चितवन विशेष

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न पटिहानीमा रैथाने बजार शुभारम्भ

Banner

चितवन, वैशाख २–

स्थानीयबासीले उत्पादन गरेका वस्तुलाई प्रवद्र्धन गर्न भरतपुर महानगरपालिका वडा नं.२२ ले रैथाने बजार संचालनमा ल्याएको छ । नयाँ वर्षको दिन पारेर वडा कार्यालयले वडा कार्यालयसंगै रहेको हस्तकला केन्द्र प्रदर्शनी भवनमा रैथाने बजार शुभारम्भ गरेको हो ।

महानगर प्रमुख रेनु दाहालले उक्त बजारको शुभारम्भ गर्नुभयो । सो क्रममा बोल्दै प्रमुख दाहालले वडा कार्यालयले गरेको यो कार्यको प्रशंसा गर्नुभयो । ‘वडा अध्यक्षज्यू नयाँ–नयाँ कुरा गर्न एकदम अग्रसर हुनुहुन्छ, स्थानीयबासीलाई कसरी राम्रो गर्ने, उहाँहरुको जिविकोपार्जनलाई उकास्न धेरै कोणबाट सोँचेर काम गर्नुहुन्छ, यो कामलाई पनि निकै उत्कृष्ट गर्नुभएको छ’–प्रमुख दाहालले भन्नुभयो । उहाँले स्थानीयको जिविकोपार्जन बलियो बनाउन महानगर लागि परेको बताउनुभयो । यस वडाका मुख्य सबैजसो सडकहरुमा कालोपत्रे सकिएको भन्दै अब स्थानीयलाई प्रवद्र्धन गर्ने काममा महानगर अघि बढ्ने बताउनुभयो । उहाँले कृषि, पर्यटन, शिक्षा, खेलकुदलगायत सबै क्षेत्रमा महानगरले उल्लेखीय काम गरे पनि अझै बाँकी रहेको समयमा राम्रो काम गर्दै अघि बढ्ने बताउनुभयो ।

महानगर प्रमुख दाहालले रैथाने बजारमा स्थानीय उत्पादन, कृषि उत्पादन, हस्तकला तथा स्थानीय परिकारहरुले आन्तरिक जीविकोपार्जनमा टेवा पुर्‍याउने भन्दै वडा अध्यक्ष विष्णुराज महतोको प्रशंसा गर्दै उहाँ डायनमिक वडा अध्यक्षसमेत रहनु भएको र हरेक वडाले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्घाटनअघि महानगर प्रमुख दाहाललाई स्थानीय महिलाले मादल बजाएर गीतबाट स्वागत गरेका थिए भने थारु समुदायका महिलाहरुले आफ्नो पहिरनसहित नाँच नाचेर स्वागत गरेका थिए । रैथाने बजार शुभारम्भ कार्यक्रममा बोल्दै वडा अध्यक्ष महतोले स्थानीले उत्पादन गरेर मात्र नहुने र त्यसको बजारीकरण आवश्यक रहेकाले वडाबाटै यो अभियानको थालनी गरिएको बताउनुभयो । उहाँले महिलाहरुलाई विभिन्न हस्तकलालगायतका तालिम दिएर उत्पादन समेत सुरु गरेकाले यो बजार प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो । ‘वडा कार्यालयले स्थानीयबासीको स–साना कुरामा ध्यान दिनुपर्छ, वडाका सबै मुख्य सडक पिच गरि सकेका छौं, अब जीवनस्तर उकास्न विभिन्न प्रयास अघि बढाएका छौं’–वडा अध्यक्ष भन्नुभयो ।

‘स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं, आर्थिक समृद्धिको दिशामा अघि बढौं’ भन्ने नारासहित सुरु भएको रैथाने बजारमा कृषि, उत्पादन, डेरी उत्पादन, हस्तकलाका सामग्री, विभिन्न जातजातिको खानाका परिकारहरु राखिएका छन् । महिलाहरुले आफ्नै उत्पादन गरेका हस्तकलाका सामग्रीहरुलाई धेरैले चासोका साथ हेरेका थिए भने विदेशी पर्यटकहरु किनमेल समेत गरेका थिए । पटिहानीमा रहेको सोल्टी वेस्र्टन रिसोर्टबाट अवलोकन गर्न पुगेका पर्यटकहरुले हस्तकलाकासंगै कृषि उत्पादनहरु समेत किनमेल गरेका थिए । यस्तै पढ्दै कमाउँदै अन्तरगत कृषि उत्पादन गरिरहेका अमर माविका प्राविधिक कृषिका विद्यार्थीहरुले समेत आफ्नो उत्पादनलाई प्रवद्र्धन गरिरहेका छन् ।

वैशाख १ गतेबाट शुभारम्भ भएको रैथाने बजार अब प्रत्येक साताको शुक्रबार अपरान्हदेखि रातिसम्म चल्ने छ । रैथाने बजार शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका पूर्व सांसद रामलाल महतो, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष समुन श्रेष्ठ, कसरा रिसोर्टका जनरल म्यानेजर सन्तोष कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम वडाध्यक्ष महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>