Breaking News

सन्तानको विदेश आकर्षण र वृद्धवृद्धामा पर्ने प्रभाव

Banner

सन्तानकै वृद्धिविकास र उन्नती प्रगतिमा रमाउँदै बस्ने बाबुआमा सन्तानकै उच्च शिक्षाको अपेक्षामा एक्लिने गर्दछन् । आफैंसँग खेलाउँदै हुकाएको छोरा/छोरी जब हुकिँदै जान्छ तब, बाबुआमाले ठूलो मान्छे बनाउने भन्दै आफूबाट टाढा राख्दै गाउँबाट शहर र शहरबाट अर्को ठूलो शहर विदेशसम्म पठाउँछन् । यो प्रक्रिया प्रत्येक परिवारमा दोहोरिरहन्छ । संर्घषपूर्ण जीवनयापनका लागि लिनुपर्ने निर्णय आजभोलि सन्तान र वृद्धअवस्थामा पुगेका बुबाआमा दुवैका लागि निक्कै घातक नै भएको छ ।

सन्तानको माया, साथ र हेरचाह पाउनु प्रत्येक वृद्धवृद्धाको अधिकार हो । तर रोजगार, शिक्षा, आर्थिक उन्नतिका लागि बाआमालाई छोड्नुपर्ने बाध्यात्मक अवस्था प्रत्येक सन्तानलाई छ ।

यो बाध्यात्मक अवस्थाले क्षणिक समयमा लागि रमाइलो भएपनि विस्तारै यसले निम्त्याउने असर भने ठूलो छ । सन्तानको बसाइँसराइका कारण गर्दा वृद्धवृद्धामा शारीरिक, मानसिक, सामाजि तथा आर्थिक प्रभाव पर्ने गरेको पाइन्छ ।

काठमाडौंका तीन वृद्धाश्रममा गरिएको अध्ययनले पनि यही कुरा पुष्टि गरेको छ । वृद्धाश्रममा रहेका ६० वर्षका वृद्धवृद्धामाथि गरिएको अध्ययनका क्रममा उच्च शिक्षाका लागि र धेरै कमाउन घरबाट पठाएको सन्तानको वियोगमा वृद्धाश्रम बस्नु परेको तीतो यथार्त थाहा भयो ।

सिद्धि सालिग्राम ज्येष्ठ नागरिक आवास गृह, भिमसेनस्थान, भक्तपुरका १४, साहारा हेरचाह केन्द्र, सल्लाघारी, भक्तपुरका ९ र द होपहर्मिटेज, लाजिम्पाट, काठमाडौंका १० गरी ३३ जनामा गरिएको अध्ययनमा पुरुषको तुलनामा महिला बढी घर छोडेर बस्नुपर्ने बाध्यतामा रहेको देखियो।

अध्ययनको सीमाक्षेत्रका सबै वृद्धवृद्धा विभिन्न कारणले स्वदेश तथा विदेशमा बसाइँसराइ गरेका सन्तानका अभिभावक थिए । सन्तानको बसाइँसराइ र वृद्धवृद्धामा त्यसको प्रभाव सम्बन्धि पुर्वपरीक्षण गरी तयार गरिएको प्रश्नावलीमा के–कस्ता कारणहरुले वृद्धवृद्धा बसाइँसराइ सरेर गएका सन्तानसँग बस्दैनन् ?

सन्तानले बसाइँसराइ गरेपछि वृद्धवृद्धाले कस्ता समस्याहरु भोग्नुपर्छ? भन्ने प्रश्नको उत्तर खोजेका थियौ । यो अध्ययन काठमाडौं उपत्यकाभित्रका केहि विद्धाश्रममाका सीमित व्यक्तिहरुको पहुँचमा मात्र भएका कारण देशका सम्पूर्ण तथ्यांक भने नसमेटिन सक्छ । तर प्रतिनिधिमुलक तथ्यांक मान्ने हो भने वृद्धवृद्धा र सन्तान दुवैका लागि यस्तो बसाईँसराइ घातक छ ।

वृद्धाश्रम बस्ने पुरुषभन्दा महिला धेरै

हामीले गरेको अध्ययन अनुसार वृद्धाश्रम बस्ने वृद्धवृद्धामा पुरुषको तुलनामा महिलाको संख्या धेरै पाइएको छ । अध्ययनमा समेटिएका मध्ये ३० दशमलव ३ प्रतिशत पुरुष र बाँकी महिला वृद्धाश्रममा थिए । त्यसमा पनि विधवा महिलाको संख्या ५७.६ प्रतिशत छ । विवाहित ३०.३ प्रतिशत वृद्धाश्रममा बस्छन् । त्यस्तै ६.१% अविवाहित र सम्बन्ध विच्छेद भएका थिए ।

