Breaking News
चितवनको बेस्ट ब्रेन एजुकेशन ठगी धन्दाः अभियन्ता भनिने सापकोटासहित पाँच जना पक्राउ

चितवन, जेठ ३०–
चितवनको बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसले वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
बेस्ट ब्रेनका मुख्य संचालक राजेन्द्र सापकोटा, सामाजिक अभियन्ता भन्ने अर्जुन सापकोटा, भरतपुर महानगरपालिका–४ बस्ने ३२ वर्षीया कमला सापकोटा, भरतपुर–४ बस्ने २३ वर्षीय सागर खरेल र काभ्रे पाँचखाल नगरपालिका–८ का ३३ सविन थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार पक्राउ पूर्जी जारी भएर फरार भएका बेस्ट ब्रेनका मुख्य संचालक राजेन्द्र सापकोटालाई काठमाडौंमा पक्राउ गरिएको हो ।
यस्तै सामाजिक अभियन्ता भन्ने अर्जुन सापकोटासहितका ४ जनालाई भरतपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अर्जुन सापकोटामाथि ठगीएका पीडितलाई फोन सम्पर्क तथा विभिन्न सामाजिक संजाल मार्फत धम्क्याउने गरेको छ । यस्तै अन्य तीन जनालाई पीडितहरुले गरेको पत्रकार सम्मेलनमा पत्रकारहरु माथि भएको आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।
पक्राउ परेकी कमला सापकोटाले पत्रकार सम्मेलनमा पुगेर पत्रकारलाई धम्काएकी थिइन् । उनले पीडितहरुलाई पनि निरन्तर धम्क्याउँदै आएको आरोप लागेको छ । पीडितहरुले उनीसहित सामाजिक अभियन्ता अर्जुन सापकोटाविरुद्ध पनि वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा उजुरी दिएका थिए ।
बेस्ट ब्रेनले भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित अञ्जु कंडेल, सागर भट्टराई र शान्ति कंडेललाई वैदेशिक रोजगारीमा युके पठाउने भन्दै करिब ७१ लाख ५० हजार रुपैयाँ ठगी गरेको पीडितले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएको थियो ।