देश/प्रदेश
दरबन्दी व्यवस्थापनको माग गर्दै मेलानले स्वास्थ्य मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौँ, असार ६-
मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले प्रयोगशाला सेवाको दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले हाल स्वास्थ्य मन्त्रालयबाट प्रस्तावित स्वास्थ्य सेवा सम्बन्धी दरबन्दी अन्तर्गत प्रगोगशाला सेवाको दरबन्दी कामको चापको आधारमा बढ्नु पर्नेमा उल्टै घटेकोले मन्त्रालयलाइ मेडिकल ल्याब टेक्नोलोजी समूहको दरवन्दी पुनसंरचना सम्बन्धमा ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।
ध्यानाकर्षण पत्रमा मेलानले जनस्वास्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७ तथा स्वास्थ्य संस्था स्थापना तथा संचालन मापदण्ड २०७७ अनुसार प्रयोगशालामा मेडिकल ल्याब टेक्नोलोजी समूहको दरवन्दी पुनसंरचनाका विषयमा एसोसिएसनको तर्फबाट बैज्ञानिक र तथ्यमा आधारित अवधारणापत्रहरु मन्त्रालयमा पटक पटक बुझाउँदै आएको स्मरण गराइएको छ ।
ध्यानाकर्षण पत्रमा हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा अगाडि बढाइएको स्वास्थ्य सेवाको दरवन्दी संरचनाको प्रक्रियालाई स्थगन गरी संघिय संसदबाट जारी जनस्वास्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७ र मन्त्रालयद्वारा जारी भएका ऐन कानुनमा उल्लेख भए अनुसार मेडिकल ल्याब टेक्नोलोजी समूहका जनशक्ति रहने गरि संगठन तथा व्यवस्थापन सर्भे गरि हाल रहेका दरबन्दी बिस्तार गर्नुपर्ने उल्लेख छ
त्यसैगरि, सो संगठन तथा व्यवस्थापन सर्भे कार्यलाई थप बैज्ञानिक र सर्व स्वीकार्य बनाउनका लागि सम्बन्धित विषयका विज्ञसहित यस सेवा समूहसँग सम्बन्धित क्रियाशील पेसागत संस्थाहरुका प्रतिनिधिहरु सम्मिलित एक कार्यदल बनाइ उक्त संगठन तथा व्यवस्थापन सर्भेलाई अन्तिम रुप दिनुपर्ने माग गरिएको छ ।