चितवन विशेष
द्वन्द्वपीडित महिलाहरू आदर्श गृहबाट सम्मानित

चितवन, जेठ ५–
सशस्त्र द्वन्द्वको समयमा एकल जीवन व्यतित गर्दै समाज रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्ने साहसी महिलाहरूलाई आदर्श गृह नेपालले सम्मान गरेको छ ।
सोमबार भरतपुरमा एक कार्यत्रमकाबीच भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालले एकल महिलाहरुलाई सम्मान पत्र प्रदान गर्नुभयो । सम्मानित हुनेहरूमा द्वन्द्वपीडित महिला जिल्ला सञ्जाल चितवनकी अध्यक्ष पार्वती खड्का, भरतपुर महानगरपालिकामा गठित दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन स्थानीय समितिका सदस्य सँगीता भट्टराई, पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमितिका सदस्यहरू कुमारी रमा ढुगांना र लालकुमारी सिलवाल, तथा सञ्जाल सदस्यहरू लक्ष्मी घले र शर्मिला बराली मगर रहनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष खनालले द्वन्द्वपीडित महिलाहरूको संघर्षप्रति सम्मान प्रकट गर्दै समाजमा उहाँहरूको योगदानको कदर आवश्यक रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष तथा अधिकारकर्मी मीना खरेलले सशस्त्र द्वन्द्वजस्तो चुनौतीपूर्ण समयमा पनि आत्मगौरव र आत्मविश्वाससाथ अघि बढ्ने महिलाहरूको अदम्य हिम्मत प्रेरणादायी रहेको बताउनुभयो ।
सम्मानित महिलाहरूले सम्मानबाट थप जिम्मेवारीको अनुभूति भएको बताउनुभएको छ । उहाँहरूले द्वन्द्वपीडित महिलाका मुद्दालाई प्राथमिकतामा राखी, नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्न सरकार तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ । विशेषतः स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता मार्फत नेपालमै बस्न सकिने वातावरण तयार गर्नुपर्ने उहाँहरूको जोड थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, वडा नम्बर १० का सदस्यहरू सूर्यवदना हमाल र पार्वती नेपाली, आदर्श नारी विकास केन्द्रकी अध्यक्ष उषा खरेल सुवेदी, पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, अधिवक्ता गोमा न्यौपाने लगायतले धारणा व्यक्त गर्नुभएको थियो ।
२०५२–२०६२ सालको सशस्त्र द्वन्द्वले हजारौं महिलाको जीवनमा गहिरो चोट पु¥याएको थियो । भरतपुरमा पनि यस्ता महिलाहरू आजसम्म पीडाबाट गुज्रिनु परेको छ ।