चितवन विशेष
अमेरिकामा नेपालको प्रवद्र्धन गर्न चितवनका युवा व्यवसायी सिरिस पन्तको जोड

न्युयोर्क, असार ४ –
चितवनका युवा व्यवसायी तथा रोटरी क्लब अफ चितवनका पब्लिक इमेज कमिटी चेयर सिरिस पन्तले अमेरिकामा नेपालका पर्यटन, संस्कृति र सामाजिक सेवा क्षेत्रको प्रभावशाली प्रतिनिधित्व गरेका छन् ।
हालै पेनसिल्भेनियाको सायर–एथेन्स रोटरी क्लबको बैठकमा सहभागी भएका पन्तले चितवनको विविध पक्षबारे जानकारी गराउँदै नेपाल–अमेरिका रोटरी नेटवर्कमार्फत सहकार्यको सम्भावना प्रस्तुत गरे । उनले चितवनमा सञ्चालनमा रहेका सामाजिक सेवा गतिविधिबारे समेत जानकारी दिँदै, रोटरी क्लबहरूबीचको सहकार्यलाई अझ प्रगाढ बनाउने सम्भावनाहरू औंल्याए ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघद्वारा प्रकाशित आकर्षक टुर गाइड बुक सहभागीहरूलाई उपहारस्वरूप प्रदान गरिएको थियो । साथै, नेपाली सांस्कृतिक पहिचानको प्रतीक स्वरूप पन्तले सायर–एथेन्स रोटरी क्लबका अध्यक्षलाई ढाका टोपी लगाइदिएर सम्मान व्यक्त गरेका थिए।
बैठकको एक विशेष क्षणमा, चितवन रोटरी क्लबका अध्यक्षद्वारा पठाइएको शुभकामना सन्देश (ग्रीटिङ्स लेटर) पन्तले सार्वजनिक रूपमा वाचन गरे, जसले दुवै क्लबबीच भावनात्मक सम्बन्ध र भविष्यको सहकार्यलाई थप सुदृढ बनाएको देखिएको थियो।
कार्यक्रममा पन्तसँगै उनकी जीवनसङ्गिनी तथा रोटरी क्लब अफ चितवनको स्पाउस क्लबकी कार्यकारिणी सदस्य प्रियंका घिमिरे पनि सहभागी थिइन् । साथै, भरतपुर–१२ निवासी तथा हाल पेनसिल्भेनियास्थित गथ्री हस्पिटलमा ग्यास्ट्रो सर्जनका रूपमा कार्यरत डा. सुभाष घिमिरेको समेत उल्लेखनीय उपस्थिति रह्यो ।
पन्तले चाँडै नै पेनसिल्भेनियाका चेम्बर अफ कमर्स तथा त्यहाँका मेयरसँग औपचारिक भेटघाट गरी चितवन पर्यटन प्रवद्र्धन तथा नेपाल भ्रमणको औपचारिक निमन्त्रणा प्रस्तुत गर्ने योजना रहेको जानकारी गराएका छन् ।
यस प्रकारका अन्तर्राष्ट्रिय भेटघाट, संवाद र सहकार्यले चितवन मात्र नभई सम्पूर्ण नेपालको पर्यटन, सामाजिक सेवा तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ। यस्ता पहलकदमीहरूले नेपाललाई विश्वसामु थप नजिक ल्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।