समाचार
इरानबाट उद्धार गरिएका २ नेपाली दिल्लीबाट बुटवल पठाइयो

काठमाडौं, असार १०-
भारतको सहयोगमा इरानबाट उद्धार गरिएका नेपालीमध्ये दुई जना नयाँ दिल्ली आइपुगेका छन् । इरानबाट उद्दार गरिएकामध्ये गणेशप्रसाद पोखरेल र सुमन गैरे आइपुगेका हुन् ।
भारतको सहयोगमा फर्किएपछि उनीहरुले दिल्ली आएर नेपाली राजदूत शंकर शर्मासँग भेट गरेका छन् । फर्किने आउने क्रममा उनीहरुलाई दिल्लीस्थित विमानस्थलमा दूतावासका अधिकारीहरुले रिसिभ गरेका थिए । दिल्लीबाट उनीहरु बुटवलका लागि हिँडिसकेको भारतीय दूतवासले जनाएको छ । बाँकी १४ जना नेपाली समेत फर्किएर आउने क्रममा रहेको भनिएको छ । इरानको जेलमा ५ जना नेपाली अझै छन् । उनीहरुलाई समेत फिर्ता ल्याउन पहल भइरहेको छ ।
अध्यागमन कानुनको उल्लंघन गरेको आरोपमा जेलमा रहेकाले उनीहरुलाई प्रक्रिया पूरा गरेर फिर्ता ल्याउन कतारस्थित नेपाली दूतावासले समन्वय गरिरहेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर इरानमा रहेका नेपालीहरुसँग निकट सम्पर्कमा रहेको भनेको छ ।