Breaking News
चितवनबाट वैदेशिक रोजगारीमा गएका ३८ जनाले एक वर्षको अवधिमा गुमाए ज्यान

चितवन, असार १-
एक वर्षको अवधिमा चितवनबाट वैदेशिक रोजगारीका लागि गएका ३८ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८१÷२०८२ को अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ३८ जनाको शव चितवन ल्याइएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जानकारी दिएको छ ।
सामीका अनुसार एक वर्षको अवधिमा भरतपुर महानगरपालिकाका १५ रत्ननगर नगरपालिकाका ९, माडी नगरपालिकाका ६, खैरहनी नगरपालिकाका ४, राप्ती नगरपालिकाका ३ र कालिका नगरपालिकाको १ जनाको शव विदेशबाट ल्याइएको हो उनीहरुलाई १ करोड ४७ लाख रुपैयाँ क्षतीपूर्ति स्वरुप राहत उपलब्ध गराइएको सामीका कार्यक्रम संयोजक सुर्य प्रसाद पौडेलले जानकारी दिए ।
जिल्लाबाट वैदेशिक रोजगारीमा गएका १३ जना परिवारको सम्पर्कभन्दा बाहिर रहेको उनले बताए । जिल्लाबाट वैदेशिक रोजगारीमा गएका ७५ जना युवाहरु घाइते तथा अंगभंग भएको पौडेलले जानकारी दिए । घाइते तथा अंगभंग हुनेमा सबैभन्दा धेरै मृगौला रोगी रहेका छन् । २०८० साल यता चितवन मृगौला फेला भएका ४३, कार्यस्थलमा दुर्घटना भएका ७, क्यान्सर रोग लागेका ५, विभिन्न प्रकारका रोग लागेका १६ र अन्य २ गरी ७५ जना कामदार घाइते तथा अंगभंग भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकमा उल्लेख छ । उनीलाई एक करोड ३७ लाख ९१ हजार रुपैयाँ उपलब्ध गराइएको पौडेलले जानकारी दिए ।
चितवन बागमती प्रदेशबाट सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्लामा पर्दछ । यहाँबाट यस आर्थिक वर्षको वैशाख महिनासम्म मात्रै १७ हजार ७३१ जनाले श्रम स्वीकृत लिएका छन् । गत आर्थिक वर्ष १५ हजार ३६५ जनाले श्रम स्वीकृत लिएका थिए ।
सरकारले पछिल्लो समयमा वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका परिवारको स्वास्थ्य उपचारमा ५० हजार सहयोग गर्दै आएको छ । चितवनमा जनचेतनाको अभावका कारण यस सेवा लिन आउने सेवाग्राहीको संख्या न्यून रहेको उनले बताए । ‘चितवनबाट श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जानेहरु धेरै हुनुहुन्छ । उहाँहरुको परिवारलाई गम्भिर प्रकृतिका क्यान्सर, मृगौला, मुटुरोग लगायतका ५ रोग लागेमा सरकारले ५० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराउँछ’, उनले भने ‘चितवनमा १५ जनाले मात्र यस्तो सुविधा लिनुभएको छ ।’ यो रकम स्थानिय तहको सिफारिस र सहजिकरणका आधारमा वैदेशिक रोजगार वोर्डले उपलब्ध गराउने छ ।
श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएको अवस्थामा वा नेपाल फर्केर आएको एक वर्ष भित्रमा मृत्यु वा पूर्ण असक्क्त घाइते अंगभंग भएको अवस्थामा उनका छोराछोरीले कक्षा १२ सम्म अध्ययनका लागि छात्रवृत्ति समेत पाउने व्यवस्था छ । विद्यार्थीको उमेर हद १८ वर्ष तोकिएको उनले बताए । यस्ता विद्यार्थीले कक्षा आठसम्म वार्षिक १२ हजार र कक्षा १२ सम्म वार्षिक १६ हजार पाउने व्यवस्था रहेको छ । छात्रवृत्ति पाउनको लागि हकवाला विद्यार्थीले सम्बन्धित विद्यालय मार्फत स्थानीय तहमा निवेदन दिनुपर्छ । स्थानिय तहले वैदेशिक रोजगार बोर्डबाट सो रकम प्राप्त गर्नेछ । यद्यपि चितवनमा छात्रवृत्तिको सुविधा लिने विद्यार्थीको संख्या कम रहेको उनको भनाई छ । उनका अनुसार जिल्लामा ९८ जनाले यो सुविधा लिएका छन् ।
सुरक्षित आप्रवासनले वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा परिवारलाई मनोसामाजिक परामर्श, वित्तीय साक्षरता, सीप तालिमका लागि सहजिकरण, न्यायमा सहजिकरण जस्ता काम गर्दै आएको छ । एक वर्षको अवधिमा ७ हजार ४ सय २१ जनाभन्दा बढीलाई परामर्श दिएको उनले बताए ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने जिल्ला भएकाले विदेश जाँदा बुझेर मात्र जान सुझाव दिए ।