चितवन विशेष
भरतपुर आँखा अस्पतालमा लायन्सका नवनिर्वाचित गर्भनर सापकोटालाई सम्मान

चितवन, वैशाख ७-
नेपाल नेत्र ज्योति संघ चितवन शाखा अन्तरगत संचालित भरतपुर आँखा अस्पतालले लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक थ्रि टु फाईभ आरका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । शुक्रबार आँखा अस्पतालमा एक कार्यक्रमको आयोजना गरि अस्पतालले नवनिर्वाचित गर्भनर नवराज सापकोटा, प्रथम भाइस डिस्ट्रिक गर्भनर प्रभाकर पण्डित, द्धितीय भाइस डिस्ट्रिक गर्भनर दिपेन्द्र खतिवडा, मनोनित क्याविनेट सचिव डाक्टर गंगा सापकोटा र मानेनित कोषाध्यक्ष विकास पौडेललाई सम्मान गरेको अस्पतालका बरिष्ठ अस्पताल प्रशासक दयाशंकर चौधरीले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष सापकोटाले लायन्स क्लबले भरतपुर आँखा अस्पताल स्थापना गरेकाले यसलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । ‘लायन्स क्लबले यस अस्पतालमा आधुनिक उपकरण प्रदान गर्दै आइरहेको छ, उहाँले भन्नुभयो यसको थप क्षमता र गुणस्तर विस्तारका लागि फेरी पनि सहयोग गर्छौँ ।’ उहाँले आगामी दिनमा आँखा अस्पतालमा चार करोडसम्मको परियोजना ल्याउनका लागि पहल गर्ने समेत बताउनुभयो । यसका लागि आँखा अस्पतालले विगतमा प्राप्त गरेको परियोजनालाई सम्पन्न गरेर परियोजना माग गर्न उहाँले अस्पताललाई अनुरोध गर्नुभयो । उहाँले लायन्स क्लबले स्थापना गरेको आँखा अस्पताललाई अन्तराष्ट्रिय स्तरको गुणस्तरिय बनाउनका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । चैत ३० गते चितवनको सौराहामा भएको तेस्रो राष्ट्रिय महाधिवेशनले लायन्सको नयाँ कार्यसमिति चयन गरेको थियो ।
सम्मान कार्यक्रममा नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठ, उपाध्यक्ष तेजेन्द्र खड्का, सचिव केशव प्रसाद अधिकारी, कोषाध्यक्ष सिद्धार्थलाल चुके, नेपाल नेत्र ज्योति संघ बागमती प्रदेशका सभापति ऋषिराम पौडेल, सचिव प्रमोद श्रेष्ठ, अस्पतालका चिफ मेडिकल डाइरेक्टर सहप्रध्यापक डाक्टर पुष्पा गिरी लगायतको उपस्थिती रहेको थियो ।