Uncategorized

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै ७३ वर्षीय विष्ट

Banner

कञ्चनपुर, वैशाख २८-

काम गर्न उमेरले छेक्दो रहेन छ । काम गर्ने दृढ इच्छाशक्ति भए जस्तोसुकै काम गर्न सकिँदो रहेछ भन्ने उदाहरण शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ७३ वर्षीय रामसिंह विष्टले सिद्ध गरिदिनुभएको छ ।

उहाँले चुरे क्षेत्रका खोलाबाट ढुङ्गा सङ्कलन गरी मूर्ति निर्माण गर्दै आउनुभएको छ । ढुङ्गाबाट बनाइएका मूर्ति बिक्री गरी उहाँको घरखर्च चल्ने गरेको छ । अन्य व्यक्तिले ढुङ्गाबाट बनाइएका मूर्ति हेर्दाहेर्दै बनाउन सिकेको विष्टले बताउनुभयो ।

ढुङ्गाबाट बाघ, भगवती, गाई, शिव, गणेश, शिवलिङ्ग, नन्दीलगायतका मूर्ति उहाँले बनाउँदै आउनुभएको छ । एक दशकको अवधिमा एक सय ५० बढी मूर्ति निर्माण गरिसकेको उहाँ बताउनुहुन्छ । एक मूर्ति निर्माण गर्न एकदेखि तीन महिनासम्म लाग्ने गरेको छ ।

मूर्ति बनाएबापत प्रतिमूर्ति रु ३० देखि रु ५० हजारसम्म पारिश्रमिकका रूपमा विष्टले लिने गर्नुहुन्छ । “मूर्ति बनाउने माग आए आफैँ गोरुगाडा लगेर चुरे फेदीका खोलामा पुग्छु”, उहाँले भन्नुभयो, “मूर्ति बन्न सक्ने ढुङ्गा खोजेर घरमा ल्याउने गर्छु, त्यसपछि फलामको औजारले खोपेर मूर्ति तयार गर्छु ।”

मूर्ति बनाएबापत आउने रकमले घरपरिवारको खर्चसँगै लुगाफाटो, अन्न खरिद गरिँदै आएको उहाँको भनाइ छ । तन्नेरीहरूको जस्तै विष्ट बिहानीदेखि साँझसम्म मूर्ति बनाउनमा खटिएका हुन्छन् । दुई–तीन महिनामा मूर्ति बनाउने माग आउने गरेकाले घर खर्चमै पारिश्रमिकबापत पाइने रकम सिद्धिने गरेको उहाँ बताउनुहुन्छ । “तराईमा भन्दा पहाडी क्षेत्रका मन्दिरमा सजाउनका लागि मूर्तिको बढी माग आउने गरेको छ”, उहाँले भन्नुभयो, “काम नगरे भोकै बस्नुपर्छ, त्यहीँ भएर सीप सिक्दा जीविका चलाउन सहज भएको छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>