Breaking News

कस्को स्वार्थमा सूचना निकाल्यो भरतपुर महानगरले ? नियमावली र मापदण्ड बिनै व्यवसायीलाई यस्तो चेतावनी

Banner

भरतपुर,असार २२-

चितवनको भरतपुर महानगरपालिकाले महानगर भित्रका होडिङ बोर्डमा कुनैपनि तस्विर प्रयोग नगर्न सूचना जारी गरेको छ । महानगरपालिकाले नियमावली र मापदण्डमा उल्लेख नगरिकन हचुवाको भरमा सूचना जारी गरेको पाइएको छ । भरतपुर महानगरपालिकाको डिजिटल डिस्प्ले बोर्ड, विज्ञापन होडिङबोर्ड तथा विद्युतिय प्रचार प्रसार सामाग्री नियमन सम्बन्धि मापदण्ड २०७७ मा तस्बिरका बारेमा कुनैपनि कुरा उल्लेख छैन । महानगरपालिकाले कार्यपालिकाको बैठकमा छलफल नगरी केही सिमित व्यक्तिको स्वार्थमा सूचना जारी गरेको स्रोतले बताएको छ ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नारायणी अनलाइनको जिज्ञासामा भने, ‘संघ र प्रदेशको कानुनलाई टेकेर सूचना जारी गरेको हो । तर संघ र प्रदेशको विज्ञापन सम्बन्धि ऐनमा सञ्चालकको तस्बिर राख्न नपाउने बिषय उल्लेख छैन । संघिय सरकारको बिज्ञापन नियमन गर्ने नियमावली २०७७ को परिच्छेद ३ (क) मा होडिङबोर्ड, सवारी साधन लगायत अन्य माध्यममा कुनैपनि व्यक्तिको फोटो राखी विज्ञापन गर्ने भएमा स्वदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्नुपर्ने बिषय उल्लेख छ । यता बागमती प्रदेशको विज्ञापन कर (व्यवस्थापन तथा नियमन) ऐन २०८१ सम्बन्धि नमुना कानुनमा समेत सो विषय उल्लेख गरिएको छैन । उपप्रमुख अधिकारीले अन्य जानकारी कर्मचारीले दिने भन्दै यस बिषयमा धेरै बोल्न चाहेनन् ।

बिज्ञापन सम्बन्धि कानुन बनाउने अधिकार स्थानिय तहलाई दिइएको छ । स्थानीय तहले ऐन नियम बनाएर बिज्ञापनको नियमन र राजश्व संकलन गर्न सक्ने विज्ञापन बोर्डका सूचना अधिकारी डिल्लीराम सुवेदीले बताए । ‘संघ र प्रदेशको कानुनसंग नबाझिनेगरी स्थानीय तहले कानुन बनाउन सक्छन, तर यसलाई कार्यान्वयनका लागि मापदण्ड आवश्यक पर्छ,’ उनले भने ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले महानगरको बिज्ञापन सम्बन्धि मापदण्डको बिषयमा आफुलाई थाहा नभएको बताए । उनले भने, ‘भरतपुर महानगरपालिकाले बनाएको नियममा के छ अहिले मलाई थाहा भएन, बिज्ञापनमा लगानीकर्ताको फोटो हाल्न पाइँदैन । उनले सिजी गु्रपका अध्यक्ष बिनोद चौधरीको उदाहरण दिँदै भने, ‘बिनोद चौधरीले आफ्नो तस्बिर प्रयोग गर्न पाउँदैनन्,उनले आफ्नो तस्बिरको ठाउँमा भवनहरुको तस्बिर राख्न पाउँछन ।’ उनका अनुसार लगानीकर्ताको फोटो राख्न नपाइने अन्य जो कोहीको राख्न पाइन्छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीले विज्ञापन कर सम्बन्धि नमुना कानुन बनेपनि व्यक्तिको फोटो राख्ने बिषयमा उल्लेख नभएको बताइन् ।

भरतपुर महानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष परमेश्वर खनालले होडिङ बोर्डमा तस्बिर राख्ने र हटाउने सम्बन्धमा अहिलेसम्म महानगरमा कुनै छलफल नभएको बताए । यस्तै वडा नम्वर ३ का वडाध्यक्ष बिकास थापाले यस बिषयमा कुनै छलफल नगरी व्यक्तिकेन्द्रित महसुस हुनेगरी सूचना जारी गरेको प्रतिकृया दिए । महानगरपालिकाले जारी गरेको सूचनामा महानगरपालिका भित्र रहेका केही स्वास्थ्य संस्थाहरु, अस्पतालहरु, पोलिक्लिनिकहरु, मेडिकलहरु तथा शैक्षिक परामर्शदाता संस्थाहरु (कन्सल्टेन्सीहरु) लगायत सबै उद्योगी व्यवसायीले आफ्नो व्यवसायीक बजारको प्रवद्र्धन प्रयोजनका लागि गरिने विज्ञापनजन्य सामाग्रीहरु (होडिङ बोर्ड, फ्ेक्सबोर्ड, लाइटबोर्ड) राख्ने क्रममा समेत प्रचलित कानुन बमोजिमको मापदण्ड र साइजमा राख्नुपर्नेमा केही व्यवसायीहरुले इजाजत नलिई मापदण्ड विपरितका अस्वाभाविक ठूला साइज तथा सञ्चालकको तस्बीर समेत राखी अनधिकृत रुपमा विज्ञापन गरेको पाइएको हुँदा यो सूचना प्रकाशन भएको १५ दिनभित्र भरतपुर महानगरपालिका कार्यालयबाट इजाजत प्राप्त गरी स्वीकृत मापदण्ड बमोजिम तस्बिरहरु हटाई नियमित गर्नु गराउनुहोला भन्ने उल्लेख छ ।

तोकिएको समयमा सो कार्य भएगरेको नपाइएमा जुनसुकै व्यवसायीक संस्थाहरुबाट राखिएका इजाजत बेगरका र तस्बिरहरु भएका विज्ञापनजन्य सामाग्रीहरु हटाउने महानगरले चेतावनी दिइएको छ । महानगरले तोकिएको समयभित्र सो कार्य भए गरेको नपाइएमा त्यस्ता व्यवसाय बन्द गरी र होडिङबोर्डहरु कार्यालयका तर्फबाट हटाउँदा लाग्ने व्ययभार कानुन बमोजिम सम्बन्धित व्यवसायीबाट असुल उपर गरिने व्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>