चितवन विशेष

आदिवासी जनजातीको खाद्य पहिचान गरिदै,सौराहामा पाँचदिने तालिम सुरु

Banner

सौराहा,जेठ १२-

नेपालका आदिवासी जनजातीको खाद्य पहिचान गर्न थालिएको छ । परम्परागत खाद्य प्रणालीहरु लोप हुँदै जान थालेपछि आदिवासी जनजातिको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरु यसको पहिचान र संरक्षणमा लाग्न थालेका हुन । यसका लागि देशभरका आदिवासी जनजाती समुदायबाट खाद्य क्षेत्रमा काम गरिरहेका व्यक्तिहरु चितवनको सौराहामा भेला भएका छन । उनिहरुलाई आजदेखि पाँच दिनको आदिवासी जनजाति विधामा आधारित जैविक पुनःस्थापना र खाद्य प्रणालीको परिचयात्मक पद्धत्तीका विषयमा तालिम प्रदान गरिदैछ ।
तालिमको बागमती प्रदेशका बन तथा वातावरणमन्त्री कृष्ण सिलवालले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले नेपालमा परम्परागत खाद्यका बिउहरु लोपहुँदै गएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले जौं, गिठा भ्याकुर, कागुनो, उवा जस्ता खाद्य बालिहरुको विउ लोप हुँदै जान लागेको बताउनुभयो । जलवायु परिवर्तनसंगै नेपालको खाद्य प्रणालीमा पनि असर गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले पनि यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । बागमती प्रदेश सांसद भारती पाठकले जल, जंगल, जमिनसंग खाद्य प्रणालीलाई संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयकी उपकुलपति प्रा.डा शारदा थपलियाले नेपालमा आदिवासी समुदायले आफ्नो पहिचानका लागि पनि रैथाने बालिको संरक्षण र प्रबद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले उत्पादित बालिको संरक्षणका लागि विश्वविद्यालयको पाठ्यक्रममा रैथाने बालिका बारेमा अध्ययन सामाग्री राख्न थालिएको जानकारी दिनुभयो ।

आदिवासी जनजाती महासंघका केन्द्रीय उपाध्यक्ष युवराज जिरेलले आधुनिकिकरणका कारण परम्परागत खाद्य प्रणालीमा समस्या आएको र बिउ नासिदै गएको बताउनुभयो । हाम्रो स्वास्थ्य जिवनसंग समेत परम्परागत खानेकुराहरु जोडिएको भन्दै सरंक्षणमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । सो अवसरमा एफएओ नेपालका प्रमुख केनसिमिजुले विश्वमा रहेका आदिवासी जनजातिको अवस्था र खाद्य प्रणालीको बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

एफएओ नेपालले आयोजना गरेको तालिममा नेपालमा आदिवासी जनजातिको क्षेत्रमा काम गर्ने २६ संस्थाका ५४ प्रतिनिधिको सहभागिता रहेको छ । भारतबाट समेत ३ जना प्रतिनिधि तालिममा सहभागि भएका छन । ३ जना विदेशीसहित १० जना विज्ञले तालिम प्रदान गर्नेछन । तलिममा जैविक ज्ञानमा आधारित जैविक पुनःस्थापना सम्बन्धि बिषयमा दुई दिन र आदिवासीको खाना पहिचान सम्बन्धि तीन दिन प्रशिक्षण दिइने एफएओ नेपालका आदिवासी जनजाति फोकल पर्सन राज हुमागाईले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा सहभागिलाई सैद्धान्तिकसंगै प्रयोगात्मक कक्षाहरु समेत दिइनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>