काठमाडौँ

काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Banner

काठमाडौं, जेठ २८-

काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यो प्रकरणमा काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरू निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र खरिद इकाईका सहायक निर्देशक उत्तम दाहाल संलग्न रहेको अख्तियारले जनाएको छ।

आयोगका अनुसार ढल निर्माण ठेक्कामा मूल्याङ्कन प्रक्रियामा बदनियतपूर्वक हस्तक्षेप गरिएको, झुठा विवरण पेश गरी निर्माण व्यवसायी समानान्तर सेवा प्रालिलाई ठेक्का नदिन नियोजित ढंगले अपव्याख्या गरिएको पाइएको छ।

यसबाहेक ठेक्का सन्दर्भमा यसअघि दायर भएको भ्रष्टाचार मुद्दासँग पनि प्रतिवादीहरूको भूमिका रहेको देखिएको उल्लेख छ। यो मुद्दामा परियारसहित सातैजनाविरुद्ध जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसा बिगो कायम गरिएको छ।

ढल निर्माणको यस ठेक्का प्रक्रिया सम्बन्धमा पनि सोही बदनियत र रिसइवीको आधारमा गलत मूल्याङ्कन प्रतिवेदन तयार पारेर त्यसैका आधारमा सरकारी सम्पत्तिमा हानि नोक्सानी गराइएको आयोगको ठहर छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>