६०–६५ का धेरै

वृद्धाश्रममा बस्नेको उमेर ६० देखि ६५ वर्षमा धेरै छ । २४.३ प्रतिशत ६० देखि ६५को उमेर समूहको हुँदा ६६ देखि ७० वर्षको उमेर समूहका २१.२ प्रतिशत वृद्धवृद्धा छन् । त्यस्तै ७१ देखि ७५ वर्षकाको संख्या ९.१ प्रतिशत छ । अरु ७६ वर्ष माथिका थिए । त्यसमा पनि नेवार ४२ प्रतिशत क्षेत्री २४ प्रतिशत राई १५ प्रतिशत, ब्राम्हण, तामाङ तथा लामा १२ प्रतिशत छन् । अध्ययनमा सहभागीमध्ये ४८.५ प्रतिशत साक्षर थिए ।

कसको कमाई कति

अधिकतम वृद्धवृद्धाको मासिक औसत आम्दानि १० देखि २० हजार रुपैयाँसम्म हुने गरेको छ । ५७.६ प्रतिशतले आफ्नो नाममा जग्गाजमिन भएको बताएका छन् । त्यस्तैगरी ७५ प्रतिशतले आफ्नो नाममा घर भएको र १२.५ प्रतिशतले आफ्नो नाममाजग्गा र बैंकमा पैसा भएको बताएका छन् ।

अध्ययनअनुसार ६६.७ प्रतिशत छोराले आफ्नो बाआमालाई लाग्ने खर्च विद्धाआश्रमलाई तिर्ने गरेका छन् । त्यस्तै खर्च तिर्ने छोरीको संख्या १८.२ प्रतिशत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययनगर्दा अधिकतम वृद्धवृद्धाहरु वृद्धााश्रम आउनु अगाडि आफ्नो छोराको परिवारसँग बसेका थिए ।

छोरासँग बस्दै गर्दा वृद्धाश्रममा आउनेको सख्या ६०.७ प्रतिशत रहेको पाइएको छ । ८१.८ प्रतिशत वृद्धवृद्धाहरु आफ्नो स्याहारसुसार गर्ने कोही नभएपछि वृद्धाश्रम पुगेको बताउँछन् ।

यस अध्ययनअनुसार आधाभन्दा बढी वृद्धवृद्धाहरुमा शारीरिक समस्या देखिएको छ । आधाभन्दा बढीमा संवेगात्माक र भावनात्मक परिवर्तन देखिएको थियो । जसमा ३२.३ प्रतिशतले चिन्ता लागिरहने बताएका थिए । २५.८ प्रतिशतले एक्लो महशुस हुने गरेको बताए । १२.९ प्रतिशतले आफ्नो छोराछोरीहरु सँग भेट्न मन लागेको बताएका थिए ।

सन् २००८ मा थाइल्याडमा ‘बसाइँ सराइले गर्दा वृद्धवृद्धामा परेको प्रभाव’ बारे एक अध्ययन भएको थियो, जसमापनि छोराछोरीहरुको बसाइँ सराइले गर्दा वृद्धवृद्धाहरुमा शारीरिक भन्दा मानसिक समस्या बढि देखिएको थियो । जसमा ३२ प्रतिशतले एक्लो महसुस हुने गरेको बताएका थिए । २२ प्रतिशतले छोराछोरीहरुको न्यास्रो लागीरहने बताएका थिए ।

यस अध्ययनमा ९०.९ प्रतिशतले छोराछोरीहरुको बसाइँसराइ कै कारण आर्थिक समस्या भएको बताएका थिए । जसले गर्दा ६६.७ प्रतिशतले आफ्नो नामको जग्गाजमिन बेच्नु परेको बताएका थिए ।

सामाजिक समस्याको बारेमा कुरा गर्दा ८१.२ प्रतिशतले कुनै समस्या नभएको बताएका थिए ।

अन्त्यमा,
यस अध्ययनले सन्तानको बसाइँसराइबाट वृद्धविृद्धाहरुले शारीरिक, मानसिक, सामाजिक, तथा आर्थिक समस्याहरु भोग्नु परेको देखाएको छ । उमेर बढ्दै जादाँ परनिर्भरता पनि बढ्दै जान्छ । बुढेसकालमा आफ्ना सन्तानको माया, साथ र हेरचाह वृद्धवृद्धाहरुको अधिकार हो । तर रोजगार, शिक्षा, आर्थिक उन्नतिका लागि आफ्ना बाआमालाई छोड्नै पर्ने बाध्यता पनि आजका सन्तानमा बढ्दै गइरहेको छ ।

यस्ता बाध्यताहरुलाई पारिवारिक दायित्व र जिम्बेवारीबाट पन्छिएको भन्न पनि नमिल्ने अवस्था छ । हाम्रो देशमा सरकारले वृद्धवृद्धाहरुहरुको हेरचाहका लागि नीतिनियम निर्माण तथा कार्यान्वयन नगरेका कारणले गर्दा छोराछोरीहरुले मात्रै बाआमालाई हेर्न पर्ने अवस्था छ ।

त्यसैले उनीहरुले बसाइँसराइ गरे भने वृद्धवृद्धाहरुलाई धेरै असर पर्ने गरेको छ । अचेल यो प्रवृत्ति बढ्दै गएको हुनाले वृद्धवृद्धाहरुको हेरचाहका नीतिनियमहरु निर्माण तथा कार्यान्वन गर्न जरुरी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?