चितवन विशेष
कम्मरको गोली निकाल्न नसकेपछि घाइते टिकालाई चितवन ल्याइदैँ

चितवन, वैशाख ६-
बुटवलमा आज (शनिबार) बिहानै गोली प्रहार हुँदा घाइते भएकी युवतीलाई थप उपचारका लागि चितवन ल्याइने भएको छ । प्रेम प्रस्ताव अस्वीकार गर्दा बिहानै रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा सामान्य खाजा घर सञ्चालन गर्दै आइरहेकी टीका विष्ट क्षेत्रीलाई सितारे आलम भन्ने युवकले गोली प्रहार गरेका थिए ।
गोली प्रहारबाट पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई बुद्धनगरमा होटल चलाउँदै आएकी २९ वर्षीया टिकालाई थप उपचारका लागि बुटवलबाट रिफर गरिएको छ । बिहान गोली प्रहारपछि तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उनको कम्मरमा लागेको गोली निकाल्न नसकिएपछि बुटवलबाट भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएकोमा त्यहाँ पनि नसकेपछि अहिले चितवन पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले नेपाल बताए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाका अनुसार घटनामा भारतीय युवक रहेको प्रारम्भिक अनुमान गरिए पनि विस्तृत केही खुलेको छैन । डिएसपी रानाले पीडित युवतीको भनाइअनुसार प्रेम प्रस्ताव स्वीकार नगर्दा गोली हानेको अनुमान गरिएको बताए । ‘आफूसँग बिहे नगरे जे पनि गर्न सक्छु भनेर भिडियो कल गर्दो रहेछ,’ डीएसपी रानाले भने, ‘भिडियो कलमा पनि डर र धम्की दिँदै आइरहेको रहेछ । त्यसको स्किनसर्ट पीडित युवतीबाट हामीले पाएका छौं । प्रेमकै कारण यो घटना भएको हाम्रो अहिलेसम्मको अनुमान हो ।’