राजनीति

शक्ति प्रदर्शन गर्दै एमाले

Banner

काठमाडौँ, बैशाख २-

लोकतान्त्रिक गणतन्त्रविरुद्ध राजावादी समूहले हिंसात्मक आन्दोलन गरेपछि सत्तामा रहेको नेकपा एमालेले पनि शक्ति प्रदर्शन गर्ने भएको छ। पार्टी स्थापना दिवसका अवसरमा एमालेले काठमाडौंमा ४० वर्ष मुनिका एक लाख युवा भेला गरेर गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गर्ने भएको हो।

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले आगामी वैशाख ९ गते पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई शक्ति प्रदर्शनका रूपमा ऐतिहासिक बनाउने निर्णय गरेको थियो। बैठकले शक्ति प्रदर्शनमा ४० वर्ष नकटेका एक लाख युवालाई सहभागी गराउने निर्णय गरेपछि एमालेको युवा संघ नेपालले देशभरका युवाहरूलाई काठमाडौंमा उतार्ने भएको हो।

एमालेले शक्ति कुन ठाउँमा प्रदर्शन गर्ने भनेर निर्णय भने गरिसकेको छैन। काठमाडौंको भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा कार्यक्रम गर्ने तयारी भइरहेको एमालेले जनाएको छ। लामो समयदेखि टुँडिखेलमा कार्यक्रम हुन सकेको छैन। यो निर्णयपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले युवाहरूको शक्ति कस्तो हुन्छ भनेर एमालेले देखाउने बताइसकेका छन्।

‘म देशभरबाट युवाहरूलाई वैशाख ११ गते काठमाडौंमा हुने युवा महोत्सवमा सरिक हुन आह्वान गर्छु,’ प्रधानमन्त्री ओलीले शुक्रबार बुटवलमा भनेका थिए, ‘त्यस युवा सम्मेलनबाट प्रतिक्रियावादी र अराजकतावादीले आफ्नै आँखाले देखुन्, आफ्नै कानले सुनुन्, युवा शक्ति के हो र एमाले शक्ति कस्तो हो भन्ने।’ युवाहरूको महोत्सव कुनै विचार गोष्ठी र सम्मेलन नभएर ‘सम्मिलन’ मात्र हुने पनि ओलीको भनाइ थियो।

एमालेले वैशाख ९ गतेको कार्यक्रमलाई लक्षित गरेर विभिन्न निर्णयसमेत गरिसकेको छ। सोमबार बसेको सचिवालय बैठकले कांग्रेससँगको सहकार्य २०८४ सम्म हुने तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसभित्रको आन्तरिक विवादमा खेल्न खोजेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>