प्रवास
गणेश प्रसाद पराजुलीः प्रवासमा नेपाली संस्कृति जोगाउनमा महत्वपूर्ण योगदान

अष्ट्रेलिया, जेठ १८–
प्रवासी जीवन आफैँमा चुनौतीपूर्ण हुन्छ—नयाँ देश, नयाँ भाषा, नयाँ संस्कारबीच पनि आफ्नै धर्म, संस्कृति र पहिचानलाई जोगाउँदै अगाडि बढ्नु सजिलो कुरा होइन। तर, यिनै चुनौतीहरूलाई अवसरमा बदल्दै, गणेश प्रसाद पराजुली प्रवासमा नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समर्पित भएर लागिरहनुभएको छ।
उहाँ सधैं नेपाली भजन–कीर्तन समूह मार्फत नेपाली चाडपर्वलाई प्रवासमै जीवित राख्न क्रियाशील रहनु भएको छ। यस कार्यले प्रवासी नेपालीहरूलाई आ–आफ्नो जरा सम्झाउने मात्र होइन, दोस्रो पुस्तालाई आफ्नै धर्म र संस्कृतिप्रति अभिमान जगाउने काम पनि गरेको छ। त्यति मात्र होइन, उहाँको पहलमा नेपाली मौलिक पञ्चे बाजा— जुन हाम्रो संस्कृतिको आत्मा हो—लाई एडिलेडको प्रवासी समाजमा पुनः भित्र्याइएको छ। यस क्रममा उहाँले नेतृत्वदायी भूमिका निभाउँदै, समुदायमा सांस्कृतिक चेतना बढाउने काम गर्नुभएको छ।
नेपाल फेस्टीभलको आयोजना हुँदा नेपाल हाउसमा गरिएको प्रदर्शनीहरूमा उहाँले नेपाली परम्परागत बाजाहरू—ढिकी, जातो, हलो–जुवा जस्ता ऐतिहासिक सामग्रीहरू प्रस्तुत गर्नुभएको छ, जसले नेपाली जीवनशैलीलाई प्रत्यक्ष रूपमा दर्शकसामु झल्काएको छ। त्यस्तै, धरहरा, ढुङ्गेधारा, इनार, परम्परागत नेपाली घर, बौद्ध चैत्य, र मन्दिर जस्ता संरचनाहरूको झल्को दिने नमूनाहरू पनि निर्माण गराएर उहाँले संस्कृति र इतिहासको जीवित झलक प्रस्तुत गर्नुभएको छ।
उहाँको दृष्टिकोण अझ व्यापक छ। नेपाली मौलिकता झल्काउने एक सिङ्गे गैडा, रथ, चैत्य लगायतका संरचनाहरू निर्माण गरी सांस्कृतिक प्रदर्शनीहरूलाई निरन्तरता दिइरहनु भएको छ, जुन कार्यले नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने उहाँको विश्वास छ।
गणेश पराजुलीको यस्तो समर्पणपूर्ण प्रयासले एडिलेडमा मात्र नभई समग्र प्रवासी नेपाली समुदायमा एक प्रेरणा र सम्भावनाको उज्यालो किरण प्रदान गरेको छ। उनै गणेश प्रसाद पराजुलीले २०२५–२७ गैरआवासीय नेपाली संघ, दक्षिण अष्ट्रेलिया राज्य समितिको संयोजक पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। प्रवासमा रहेका नेपालीहरूलाई एकसाथ जोड्ने पवित्र उद्देश्यका साथ स्थापना भएको गैरआवासीय नेपाली संघ (NRNA) को दक्षिण अष्ट्रेलिया राज्य समितिसँग गणेश प्रसाद पराजुली विगत एक दशकभन्दा बढी समयदेखि प्रत्यक्ष रूपमा आबद्ध रहँदै समुदाय सेवामा समर्पित हुँदै आउनुभएको छ।
सम्पूर्ण दक्षिण अष्ट्रेलियावासी प्रवासी नेपालीको अमूल्य समर्थन र विश्वासका आधारमा उहाँले २०२३–२०२५ कार्यकालमा सचिव पदमा निर्वाचित भई समुदायसँग अझ नजिकबाट सेवा गर्ने अवसर पाएर सो अवधिमा उहाँले विविध सामाजिक, सांस्कृतिक तथा सेवामूलक अभियानहरूमा सक्रिय सहभागिता जनाउँदै नेपाली समुदायसँग सशक्त हातेमालो गर्नुभएको छ, जुन अनुभव अविस्मरणीय रह्यो।
यस्पाली उहाले उक्त कार्यकालमा थालिएको र गर्न बाँकी रहेका कार्यहरूलाई निरन्तरता दिँदै, नेपाली समुदायका थप आवश्यकता पहिचान गरेर तिनको सम्बोधन गर्ने दीर्घकालीन योजना निर्माणलाई प्राथमिकता दिनुभएको छ।
त्यसका साथै, पहिलो र दोस्रो पुस्ताबीचको दूरी घटाउँदै, नेपाली मौलिकता, भाषा, कला र संस्कृतिको संरक्षण गर्ने कार्यक्रममा उहाँको विशेष प्रतिबद्धता छ।
गणेश प्रसाद पराजुलीका प्रतिबद्धता यस प्रकार रहेका छनः
🔹 संस्कृति र परम्पराको संरक्षण—नेपाली पर्व, कला, भाषा र संस्कृतिको जगेर्ना गर्दै, सांस्कृतिक भवन स्थापनाको नयाँ अवधारणासहित अगाडि बढ्ने योजना।
🔹 सामूहिक सहकार्य र समन्वय—एडिलेडमा रहेका सम्पूर्ण संघ–संस्थाहरूसँग आपसी सद्भाव र सहकार्य गरी, बहुसांस्कृतिक समुदायमा नेपाल र नेपालीको गर्विलो उपस्थिति सुनिश्चित गर्ने।
🔹 दोस्रो पुस्ताका लागि कार्यक्रम—अष्ट्रेलियामा हुर्कँदै गरेका बालबालिकालाई नेपाली धर्म, संस्कृति, भाषा र परम्परासँग जोड्न बाल–केन्द्रित कार्यक्रमहरूको आयोजना।
🔹 सहज सेवा पहुँच—नयाँ आगन्तुक, विद्यार्थी तथा समस्यामा परेकाहरूलाई सहयोग पुर्याउने मैत्रीपूर्ण र सहयोगी वातावरण सिर्जना।
🔹 पारदर्शिता र जवाफदेहिता—संघ–संस्थालाई खुला, पारदर्शी र विश्वसनीय बनाउने प्रतिबद्धता।
उहाँको मूल दृष्टिकोणः
✅ प्रवासी नेपाली समुदायको दीगो समृद्धि
✅ सामाजिक एकता, उत्थान र सहकार्य
✅ नेपाली संस्कृति, परम्परा र पहिचानको संरक्षण र प्रवर्द्धन