देश/प्रदेश

विज्ञ प्रशिक्षकको सहयोगमा खेलकुद शिक्षक तयार गर्दै शुक्लाफाँटा नगरपालिका

Banner

कञ्चनपुर,असार १८ –

शुक्लाफाँटा नगरपालिकाले विद्यालयस्तरीय खेलकुद गतिविधिलाई सशक्त र व्यावसायिक बनाउनका लागि माध्यमिक तहका खेलकुद शिक्षकलाई विशेषज्ञ प्रशिक्षकद्वारा प्रशिक्षण दिने कार्य अगाडि बढाएको छ ।

खेलकुद गतिविधिलाई प्रणालीगत, अनुशासित र व्यावसायिक बनाउने उद्देश्यले सामुदायिक विद्यालयका १३ तथा संस्थागत विद्यालयका छ गरी १९ जना शिक्षकको क्षमता अभिवृद्धि गर्न थालिएको हो । जिल्ला खेलकुद विकास समितिका वरिष्ठ प्रशिक्षक विमलबहादुर खडायत, प्रशिक्षक मोहनप्रताप गुरुङ, तर्कराज भट्ट, राष्ट्रिय भलिबल खेलका प्रशिक्षक जगदीशप्रसाद भट्ट, प्रदेश खेलकुद परिषद्का प्रशिक्षक रामचन्द्र जोशी र राष्ट्रिय खेलकुद परिषद्का खेल विज्ञ डा शिवराज भट्टले खेलकुद शिक्षकलाई प्रशिक्षण दिइरहनुभएको छ ।

“विज्ञ प्रशिक्षकहरुको टोलीद्वारा शिक्षकलाई सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिने कार्य भइरहेको छ”, नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत सुरेश भट्टले भन्नुभयो, “नगरस्तरमा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालगायत अन्य विद्यालयस्तरीय खेलकुदमा गुणस्तरीयता थप्ने अपेक्षा गरेका छौँ ।”

उहाँका अनुसार प्रशिक्षणका क्रममा सहभागी शिक्षकलाई कराते, तेक्वान्दो, कबड्डी, भलिबल, एथलेटिक्स र खेल विज्ञानसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने कार्य भइरहेको छ ।

“विद्यालयमा खेलकुद कार्यक्रमलाई नियमित, गुणस्तरीय र समावेशी बनाउने उद्देश्यले शिक्षकलाई विज्ञ प्रशिक्षक द्वारा प्रशिक्षण दिने व्यवस्था मिलाएकाका छौँ”, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टले भन्नुभयो, “प्रशिक्षकहरूमार्फत शिक्षकले खेलकुदसम्बन्धीका सैदान्तिक र प्रयोगात्मक ज्ञानका कुरा सिक्ने अपेक्षा राखेका छौँ, प्रशिक्षण पाएका शिक्षकले विद्यार्थीको खेल कौशल र नेतृत्व विकासमा योगदान पु¥याउँछन् भन्ने विश्वास छ ।”

तालिमपश्चात् सहभागी शिक्षकद्वारा खेलकुदलाई विद्यालयको नियमित पाठ्यक्रमसँग जोड्ने योजना बनाइएको उहाँले बताउनुभयो । विद्यालयस्तरमा खेलकुदलाई शिक्षाको अभिन्न अङ्गका रूपमा विकास गर्ने, स्वास्थ्य र अनुशासनको माध्यम बनाउने तथा राष्ट्रपति रनिङ शिल्डलगायतका प्रतिस्पर्धामा विद्यालयलाई प्रभावकारी रूपमा सहभागी गराउने उद्देश्यमा तालिम केन्द्रित रहेको उहाँको भनाइ रहेको छ ।

तालिमपश्चात् शिक्षकहरुले विद्यालयमा सप्ताहिक खेल तालिका बनाउने कार्यसँगै विद्यार्थीका लागि अभ्यास लगायतका कार्यक्रम प्रतियोगितको तयारीका लागि कार्य गर्ने उहाँले उल्लेख गर्नुभयो । शिक्षकले तालिमबाट प्राप्त ज्ञान प्रयोग गरी साप्ताहिक खेल तालिका बनाउने, अभ्यास सत्र तथा प्रतियोगिता सञ्चालन गर्न सक्षम हुने उहाँ बताउनुहुन्छ । तालिमले विद्यालयमा खेलकुदको नियमितता र गुणस्तरीयता बढाउँने उहाँको बुझाइ रहेको छ ।

तालिममा सभागी शिक्षक कमलराज पाण्डेयले खेलका नियम, विधि, सर्त, विद्यार्थीलाई खेल सिकाउने विधि, उपकरणको उपयोग र खेल माध्यमबाट नेतृत्व तथा सहकार्य विकास गर्ने तरिकाबारे गहिरो जानकारी पाइएको बताउनुभयो ।

“खेलकुदले बालबालिकाको शारीरिक स्फूर्ति, मनोबल, सहकार्य, अनुशासन, नेतृत्व र प्रतिस्पर्धात्मक भावना विकास गराउने भएकाले तालिम निकै उपयोगी रहेको छ”, उहाँले भन्नुभयो, “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालगायतका कार्यक्रमको मापदण्डानुसार विद्यार्थी तयारी गराउन यस कार्यले निकै मद्दत पुर्याउँछ ।”

विद्यालयस्तरबाटै खेलमार्फत लुकेका प्रतिभा उजागर गर्न सकिने भएकाले खेल शिक्षकको क्षमता अभिवृद्धि गर्नमा जोड दिएको नगर प्रमुख रणबहादुर महरा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “भविष्यमा पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरसम्मका खेलाडी उत्पादन गर्न तालिम सहयोगी हुने विश्वास छ ।”

तालिममा सहभागी शिक्षकले खेल नियम, संरचना, तयारी विधि, विद्यार्थी मनोविज्ञान आदिबारे बुझ्न पाउने नगर उपप्रमुख कल्पना पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसले गर्दा तालिमले उहाँहरुलाई अझै आत्मविश्वासी बनाउँछ ।” विद्यालयमा सक्रिय र गुणस्तरीय खेलकुद कार्यक्रम भएपछि अभिभावकको विद्यालयप्रतिको भरोसा बढ्ने उहाँले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रमले विद्यालयस्तरमा खेलकुदलाई ‘नैतिक, सामाजिक र शारीरिक शिक्षाको समिश्रण’ का रूपमा अघि बढाउने उल्लेख गर्दै उहाँले प्रशिक्षित शिक्षकको माध्यमबाट विद्यालयमा व्यवस्थित रुपमा खेलकुद कार्यक्रम सञ्चालन हुने आशा गरिएको बताउनुभयो । खेल विज्ञान, मनोविज्ञान, अनुशासन र रणनीतिका बारेमा सिकेर शिक्षक अझ दक्ष तथा आत्मविश्वासी हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>