चितवन विशेष
चितवनका युवाको ‘एक्सप्लोरिङ रुकुम’ मोटरसाइकल यात्रा जेठ १४ देखि हुने

चितवन,जेठ १३-
चितवनका अटोमोबाइल व्यवसायी युवाहरूले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रुकुम पूर्वको ऐतिहासिक हजार वर्ष पुरानो टकसेरा गाउँलाई मुख्य गन्तव्य बनाएर ‘एक्सप्लोरिङ रुकुम’ शीर्षकमा चारदिने मोटरसाइकल यात्रा आयोजना गर्ने भएका छन्। हिमालयन राइडर्सको व्यवस्थापनमा हुने यो यात्रा जेठ १४ गतेदेखि सुरु हुनेछ।
यात्रा नारायणगढबाट सुरु भएर पोखरा, बागलुङहुँदै मध्यपहाडी लोकमार्गको आर्थिक मेरुदण्ड मानिने मार्ग पछ्याउँदै घोडाबाने, गलकोट दरबार, बुर्तिबाङ बजार, पातिहाल्ने भञ्ज्याङ, चौरी खर्क, महत गाउँ, रुकुमकोट, टकसेरा, वामिटक्सार, पवित्र स्थल रिडी, प्रेमको प्रतीक रानीमहल हुँदै कालीगण्डकी करिडोरको पाल्पा रामपुर भएर चिनको कोरला नाकासम्म जोडिने सडकको अवलोकन गर्दै नारायणगढमा फर्किएर समापन हुनेछ।
यो यात्राले रुकुम पूर्वको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको प्रवर्द्धनसँगै आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। यात्राको संस्थागत सहयोगीमा लायन्स क्लब अफ चितवन अटोमोबाइल्स रहेको छ। यस्तै व्यावसायिक सहयोगीहरूमा सेन्ट्रल कलेज भरतपुर, हिमानी एजुकेसन, मनकामना पार्ट्स उद्योग र भीएसके पार्ट्स रहेका छन्। यात्रा भरतपुर ओरालोस्थित सेन्ट्रल कलेजको कार्यालयबाट सुरु हुनेछ ।
प्राविधिक सहयोगीको रूपमा लक्की मोटरसाइकल वर्कसप रहेको आयोजकले जनाएको छ ।