धादिङ

गन्थनमन्थन सुनाउन राष्ट्रपतिलाई दुःख दिनु हुँदैनथ्यो

Banner

बैशाख २२, २०७६

पूर्व सांसद, नेपाली कांग्रेस
रामहरि खतिवडा पूर्व सांसद हुनुहुन्छ । ओखलढुंगाको क्षेत्र नम्बर २ बाट २०७० सालमा भएको संविधानसभाको निर्वाचन जित्नुभएका उहाँ २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा भने पराजित हुनुभयो ।

नेपाली कांग्रेसलाई राम्रो बनाउन पार्टीभित्र देखिएका समस्याको अध्ययन गरी आगामी दिनमा सबैले विश्वास गर्ने पार्टी बनाउनुपर्छ भन्ने उहाँ संख्यात्मक रुपमा कांग्रेसले हारेकोजस्तो देखिएपनि जनताबाट नहारेको दावी गर्नुहुन्छ । कांग्रेसले निर्वाचनमा जाँदा आफूले गरेका कामको चर्चा गर्न नसकेको स्वीकार्नुहुन्छ ।

निर्वाचनपछि पनि जनताको पक्षमा काम गरेको बताउने उहाँ आफूलाई पार्टीको मात्र नभएर सबैको साझा मानिस भएको बताउनुहुन्छ । निर्वाचन हारेपनि धेरै बिकास गरेको दावी गर्ने खतिवडा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ‘पुरानो बोतलमा पुरानै रक्सी’ मात्र भएको टिप्पणी गर्नुहुन्छ । उहाँसग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको समसामयिक कुराकानी यसप्रकार छ –ः

सरकारको नीति तथा कार्यक्रमलाई कसरी हेर्नुभएको छ ?
हेर्दाहेर्दै छक्क परियो । कुरा मीठै छन् तर काम छैन । नयाँ कुरा आएनन्, अब आउलान् भन्ने पनि छैन । सरकार छ तर भएजस्तो देखिएन । झुठको खेती गर्न सरकार यसपालि पनि सफल भएको छ त्यसका लागि सरकारलाई बधाई छ । जनताभन्दा माथि उठेर कार्यक्रम ल्याइएको छ ।

जनताका समस्यालाई छुने प्रयास छैन । परम्परालाई निरन्तरता दिएको छ । यस्ता भाषण र नीति तथा कार्यक्रम कति आए, कति गए त्यो भन्नै परेन । सरकार जनताको घरमा पुगेको छ भनियो तर त्यो हेर्दा कतै देखिएन, छाम्दा पनि भेटिएन । सुत्केरी हुन नसकेका महिलालाई हेलिकोप्टरबाट उद्धार गर्ने भनियो तर कोही पनि चढ्न पाएका छैनन् ।

सरकार ठूला कुरा गरेर आफ्नो लोकप्रियता देखाउन खौज्दैछ । गफ गर्न अबिले सबैजना जान्ने भएका छन् त्यसैले काम भएको हेर्ने जनताको चाहनाको सम्बोधन भएन । खोलाखोलामा पुल बनेको भनिएको छ कहाँ बन्यो देखाइदिए हुन्छ ।

सामान्य बिकास निर्माणका योजना त जो प्रधानमन्त्री भएपनि हुन्छ । म भएपनि यो भन्दा बढी गर्थें तर २ तिहाइको सरकार , अन्तर्राष्ट्रिय जगतले पत्याएको सरकार, कम्युनिस्टको सरकार यी सबै भन्ने नारामात्र भएका छन् । सरकार कसको छ भन्ने पनि जनतालाई मतलब छैन तर मैले सरकारबाट के पाएँ भन्ने अहिलेको चासो र खोजीको विषय हो । आखिर खासै नयाँ कुरा केही रहेनछ, राष्ट्रपतिलाई दुःख दिएर संसद भवनसम्म लानुपर्ने नै थिएन ।

२ सय १८ बूँदे नीति तथा कार्यक्रम पढ्न निकै दुःख भयो राष्ट्रपतिलाई पनि । उखान छ पुरानो बोतलमा नयाँ रक्सी तर म त भन्छु यो पुरानो बोतलमा पुरानै रक्सी हो । रक्सी पनि अलिकति गतिलो होइन, ठर्रा हो यसले कसैलाई छुँदैन तर छुने भनेको एउटा पक्ष हो त्यो सरकार र नेकपा । उनीहरुलाई घमण्डको मात लागेको छ, उनीहरु के गर्ने र के नगर्ने भन्ने होसमा नै छैनन् ।

भोलिको दिनमा गर्ने धेरै योजना आएका छन् तपाइलाई किन विश्वास लागेन ?
नबुझेको भए होला भन्थें तर मैले बुझेर नै यसो भनिरहेको छु । यो सरकारको नीति तथा कार्यक्रम दोस्रो हो र यही अनुसार वजेट पनि आउँछ । आश्वासनका पोकाहरु बाँडिएका छन् तर खोल्दा केही छैन । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान पनि यही सरकारका लागि बनाएको रहेछ भन्ने लाग्छ । सुन तस्करी भागिरहेका छन्, अपराध बढिरेहेको छ तरपनि सरकार चुपचाप छ । पहिले नै गर्छु भनेका योजनाहरु अलपत्र छन् भने नयाँ कार्यक्रम कार्यान्वयन होला भनेर विश्वास गर्ने आधार बनेको छैन ।

