आर्थिक
‘कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त भएन’

काठमाडौँ, असार १७ –
राष्ट्रियसभाका सदस्यहरुले कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त नभएको बताउनुभएको छ ।
राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०८२ का विभिन्न शीर्षकमध्ये आज तोकिएका मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफलमा भाग लिँदै सदस्य युवराज शर्माले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत माग भएकामा विगत वर्षको भन्दा घटेको बताउनुभयो । शिक्षा क्षेत्रलाई बढी महत्व दिनुपर्नेमा त्यस्तो हुन नसकेको उहाँको भनाइ थियो ।
राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले विगतका सरकारले ल्याएका राम्रा कार्यक्रममा अहिलेको सरकारले निरन्तरता दिन नसकेको आरोप लगाउनुभयो । कृषि र शिक्षा क्षेत्रमा बजेट आवश्यक मात्रामा व्यवस्था हुन नसकेको उहाँको भनाइ थियो ।
सदस्य जयन्तीदेवी राईले शिक्षामा पर्याप्त मात्रामा बजेट नभएको बताउनुभयो । सदस्य रेणु चन्दले प्रतिनिधिसभामा निजामती विधेयक पाति गरेभन्दा फरक कसरी भयो त्यसको छानबिन गर्न माग गर्नुभयो । कृषिमा बजेट कम भएको उहाँको गुनासो थियो ।
सदस्य कृष्णबहादुर रोकायाले बजेटले सन्तुलित विकासको अवधारणालाई समेटेर अघि बढेको बताउनुभयो । पुराना आयोजनालाई अलपत्र नपारी बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाइ थियो ।
सदस्य कृष्णप्रसाद अधिकारीले बजेट भूगोलअनुसार सन्तुलित नभएको बताउनुभयो । सदस्य गङ्गाकुमारी बेल्वासेले कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त नभएको बताउनुभयो । कृषिलाई हल्का तरिकाले बजेटमा प्रस्तुत गरिएको उहाँले उल्लेख गर्नुभयो । रासस