शिक्षा
पोखराको मदरल्याण्ड माविका ११ जनाको ४ जिपिए

पोखरा,असार १४-
पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका ११ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा ४ जिपिए ल्याएका छन्। एसइईको नतिजा शुक्रबार बेलुकी प्रकाशित भएको थियो। मदरल्याण्डको यो नतिजा गण्डकी प्रदेशमै उत्कृष्ट रहेको विद्यालयको भनाई छ। अघिल्लो वर्ष मदरल्याण्डका १० जना विद्यार्थीले एसइईमा ४ जिपिए ल्याएका थिए।
विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार यो वर्ष मदरल्याण्डबाट १६६ जना विद्यार्थीले एसइई दिएका थिए। ती मध्ये ११ जनाको जिपिए ४ आएको छ। बरालका अनुसार अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, ऋतिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल, र शास्वत रेग्मीले ४ जिपिए ल्याएका हुन्।
बरालका अनुसार मदरल्याण्डका १८ जनाले ३.९६ जिपिए ल्याएका छन। ३.६ भन्दा माथी जिपिए ल्याउने विद्यार्थीको संख्या १३७ रहेको उनले बताए। ‘पोहोर १० जनाले जिपिए ४ ल्याएका थिए। पोहोर भन्दा पनि यो वर्ष झनै राम्रो नतिजा आएको छ,’ प्राचार्य बरालले भने, ‘सबैको मेहनतले नै यो सफलता हात परेको हो।’
नतिजा उत्कृष्ट बनाउन विद्यालयले लामो समयदेखि मेहनत गरिरहेको उनले बताए। ‘उत्कृष्ट शैक्षिक नतिजाको पहिचानलाई निरन्तरता मात्र होइन अझ बढि मजबुद बनाउन आगामि दिनमा पनि यत्तिकै प्रयास गर्नका लागि हामीलाई प्रेरणा मिलेको छ,’ बरालले भने। विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले सबैको मेहनतले यो सफलता हात परेको बताए।