चितवन विशेष
देवघाटका गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट,भदौ ६-
तनहुँको देवघाटमा रहेका गुरुकुलमहरुमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सेवा र विकासका लागि युवा अभियानले देवघाटमा रहेका पाँचवटा गुरुकुलमका करिब पाँच सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
प्राज्ञिक विद्यार्थी परिषद्को समन्वयमा आज देवघाटको हरीहर सन्यास आश्रम परमानन्द संस्कृत गुरुकुल विद्यापिठमा कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई झोला, ज्यामिति बक्स लगायतका शैक्षिक सामाग्री वितरण गरिएको सेवा र विकासका लागि युवा अभियानका राष्ट्रिय अध्यक्ष डा.देवेन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार देशका १३ जिल्लामा केन्द्रित भएर गरिब तथा सिमान्तकृत समुदायका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक सामाग्री वितरण भइरहेका छन । यसका लागि ५५ लाख रुपैंया बजेट विनियोजन समेत गरिएको कँडेलले जानकारी दिनुभयो । अभियान मार्फत युवा विद्यार्थीलाई स्वरोजगार बनाउन कृषि र शैक्षिक क्षेत्रमा लगानी गरिएको उहाँले बताउनुभयो ।
महेश संस्कृत गुरुकुल विद्यापीठका प्रध्यापक पुजक बास्कोटाले विद्यार्थीका लागि शैक्षिक सामाग्री प्रदान गरेकोमा अभियानलाई धन्यबाद दिनुभयो । उहाँले नेपाली माटो र पूर्वीय दर्शनलाई माया गर्नेहरुलाई सहयोग गर्न समेत अनुरोध गर्नुभयो । विद्यार्थी उज्वल पोखरेलले यस सहयोगले अध्ययनमा सहयोग पुग्ने बताउनुभयो । यसले आफूमा अध्ययनगर्न रुची बढ्ने समेत विश्वास व्यक्त गर्नुभयो ।