देश/प्रदेश

अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच

Banner

गलकोट (बागलुङ),असार १७ –

तीन महिना अघिसम्म खानेपानी बोकेर घरमा ल्याउँदै आउनुभएको जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरको रुम्टा गाउँकी चित्रदेवी सापकोटा अहिले घरमै खानेपानीको सुविधा हुँदा दङ्ग हुनुहुन्छ ।

खानेपानीको अभाव आजको नभएर आफूले जान्दादेखिको बताउँदै घरमुनिको मूलको पानी लिफ्टमार्फत घरमा पुुग्दा सपनाजस्तै भएको छ चित्रदेवीलाई । रुम्टा बस्तीभन्दा तलमात्र खानेपानीको स्रोत भएकाले वर्षौँदेखि खानेपानी बोकेर प्रयोग गर्दै आउनुभएको सापकोटाको घरमा खानेपानीको धारा खसेको तीन महिना भयो ।

बस्तीमाथि खानेपानीको स्रोत नहुँदा वर्षौँदेखि खानेपानीको पहुँचबाट बाहिर रहेको यहाँको १६ घरमा लिफ्टमार्फत खानेपानी पुर्याइएको छ । “चार बजे उठेर गाग्रीको लाइन लाग्नुपर्दथ्यो, बस्तीभन्दा माथि मुहान भएपो घरमा आउँथ्यो, बस्तीभन्दा तल गहिरो जोत्नेमा मूल छ”, उहाँले भन्नुभयो, “अहिले त विद्युत् मोटरले तानेपछि पानीमाथितर्फ आउँदोरहेछ, घरमै खानेपानीको धारा आउँदा हामी दङ्ग परेका छौँ, खानेपानीकै अभावले भारत बस्दै आएका थियौँ, अहिले खानेपानी आएपछि गाउँमा फर्केर आएका छौँ ।” खानेपानीकै कारण उजाडिएको गाउँ पुनः हरीयाली बन्न थालेको छ ।

सापकोटा दम्पतीजस्तै छिमेकीसमेत खानेपानीको धारा घरमा आएपछि गाउँमा बसाइँ गर्न थालिएको छ । गाउँका घर कटेरा बनाउनसमेत पानी बोकेर ल्याइएको स्मरण गर्दै सापकोटाले लिफ्टमार्फत बस्तीमुनिको पानी बस्तीभन्दा माथि आउला भन्ने आफूले कल्पना नगरेको जानकारी दिनुभयो ।

सानो बस्ती भएकाले खानेपानीमा निकै पछि परे पनि अहिले बल्ल लिफ्टमार्फत घरघरमा खानेपानी आएको छ । रु ३० लाख खर्चेर १०० मिटरभन्दा माथि बस्तीमा खानेपानी पुर्याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर सागर अधिकारीले बताउनुभयो । अधिकारीले अत्यन्तै खानेपानीको समस्या भोगेको गाउँ भएकाले १६ घरमा खानेपानीको धारा पुर्याउन रु ३० लाख खर्चिएको बताउनुभयो । खानेपानी संस्था दर्तापश्चात विद्युत् महसुल भने गण्डकी प्रदेश सरकारले सहुलियतमा प्रदान गर्नेछ ।

बाइस वर्षदेखि बजारमा व्यवसाय गर्दै आउनुभएको यदुनाथ सापकोटाले गाउँमा खानेपानीको समस्या देखेर आफूले सहर छाडेर खानेपानी आयोजनाको उपभोक्ता समितिको अध्यक्ष बनेर काम गरेको बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष सापकोटाले भन्नुभयो, “खानेपानीका कारण २२ वर्षपछि म गाउँ फर्केँ, अन्य छिमेकीसमेत फर्कने आस छ, नगरपालिकाभित्रको विकसित वडामा खानेपानीले पछि परेको रुम्टा गाउँमा घरघरमै धारा आएको छ, अब त खानेपानी बोक्ने समस्या सदाका लागि अन्त्य भएको छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>