चितवन विशेष
शिक्षक सेवा आयोगले अझै खोलेन प्रावि विज्ञापन, विद्यार्थीहरू अन्योलमा

विपिन पाठक
चितवन, असार ४–
शिक्षक सेवा आयोगले स्थायी शिक्षकहरूको पदपूर्तिका लागि खोल्ने प्राथमिक तहको विज्ञापन नियमित तालिका भन्दा दुई महिना ढिलो हुँदासमेत अझै खुलेको छैन।
रिक्त दरबन्दीमा शिक्षक सेवा आयोगले माध्यमिक तह निम्न माध्यमिक तह र प्राथमिक तह गरी तीनै तहको तृतीय श्रेणीबाट विज्ञापन खोल्ने गर्दछ। माध्यमिक तह र निम्न माध्यमिक तहको विज्ञापन भई परीक्षा समेत भइसकेको अवस्थामा प्राथमिक तहको भने हालसम्म विज्ञापन भएको छैन । वैशाख महिनामा विज्ञापन गर्ने तालिका रहे पनि दुई महिना बितिसक्दा समेत विज्ञापन नहुँदा तयारी गरेका विद्यार्थीहरु अन्योलमा परेका छन्।
शिक्षक सेवा आयोगका सूचना अधिकारी गणेश प्रसाद पौडेलले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मागपत्र नपठाएका कारण विज्ञापन गर्न नसकिएको बताए। अझै एक दुई महिना विज्ञापन हुने सम्भावना कम रहेको र केन्द्रले मागपत्र पठाएमा रिस्याडुल गरेर विज्ञापन गरिने समेत उनले बताए । यता परीक्षाको तयारी गरेर बसेका हजारौं विद्यार्थी भने पूर्वनिर्धारित तालिका अनुसार विज्ञापन नखुल्दा अन्योलमा परेका छन् ।