सरकार नै अपराध निम्त्याउन लागेको छ, कारवाहीको नाममा बार्गेनिङ गर्ने र टेण्डर हाल्ने काम भएको छ । अरु कुरा मान्न सकिएला पछि पनि विश्वास गरौंला तर अहिलेसम्म सरकारले गर्छु भनेको कुनै पनि एउटा काम गर्न सकेको भए म उसलाई धन्यबाद दिन्छु । हिजो गर्न नसक्ने अनि अहिले आएर सबैकुरा रातारात भइहाल्लान् र होला भन्ने आधार नै छैन । भयो होला सरकार बलियो, संख्या छ त्यो पनि मानें तर जनताको विश्वासको कदर गर्नुपर्छ भन्ने किन नबुझेको भनेर मलाई चिन्ता लागिरहेको छ ।

हिजो नेकपा निर्वाचनमा जाँदा आकाशकै तारा झारिदिन्छु भन्थ्यो, होला नि त भनेर जनताले पनि एकपटक चान्स दिए । अहिले नै निर्वाचन गर्ने हो भने नेकपाको विजोग हुन्छ । सरकारले यो कुरा थाहा पाएपछि विभिन्न ठाउँमा गर्नुपर्ने उपनिर्वाचन टार्न आफैं लागिपरेको छ । हिम्मत छ भने निर्वाचन गराएर फेरि पनि जनताको समर्थन लियोस् अनिमात्र विश्वासिलो सरकार र जनताको सरकार भन्ने पुष्टि हुन्छ ।

भ्रष्चाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको नारा केबल दन्ते कथाजस्तो भएको छ । नेकपाका सबै नेता तथा कार्यकर्ताको मुखमा झुण्डिएको छ । मीठा नारा लाएर अरुको ध्यान त्यतातिर लगाउने र मनपरी गर्ने प्रथा कायमै छ । मन्त्रीहरु भ्रष्टाचारमा लिप्त छन् तरपनि प्रधानमन्त्री कारवाही गर्न तयार हुुनुहुन्न । प्रधानमन्त्रीको भविष्य उज्वल होस् भन्ने मेरो अपेक्षा हो तर मेरोमात्र चाहनाले नहुने रहेछ । ओलीजीले आफूलाई परिभाषित गरेको राष्ट्रवादी छबि धमिलिएको छ , अलिकति कतै बचेको भएपनि अब बाँकी समय जति बस्नुहुन्छ सरकारमा उहाँ त्यति नै क्रमशः कमजोर बन्दै जानेछन्, अन्त्यमा नाम निशाना नै रहँदैन ।

राष्ट्रपतिले सम्बोधनका क्रममा भनेको ‘मेरो सरकार’ को किन बिरोध ?
हिजो श्री ५ ले मेरो सरकार भन्थे, सुहाउँथ्यो पनि तर आज राष्ट्रपति श्री ६ पनि होइन आफूलाई श्री ७ सोच्न थालेकी छिन् । राष्ट्रपति सबैको सम्मानित व्यक्ति भएकाले त्यही दर्जामा बस्नु राम्रो हुन्छ । राष्ट्रपतिकै सरकार भए ओलीजीचाँही के पदका रहेछन् ?

ठिकै भयो एउटा गल्ती भयो स्वीकारे भइगयो नि । तर गल्ती स्वीकार्दा सानो भइन्छ भनेर अनेक ढाँटका खेती गर्नुपरेको छ । राष्ट्रपति पनि बिरामी, प्रधानमन्त्री पनि बिरामी, प्रधानमन्त्रीले तयार पारेको र राष्ट्रपतिले वाचन गरेको त्यो नीति तथा कार्यक्रम पनि त्यस्तै बिरामी छ । विभिन्न रोगले ग्रसित छ, सानोतिनो रोग लागेको भए निको होला भन्न सकिन्थ्यो तर पुरानो रक्त क्यान्सर नै भएपछि रोग हत्तपत्त निको हुँदैन अहिले त्यस्तै भयो ।

अब कांग्रेसले के गर्छ ?
अब कांग्रेसले आफ्नो आवाजलाई सशक्त रुपमा उठाउनुपर्छ । भ्रष्टाचार अन्त्य गर्ने खाका के भनेर सरकारसँग माग्नुपर्छ, नेपाली कांग्रेसको सरकारको पालमा सरकारले गम्भीर प्रकृतिका बिरामीका लागि ल्याएका दीर्घकालीन योजनाको कार्यान्वयनमा सरकारलाई घच्घच्याउनुपर्छ । यो माग सम्बोधन गर्न सरकारलाई बाध्य पार्नुपर्छ ।

वाइडबडी प्रकरणबारे जवाफ माग्नुपर्छ, मिलेमतोमा संलग्न जो भएपनि कारवाही हुनुपर्छ । ४५ दिनसम्मका लागि बनाएको आयोग खोई भनेर सोध्नुपर्छ । सामाजिक सुरक्षा भत्ता बढाउने सरकारको आश्वासन छ कार्यक्रममा त्यसका लागि संसदमा कडा आवाज उठाएर जनताको न्यायाका लागि लाग्नुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area