देश र नेपाली बक्सिङलाई घाटा पुग्ने काम नगरौं भन्छु । जानेर अथवा नजानेर गल्ती गर्नु हुदैन । साथ दिनुपर्ने हो, धेरैले साथ दिएका पनि छन् । तर जसलाई चित्त बुझिरहेको छैन, आउनुहोस् उहाँहरुलाई पनि स्वागत छ । मिलेर सँगै अगाडी बढौ , बक्सिङलाई यो भन्दा धेरै माथि पु¥यायौं ।

आफू बक्सिङ खेलाडी रहंदाको अनुभव कस्तो रह्यो ?
म १९ वर्षको थिए, कलेज पढ्दा पढ्दै बक्सिङ सिक्न थाले । २० वर्षको उमेरमा त मैले जापानको ओकिनावामा ११औं एसियन गेम खेले । त्यो मेरो जीवनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यसपछि मैले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेले । सन् १९८४ मा सम्पन्न प्रथम दक्षिण एसियाली खेलकूदमा पनि रजत पदक जिते । मन र आफ्नो दिमाग लगाएर मैले खेलेको थिए । कतिपय ठाउँमा सफलता मिल्यो भने कतिपय ठाउँमा असफलता पनि हात लाग्यो ।

कति वर्ष बक्सिङ खेलाडीको रुपमा बिताउनु भयो ?
म सन् १९८३ देखि १९८७ सम्म बक्सिङका सक्रिय खेलाडी थिए । त्यस अवधिमा मैले मेहनत र दुख गरेअनुसारको सफलता पनि पाएँ । त्यसबेला मेरा अग्रजहरुका कारण ललितपुर बक्सिङमा देखिएको माहौललाई मैले थप रौनकता थप्ने काम गरेको थिएं । जीवनमा बक्सिङबाट मैले धेरै इज्जत कमाएको छु । त्यसका लागि मैले दुःख पनि गरेको छु, मेरो परिवार र बक्सिङ प्रेमी समर्थकले पनि मलाई साथ दिएको छ ।

नेपाली बक्सिङको स्तर उकास्न के गर्नुपर्छ ?
सम्भावना बोकेको खेलाडीलाई पहिचान गरेर सरकारले सहयोग गर्नुपर्दछ । जबसम्म खेलाडी आर्थिक वा पारिवारिक रुपमा निश्चिन्त हुन सक्दैन, उ खेलप्रति समर्पित बन्न सक्दैन । त्यसैले सरकारले त्यस्तो कुरामा ध्यान ध्यान दिन जरुरी छ । सबै क्षेत्रबाट सहयोग र साथ पाएको खण्डमा अवश्य पनि हामीले बक्सिङको स्तर उकास्न सक्छौ ।

राम्रो बक्सर पलायनलाई रोक्न के गर्नुपर्ने देखिन्छ ?
नेपालमै गरिखान सक्ने अवस्था सिर्जना नभएसम्म बक्सिङ मात्र होइन, कुनै पनि खेलाडीलाई पलायन हुने अवस्थाबाट रोक्न मुश्किल नै देख्छु । त्यसैले सरकारी स्तरबाटै खेलबाट भविष्य सुरक्षित हुने वातावरण सिर्जना गर्न सकेमा यो समस्या समाधान हुनेछ ।

यसमा बक्सिङ संघको कस्तो भूमिका रहन्छ ?
बक्सिङ संघका सम्पूर्ण सदस्यहरुको पनि यो विषयमा ध्यान जान जरुरी छ । किनभने यो सबैको दायित्व पनि हो । उहाँहरुले पनि समय दिएर हुन्छ की बुद्धि दिएर हुन्छ की, के कसरी हुन्छ खेलाडीको लागि आर्थिक तथा अन्य रूपले सहयोग पुग्ने कार्यमा अग्रसरता देखाउनु पर्दछ, यदि संघमा आबद्ध म लगायत अन्य साथीहरुले आफुले सक्ने सहयोग गरेको खण्डमा केहि हदसम्म यो समस्याको समाधान हुन्छ की भन्ने मलाई लागेको छ ।

सम्भावना बोकेका बक्सरलाई पहिचान गरी खेलमा नै निरन्तरता दिलाउन के गर्न सकिन्छ ?
हामीले यसका लागि संकल्प नै गरेर काम ग¥र्यौं भने यो अवश्य पनि यो सम्भव छ । यसका लागि हामीलाई सरकारी स्तरबाट नै सहयोको आवश्यकता छ । बक्सिङका लागि आवश्यक पर्ने भौतिक स्रोत र साधनदेखि खेलाडीको आवश्यकतालाई सरकारले पूर्ति गर्न सकेमा बक्सिङ मात्र अन्य खेलका खेलाडीबाट पनि राम्रो नतिजाको अपेक्षा गर्न सकिन्छ ।

बक्सिङ जस्तो शारिरिक श्रम बढी लाग्ने खेललाई सरकारबाट त्यसै अनुरुपको खाना सुविधाका लागि बक्सिङ संघले पहल गर्नुपर्छ जस्तो लाग्दैन ?
सकिन्छ, यो त सरकारले बुझ्नुपर्ने कुरा पनि हो । अवश्य पनि बक्सिङ खेल्न बल र बुद्धिको दुवैको आवश्यकता पर्छ । यो विषयमा हामी सक्दो प्रयास गर्छौ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?