चितवन विशेष
मुख्य न्यायाधीश बनेका साहित्यकार क्षेत्रीले गरे उपन्यासकार तिमिल्सिना दोषी भएको फैसला

मधुसूदन दवाडी,
चितवन, जेठ ३०-
चितवनका अग्रज साहित्यकार एलबी क्षेत्री शुक्रबार एक साहित्यिक कार्यक्रममा मुख्य न्यायाधीशको भूमिकामा देखिका छन् । ‘पाठकको अदालतमा जयराम तिमिल्सिना’ नाम दिइएको सो कार्यक्रममा ‘धीमहि’ उपन्यासका लेखक जयराम तिमिल्सिनालाई आलंकारिक अदालतको कठघरामा उभ्याइएको थियो । अदालतमा उपस्थित अन्य न्यायाधीशहरु चितवनका साहित्यकारहरु रमेश प्रभात, सूर्यप्रकाश कँडेल र लक्ष्मी बरालले उपन्यासकारको पक्ष र विपक्षमा बहस गरेका थिए । कार्यक्रमको दर्शकदीर्घामा दुई दर्जन बढी पाठकहरु न्यायाधीशको बहस सुनेर आनन्द लिइरहेका थिए ।
न्यायाधीश बनेका समिक्षकहरु सबैको उपन्यासबारे विचार सुने पछि कार्यक्रममा मुख्य न्यायाधीश बनेर बसेका क्षेत्रीले उपन्यासकार तिमिल्सिनालाई दोषी करार गरे । उनले राम्रो लेखन क्षमता हुँदाहुँदै यत्रो वर्षसम्म चुप लागेर बस्नु उपन्यासकारको महान् गल्ती भएको भन्दै आरोप लगाए । उनले भने, ‘ उपन्यास पढेर केही परिवर्तन आएको छ । विषयको उठान गरेपछि पूर्णता दिनुपर्छ । पहिलो उपन्यास भए पनि उपन्यासकार प्रयासमा सफल भएका छन् ।’ उनले उपन्यास लेखनमा केही तयारी नपुगे पनि अहिलेको भौतिकवादी युगमा साधनाको आवश्यकता भएकोले उपन्यास समय सान्दर्भिक भएको दाबी गरे । उनले उपन्यासकारलाई आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउन सचेत गराउँदै भने, ‘जे पायो त्यही लेखेर उपन्यास बन्दैन । गहिरो अध्ययन चाहिन्छ । धीमहि उपन्यासले बेलाबेलामा मूल बाटो बिर्सिएको अनुभव हुन्छ ।’ मुख्य न्यायधीश बनेका समीक्षक क्षेत्रीले उपन्यासकारलाई आगामी तीन वर्षमा उत्कृष्ट आख्यान लिउन आउन निर्देशन पनि दिए ।
अक्षर समूहले गरेको कार्यक्रमलाई सहजीकरण गरेका समीक्षक रमेश प्रभातले उपान्यासका भाषिक कमीकमजोरीबारे टिप्पणी गरे । उनले कठघरामा उभिएका उपन्यासकार तिमिल्सिनालाई एकपछि अर्काे प्रश्न झटारो हाने ।
कार्यक्रममा न्यायाधीश बनेका पत्रकार सूर्यप्रकाश कँडेलले उपन्यास पढ्दा धेरै आनन्द आउने बताए । उनले उपन्यासको परिवेश कमजोर रहेको बताए । त्यस्तै अर्काे समीक्षक लक्ष्मी बरालले उपन्यासले भौतिकवादभित्रको आध्यात्मिकतालाई प्रष्ट पारेको बताइन् । धेरैपटक उपन्यास पढेर धेरै विषयको आत्मबोध भएको उनले बताइन् । उनले उपन्यासकारले नारी पात्रमाथि भने दया गर्न नसकेको विचार राखिन् । उनले भनिन्, ‘ जीवन भित्र दर्शन र दर्शन भित्र जीवन उपन्यासमा पाइन्छ ।’
पेज टर्नरले प्रकाशन गरेको धीमहि उपन्यास पेसाले ग्राफिक्स डिजाइनरका रूपमा काम गरिरहेका जयराम तिमल्सिनाले लेखेका हुन् । पहिलो कृतिमार्फत नै उपन्यासकारले जीवनदर्शनप्रतिको गहन चिन्तन प्रस्तुत गरेका छन् । धीमहि शब्दले साधनारत हुनु वा केही प्राप्त गर्नुलाई बुझाउँछ । पूर्वीय दर्शन जगतमा धीको अर्थ कुनै वस्तुबारे सोच्नु वा ध्यान गर्नु हुन्छ । उपन्यासकारको लामो समयको इच्छाशक्तिबाट निर्मित ‘धीमहि’ले गायत्री मन्त्रमा प्रचलित शब्दलाई आत्मसात् गरेको छ । नौवटा शीर्षकमा सम्पूर्ण विषयवस्तु केन्द्रित यस उपन्यासमा आरोह, अनुप्रस्थ, अनुयोग, कमप, संयोग, तृष्णा, महासत्त्व, आत्मक र इतिअंश शीर्षकमा आख्यानको विस्तार गरिएको छ । बनोटका हिसाबले छोटोमिठो वाक्यमा सरल भाषामा उपन्यास रचना गरिएको छ ।