Breaking News
चितवनका नौ सामुदायिक क्याम्पसहरुलाई करोडौँ अनुदान, सप्तगण्डकीले पायो एक करोड

मधुसूदन दवाडी
चितवन, असार १९-
चितवनका सामुदायिक क्याम्पसहरुले भौतिक विकास निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगबाट करोडौँ अनुदान पाएका छन् ।
क्याम्पसहरुको शैक्षिक गुणस्तर सुधारको लागि सो अनुदान पाएका हुन् । अनुदान पाउने क्याम्पसहरुमा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी क्याम्पस, मैयादेवी क्याम्पस, उमाबढी आदर्श शेरचन क्याम्पस, शहिद स्मारक क्याम्पस, अमर जनशक्ति क्याम्पस, प्रेमबस्ती बहुमुखी क्याम्पस रहेका छन् भने पूर्व चितवनका जनआदर्श बहुमुखी क्याम्पस, शहिद स्मृति क्याम्पस रहेका छन् ।
विश्व विद्यालय अनुदान आयोगले दुई दिन अघि जारी गरेको सूचना अनुसार भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले एक करोड रुपैयाँ, बालकुमारी क्याम्पसले १० लाख रुपैयाँ, शहिद स्मारक कलेजले पाँच लाख ५० हजार रुपैयाँ, अमर जनशक्ति क्याम्पसले पाँच लाख रुपैयाँ, मैयादेवी क्याम्पसले एक करोड रुपैयाँ, उमा बढी आदर्श शेरचन कलेजले पाँच लाख रुपैयाँ, प्रेमबस्ती बहुमुखी क्याम्पसले तीन लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै टाँडीको शहिद स्मृत्ति क्याम्पसले १० लाख रुपैयाँ, जनआदर्श बहुमुखी क्याम्पसले ६ लाख रुपैयाँ अनुदान पाएका छन् ।
अनुदान आयोगको सूचनामा भौतिक निर्माणमा सबैभन्दा धेरै अनुदान पाउने क्याम्पसमा सप्तगण्डकी बहुमुखी क्याम्पस र बनेको छ । अहिले एक करोड रुपैयाँ पाएको क्याम्पसले क्रमागतरुपमा थप दुई करोड रुपैयाँ गरी तीन करोड रुपैयाँ प्र्राप्त गर्नेछ । सप्तगण्डकी बहुमुखी क्याम्पस व्यवस्थापन विभाग प्रमुख प्राध्यापक डा कपिलदेव सुवेदीले क्याम्पसको गुणस्तर सुधारका लागि विश्वविद्यालय अनुदान आयोगबाट निरन्तर सहयोग पाइरहेको बताए । उनले भने, ‘ क्याम्पसले विभिन्न शीर्षकमा पाएको अनुदानबाट शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुगेको छ । यस पटक पाएको एक करोड रुपैयाँ भौतिक निर्माणमा खर्च गरिने छ । यो सहयोग निरन्तर चलिरहने छ । आगामी दिनमा थप दुई करोड रुपैयाँ प्राप्त गर्दैछ ।’
उनले चितवनका सामुदायिक क्याम्पसहरुले पाएको अनुदान कसैले पुस्तकालय सुधार, कसैले फर्निचर र भौतिक निर्माणमा खर्च गर्ने जानकारी दिए । विश्वविद्यालय अनुदान आयोगले जारी गरेको सूचनामा भौतिक विकासको लागि सो अनुदान बितरण गरिएको जनाएको छ ।