समाचार
बजेट उत्ताउलो छैनः उपसभापति वाग्ले
०

काठमाडौं, जेठ १५-
रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार नभएको निष्कर्ष निकालेको बताएका छन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको भएपनि १५/१६ खर्बभन्दा बढी खर्च हुने आधार नै नभएको बताए । उनले अङ्कको स्वरूप र विश्वसनीयता पुरानै कुराको हुन्छ कि भन्ने डर लागेको बताए । राजस्व सङ्कलनको कतिपय कुराहरू पत्याउने खालको नभएको उनको भनाइ छ ।
उनले भने, ‘देशको अर्थतन्त्र माथि उठाउनको लागि खर्च नै गर्नुपर्छ भन्ने छैन । खर्च नै नलाग्ने नीतिगत निर्णयहरूबाट पनि अर्थतन्त्रलाई माथि उठाउँन सकिन्छ ।’
उनले सरकारको बजेट वितरणमुखी र कार्यकर्ता पोस्न प्रयोग हुनसक्नेतर्फ आशंका गरे । उनले बजेटमा भएका राम्रा कुराहरुलाई समर्थन गर्ने बताए ।