चितवन विशेष

गाँस काटेर सहयोगमा जुटे चितवनका युवा चिकित्सकहरु

Banner

चितवन, जेठ १८–

चितवनको भरतपुर महानगरपालिका–५ नारायणपुरस्थित नहरको डिलमा ४१ घरपरिवारको बसोबास छ । सुकुम्बासीको रुपमा बसोबास गर्दै आइरहेका यी परिवार जिविकोपार्जनका लागि दैनिक काम गर्दै आइरहेका थिए ।

दैनिक कमाइँले उनीहरुको जिविकोपार्जन चल्दै आइरहेको थियो । तर कोरोना भाइरस (कोभिड–१९) संक्रमणले स्थानीय सरकारले एक महिना लामो गरेको निषेधाज्ञाका कारण उनीहरु न घरबाट निस्कन पाएका छन् नत काम गर्न नै । उनीहरुलाई अहिले खानकै लागि परिलो छ । यही अवस्थालाई देखेर चितवनका युवा चिकित्सकहरुको समूहले ती परिवारलाई केही दिन पुग्ने गरी खाद्यान्न सहयोग गरेका छन् ।

युथ मेडिको एण्ड टेक्निकल एशोसियसन अफ नेपाल चितवनले मंगलबार विहानै उनीहरुको घरमै पुगेर खाद्यान्न सामग्री वितरण गर्‍यो । खानाकै लागि समस्या देखिएपछि उनीहरुलाई केही दिन पुग्ने गरी खाद्यान्न सहयोग वितरण गरिएको संस्थाका अध्यक्ष डा.सफल अधिकारीले जानकारी दिए । ‘यहाँ रहेका ४१ परिवारको अवस्था दयनिय देखेपछि आफ्नै गाँस काटेर सकेको सहयोग गरेका हौँ, वरपरका अन्य २ घरलाई पनि वितरण गर्‍यौँ–डा.अधिकारीले भने ।

ती विपन्न सुकुम्बासी परिवारलाई ५० हजार रुपैयाँ बराबरको चामल, दाल, नुन, साबुन, मास्कलगायतका सामग्री सहयोग गरिएको संस्थाका सचिव विकास पाण्डेले जानकारी दिए । उनले आगामि दिनमा पनि विपन्न परिवारलाई यस्तै सहयोग गर्दै जाने बताए ।

खाद्यान्न सामग्री पाएपछि उनीहरुको अनुहारमा चमक देखिन्थ्यो । ‘उहाँहरुले आफ्नो गाँस काटेर सहयोग गर्नुभएकोमा धन्यवाद छ, हामीलाई तत्काल अब खाद्यान्नका लागि समस्या हुँदैन’–खुशी हुँदै रेशम परियारले भने । उनी सहित तीन जनाको परिवार अहिले नहरकै डिलमा बस्दै आइरहेका छन् । कहिले लेबर काम त कहिले जस्तो सुकै काम गरेर पनि दैनिक गुजारा चलाउँदै आएको रेशमको परिवारलाई युवाहरुको सहयोगले धेरै नै राहत मिल्यो ।

रेशमा मात्रै होइन स्थानीय सबै दंग थिए । विहानै आफ्नै घर आगनमा आएर खाद्यान्न वितरण गरेको थाहा पाएपछि टेकबहादुर परियार पनि खुशी भए । ७ जनाको परिवार पाल्दै आएका टेकबहादुरलाई अहिले निषेधाज्ञाले अफ्ठ्यारो पारेको छ । अहिले खाद्यान्नकै समस्या भएको उनले सुनाए । ‘घरमा खाद्यान्नको समस्या भइरहेको थियो, युवा डाक्टरहरुको सहयोगले धेरै नै राहत मिलेको छ’–टेकबहादुरले भने ।
उनीहरुलाई स्थानीयको रोहबरमा खाद्यान्न वितरण गरिएको थियो । नेपाली काँग्रेसकी नेतृ देवकी गौतम, काँग्रेसका युवा नेता एवंम भरतपुर नगर समन्वय समितिका पूर्व निर्वाचित अध्यक्ष हिरामणि अधिकारीलगायतले समन्वयकारी भूमिका खेलेका थिए । खाद्यान्न वितरण गर्न युथ मेडिको एण्ड टेक्निकल एशोसियसन अफ नेपाल चितवनका उपाध्यक्ष आशिष अर्याल, सदस्यहरु डा.सगुन अधिकारी, डा.सजिना महर्जनलगायत युवाहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>