चितवन विशेष

नेपालमै पहिलोपटक चितवनमा रक्तदान महोत्सव हुने, एकैदिन १५ सय पिन रगत संकलन गरिने

Banner

चितवन, जेठ २९–

ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा नेपालमै पहिलोपटक रक्तदान महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर यही शनिबार जेठ ३१ गते भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा रक्तदान महोत्सव हुन लागेको हो ।

आयोजक ब्लड डोनर्स सोसाइटी चितवनले आज पत्रकार सम्मेलन गरी एकैदिन एक हजार ५ सय पिन रगत संकलन गर्ने गरी महोत्सवको तयारी गरिएको जनाएको छ । सोसाइटीका अध्यक्ष एकराज बुर्लाकोटीले नयाँ युवा रक्तदाताहरुलाई रक्तदान कार्यमा सरिक बनाई नियमित रक्तदाताका रुपमा उत्प्रेरित गर्ने गरी यो महोत्सव आयोजना गरिएको बताउनुभयो । नयाँ रक्तदातालाई आकर्षित गर्न विभिन्न उपहार योजना समेत ल्याईएको छ । महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, रक्त समूह परीक्षण, प्रभातफेरि कार्यक्रम राखिएको छ । यस्तै गत आर्थिक वर्षभित्रमा एक सय भन्दा बढी पिन रगत संकलन गर्ने संघसंस्था र व्यक्तिहरुलाई पनि विशेष सम्मान गर्ने कार्यक्रम राखिएको छ ।

ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले चितवनमा आवश्यक रगतको आधारमा यो महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले चितवनमा आवश्यकता भन्दा बढी रगत संकलन भएमा छिमेकी जिल्लाहरुमा पठाउने तयारी भइरहेको बताउनुभयो । चितवनमा हाल दैनिक डेढ सय पिन रगत आवश्यक हुने गरेको भन्दै महोत्सवमा संकलन हुने १५ सय पिन रगत यही खपत हुने प्रादेशिक रक्तसंचार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिनुभयो ।

मानिसको शरिरबाट तीन तीन महिनामा खेर जाने रगतलाई दान गर्दा शरिरलाई फाइदा हुने फिजिसियन डाक्टर भोजराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार नियमित औषधि सेवन गर्ने र दिर्घरोगी बाहेक १८ बर्षदेखि ६५ वर्ष उमेर समुहका मानिसले रक्तदान गर्न मिल्ने छ । ब्लड डोनर्स सोसाइटी चितवनले सो दिन रक्तदान गर्ने रक्तदातालाई पुरस्कारको समेत व्यवस्था गरेको छ । सोसाईटीका अनुसार , रक्तदाताहरुका बीचमा चिठ्ठा प्रतियोगिता मार्फत सोफा सेट, मौलाकालिका केबुलकारका टिकट, मोबाइल, मदन पुरस्कार सहितका पुस्तकहरुको प्याकेज, होल बढी चेकअपका टिकट, कोट सेट मिक्चर लगायतका लगायतका आकर्षण पुरस्कार रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>