कालिका
कालिकामा खुला आकाशमुनि बसेका परिवारलाई गोर्खाली समूहको सहयोग

चितवन, जेठ ५–
केहीदिन अघिको हावाहुरीले जस्तापाता नै उडाएपछि खुला आकाशमुनि बस्न बाध्य कालिका नगरपालिकाका रामबहादुर भण्डारीलाई जस्तापाता सहयोग गरिएको छ ।
‘संकटमा साथ–गोर्खाली परिवारको राहत कार्यक्रम’ अन्तरगत भण्डारीलाई गोर्खाली समूहले सोमबार एक कार्यक्रमकाबीच घरको छाना छाउन जस्तापाता र आवश्यक निर्माण सामग्री सहयोग गरेको हो । वैशाख ३१ गते अपरान्ह आएको भीषण हावाहुरीले गोर्खाली समूहका सक्रिय सदस्य भण्डारीको घरको छाना पूर्ण रूपमा उडाएको थियो । जसका कारण उहाँको परिवार खुला आकाशमुनि बस्न बाध्य भएको थियो । जस्तापाता सहयोग कार्यक्रममा समाजसेवी रमेशजंग थापाले सहयोग गर्नुभएको थियो ।
सो क्रममा थापाले भन्नुभयो–‘बैशाख ३१ गतेको हावाहुरीले धेरै परिवारलाई पीडित बनायो । यस्तो बेलामा कुनैपनि नागरिकको कर्तव्य सहयोग गर्नु हो । गोर्खाली समूहको यस कार्यमा सानो सहयोग गर्न पाएकोमा गर्व लागेको छ ।’
सहयोग हस्तान्तरण कार्यक्रम गोर्खाली समूहका अध्यक्ष रेशमराज वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।