राजनीति
युवा संघको १०औँ महाधिवेशनः अध्यक्ष ओलीले भने- जसले चुनाव जित्छ, ऊ मेरो

काठमाडौं,जेठ १२-
नेकपा एमालेको जनवर्गीय संगठन युवा संघ नेपालको १०औँ महाधिवेशनको प्रक्रिया लम्बिएपछि अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनमार्फत् नेतृत्व चयनको लागि निर्देशन दिएका छन्। अध्यक्ष ओलीले संघीय संसदमा एमालेका प्रमुख सचेतक पदम गिरीमार्फत् युवा संघको अधिवेशनमा सहमतिको प्रयास छाडेर निर्वाचनबाट नयाँ नेतृत्व चयनको लागि निर्देशक दिएका हुन्।
एमाले स्रोतका अनुसार अध्यक्ष ओलीले जेठ ९ गते उद्घाटन सत्रमा आफूले सहमतिमै नेतृत्व चयनको लागि आग्रह गरे पनि प्रतिस्पर्धाको वातावरण बनेपछि चुनावबाटै नेतृत्वको टुंगो लगाउनुपर्नेमा जोड दिएका हुन्। ‘मैले सकेसम्म सहमति नै होस् भन्ने चाहेको हो तर चुनावी माहौल बनेपछि अब निर्वाचनबाटै नेतृत्व टुंग्याउनुपर्छ,’अध्यक्ष ओलीको भनाइ उधृत गर्दै एमाले नेता पदम गिरीले भने,‘ त्यहाँ मेरो उम्मेदवार भन्ने छैन। जो विजयी हुन्छ, ऊ मेरो उम्मेदवार हो।’
यद्यपि, युवा संघको १०औँ महाधिवेशनमा निवर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरी प्यानल नै बनाएर मैदानमा उत्रेका छन्। थेवेलाई अध्यक्ष ओलीको उम्मेदवारको रुपमा प्रचार गरिएको छ। निर्वाचन कार्यक्रम अनुसार सोमबार नै मतदानको कार्यक्रम रहेपनि भर्खरमात्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएकाले मंगलबार ८ बजेदेखि मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
‘निर्वाचन स्वच्छ हुनुपर्यो। कार्यकर्ताले छान्ने कुरा हो। मेरो यो वा त्यो भन्ने हुँदैन भन्नुभयो। उहाँको यो वा त्यो भन्ने रोजाइ छैन,’ गिरीले भने।