गसिप

निर्माता सेनको झटारो अनमोल कि प्रदीपप्रति ?

Banner

बैशाख २२, २०७६

एक समय अभिनेताद्वय राजेश हमाल र भुवन केसीबीच नेपाली फिल्मको ‘नम्बर वान नायक’ बन्ने अघोषित प्रतिस्पर्धा चलेको थियो । यसपछि यो प्रतिस्पर्धा निखिल उप्रेती र विराज भट्टमा देखियो । उनीहरुको स्टारडम बिस्तारै शिथिल हुन थालेपछि आर्यन सिग्देल र जीवन लुइँटेलको नेपाली फिल्ममा उदय भयो । उनीहरुमा पनि ‘नम्बर वान’ बन्ने अघोषित प्रतिस्पर्धा देखिएको थियो । आजभोली अनमोल केसी र प्रदीप खड्कामा यो प्रतिस्पर्धा देख्न थालिएको छ ।

दुईले अहिलेसम्म बराबर संख्यामा फिल्म गरेका छन् । गत वर्ष दुबैका दुई-दुई फिल्म रिलिज भए । प्रदीपको ‘रोज’ र ‘लभ स्टेशन’ रिलिज भएका थिए भने अनमोलको ‘क्याप्टेन’ र हाल ‘ए मेरो हजुर ३’ प्रदर्शनरत छ । उनीहरु नेपाली फिल्मका अहिलेका जल्दाबल्दा अभिनेता हुन् । दुईलाई लिएर फिल्म बनाउन फिल्ममेकर्सहरु जुनसुकै मुल्य चुकाउन तयार छन् । किनकि, उनीहरुको युवापुस्तामा कमालको क्रेज छ ।

प्रदीप र अनमोलबीच केही समययता पारिश्रमिकको मामलामा ‘नम्बर वान’ बन्ने प्रतिस्पर्धा देखिएको छ । बजारको चर्चालाई सत्य मान्ने हो भने उनीहरु अहिले एक फिल्मबापत ५० लाखसम्म डिमाण्ड गर्न थालेका छन् । पारिश्रमिकमा ठूलै रस्साकस्सी भए पनि आजसम्म ‘अभिनय कसरी सुधार गर्ने, कसले राम्रो फिल्म दिने र कसरी भड्किएका दर्शकलाई हलसम्म फर्काउने’ भन्नेमा दुई अभिनेता खासै गम्भीर गएको देखिन्न । दुबै आत्मरतीमा रमाइरहेका छन् ।

नेपाली अभिनेताहरुको महँगो पारिश्रमिकलाई लिएर केही समययता फिल्मवृतमा ठूलो बहस सुरु हुन थालेको छ । निर्माता तथा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले केही दिन अगाडि एक कार्यक्रममा ५० लाख तिरेर पनि कलाकार पाउन छाडेको बताएका थिए । उनले कलाकारमा मानवता हराएको आरोप समेत लगाएका थिए । राम्रो अभिनय गर्नेभन्दा पनि राम्रो पारिश्रमिक मुठ्याउने सोचले अहिलेका कलाकार ग्रसित देखिन्छन् ।

विभिन्न फिल्मकर्मीहरुले कलाकारको महँगो पारिश्रमिकलाई लिएर आवाज उठाइरहेको अवस्थामा ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले पनि कामले नम्बर वान बन्ने सहास लिन अनुरोध गरेका छन् । चाँडै प्रदीप खड्कालाई लिएर ‘प्रेमगीत ३’ निर्माण गर्न लागेका उनले सोमवार फेसबुकमा एक स्टाटस लेख्दै बढी पारिश्रमिक लेख्न लगाएर कोही नम्बर वान नहुने बताएका छन् ।

८०/९० लाखमा फिल्म सक्नुपर्ने अवस्था रहेको तर २/३ जना कलाकारलाई पारिश्रमिक मात्र ६०/७० लाख तिर्नुपर्ने अवस्था रहेको उनले तितो यथार्थ लेखेका छन् । कलाकारले बढी पारिश्रमिक मागेकै कारण दर्शकले राम्रो फिल्म हेर्न नपाएको उनको बुझाई छ । उनको स्टाटस आफ्नै हिरो प्रदीप र अनमोलप्रति लक्षित हो भन्ने बुझ्न गाह्रो छैन । कतै प्रदीपले ‘प्रेमगीत ३’ मा ६०/७० लाख त मागेका होइनन् ? निर्माता सेनको स्टाटसले शंका जन्माउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>