चितवन विशेष
भरतपुरमा किशोरीमाथि सामूहिक बलात्कारको अभियोगमा ५ युवा पक्राउ

भरतपुर,जेठ ६-
चितवनमा किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले पाँच जना युवाहरूलाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर-१४ स्थित एक घरमा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले दिएको जानकारी अनुसार गत वैशाख २५ गते साँझ ५ बजे ती बालिकालाई जबर्जस्ती रक्सी खुवाएर अर्धचेत अवस्थामा बलात्कार गरिएको जाहेरीमा उल्लेख गरिएको छ । राति ९ बजेदेखि बिहान ६ बजेसम्म सामूहिक बलात्कार गरेको र ६ जनामध्ये एकले अश्लील भिडिओ पनि खिचेको जाहेरीमा उल्लेख छ। अश्लील भिडिओ देखेपछि बालिकाले आफ्नी माइजूलाई घटनाको विषयमा जानकारी गराएकी थिइन्। त्यसपछि उनका मामाले प्रहरीमा जाहेरी दिएका थिए। घटनामा संलग्न अझै एक जना फरार रहेको डिएसपी खनालले जानकारी दिए। ६ जनाकै विरूद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।