चितवन विशेष
तरुण दल लमजुङ घटना: घाइते गुरुङको डिस्चार्जको तयारी, अधिकारीको सिएमसीमा उपचार चल्दै

चितवन, जेठ ४-
नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनको क्रमममा भएको खुकुरी प्रहारले घाइते २ जनाको अहिले चितवनमा उपचार भइरहेको छ ।
खुकुरी प्रहारबाट घाइते भएका बेसीशहर नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारीको चितवन मेडिकल कलेज भरतपुर उपचार भइरहेको छ । ढाड र हातमा चोट लागेका गुरुङको आज डिस्चार्जको तयारी छ । अधिकारीको भने टाउकोमा चोट लागेकाले उपचार जारी छ । घाइते सुदीपका दाजु सुमन अधिकारीले भाइको टाउकोमा गहिरो चोट लागेको र उपचार जारी रहेको बताए । `अहिले सिएमसीमा उपचार भइरहेको छ,टाउकोमा गहिरो चोट लागेकाले आज थप सिटि स्क्यान गरेको रिपोर्ट आउन बाकी छ, त्यसपछि अवस्था कस्तो छ थाहा हुन्छ´-दाजु अधिकारीले भने ।
सदरमुकाम बेसीसहरमा भएको अधिवेशनको विवादले शनिबार एउटा समूहबाट खुकुरी नै प्रहार भएको हो । ज्यानै जान सक्नेगरी भएको खुकुरी प्रहारले गुरुङ र अधिकारीसङ्गै
नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा घाइते भएका थिए ।
अधिवेशन चलिरहेको बेसीसहर नगरपालिका वडा नम्बर ८ को प्रगति टोल समूहको भवनको सभाहल बाहिर खुकुरी प्रहार भएको हो । अधिवेशनमा भेषबहादुर समूहले प्रतिनिधि छनोटमै रोक लगाइएको भन्दै विरोध गरेका थिए । अधिवेशनस्थलबाट विरोध गर्नेहरूलाई बाहिर निकालेपछि कार्यक्रम स्थलको गेटबाहिर खुकुरी प्रहार भएको घाइते प्रदीपजंग बस्नेतले जानकारी दिए ।
घाइतेहरुले बेशिशहर अस्पताल ठाडाे राेडकाे भित्रि बाटाेमा लुकेर गण्डकी प्रदेश अर्थमन्त्रि टकराज गुरुङकाे निर्देशनमा गुण्डा प्रयाेग गरि खुकुरी प्रहार भएकाे आरोप लगाएका छन् ।